महिलाहरू बिग्रिएकै हुन् त ?

महिलाहरू बिग्रिएकै हुन् त ?


-बबिता बस्नेत
विभिन्न जिल्ला जाँदा हिजोआज हाम्रो आमा उमेरका कतिपय महिलाबाट प्रायः उस्तै प्रकारका कुरा सुन्नुपर्छ, वरिपरि भएका घटना सुनाउँदै उनीहरू भन्ने गर्छन्, ‘लौन जमाना पनि कस्तो आयो, महिलाहरू त लोग्नेमान्छेबिना बस्नै नसक्नेजस्तो पो गर्न थाले त । हाम्रो पालामा हाम्रो खसमहरू वर्षौंसम्म खै कहाँ जान्थे, हामी थाहासमेत पाउँदैनथ्यौँ, न टेलिफोन न चिठ्ठी-पत्र, एक-दुई वर्षपछि आफैं टुप्लुक्क आइपुग्थे, हामी घर-व्यवहार चलाएर बस्थ्यौँ, घरपरिवारमा राम्रोे व्यवहार हुँदैनथ्यो तैपनि सहेरै बस्थ्यौँ तर अहिले त घरबाट लोग्ने हिँड्न पाएको छैन तिनका श्रीमतीहरूको कुरा गरेर साध्यै छैन । छोरा-छोरी टिप्यो तिनलाई पढाउन भनेर सहरतिर गयो, गाउँमै हुँदा पनि खै के-के हो के-के ।’ पुरुष बिदेसिने र महिला घरमा हुनेहरूमध्ये केहीको त्यस्तो कुरा होला आमा तर यदि महिलाहरू बिदेसिने र पुरुषहरू मात्रै घर बस्ने हो भने उनीहरूको अवस्था त झनै बढी के-के हो के-के हुन्थ्यो होला । विभिन्न जिल्ला जाँदा कतिपय आमा र हजुरआमाहरूसँग यस्तै संवाद हुन्छ हिजोआज । अहिले गाउँमा धेरै युवा बिदेसिने र तिनका श्रीमतीको अरू नै लोग्ने मानिससँग सम्बन्ध गाँसिने कुरालाई लिएर ‘खै यी आइमाईहरूले किन यसरी मति छाडेका हुन्, सुन्दा पनि अचम्म लाग्छ’ सम्म भन्ने गरिएको छ । गत आइतबार र सोमबार काभ्रे र सिन्धुपाल्चोकमा रहँदा पनि यस्तै प्रकारका केही घटनाका बारेमा सुन्नु मात्र परेन, घटनाका केही पात्रसँग भेटघाट पनि भयो ।
काभ्रेको गोकुले गाविसका एक मगर युवा वैदेशिक रोजगारका लागि साउदी अरब गएका रहेछन् । तिनी फर्किएर आउँदा श्रीमतीको पेट अलि अस्वाभाविक लागेपछि, तिम्रोे पेट कसरी यस्तो भयो भनेर सोधेछन्, श्रीमतीले तपाईं पो विदेशमा मीठो-मीठो खाएर आउनुभो, यहाँ ढिँडो खाएको पेट कस्तो हुन्छ यस्तै त हो नि भनिछिन् । तिनले पत्याएछन् र धेरै पेट लाग्यो भने स्वास्थ्य राम्रोे नहुने बताएछन् । त्यसको एघार दिनपछि श्रीमतीले जुम्ल्याहा बच्चा पाइछिन्, छोरा र छोरी । आफू तीन वर्ष विदेश बसेर घरमा आएको एघार दिनपछि श्रीमतीले बच्चा पाउँदा श्रीमान्लाई दुःख लाग्नु स्वाभाविक नै थियो । तिनले श्रीमतीसँग बच्चा कसको हो भनेर सोध्दा केही नबोलेपछि ती दुई नाबालक बच्चालाई आफैंले डोकोमा बोकेर सुत्केरी श्रीमतीलाई लौरो टेक्दै हिँड्न लगाई काभ्रेको सदरमुकाम धुलिखेल ल्याएछन् । टाढा र दर्ुगम गाविस भएकोले तिनलाई सदरमुकाम आउन पूरै तीन दिन लागेछ । धुलिखेलस्थित प्रहरीचौकीमा बच्चाहरूलाई डोकोबाट बिसाएर प्रहरीसामु उनले सबै कुरा बताउँदै यी कसका बच्चा हुन् उसको पत्ता लगाई श्रीमतीलाई जिम्मा लगाइदिन अनुरोध गरेछन् । त्यसअघि ती महिलाका चार सन्तान रहेछन् । अहिले ती सुत्केरी धुलिखेलमा महिला विकासद्वारा सञ्चालित अल्पकालीन सेवा केन्द्रमा छिन । तिनलाई गर्भवती बनाउने गाउँकै शिक्षक फरार छन्, प्रहरी र जिल्ला शिक्षा कार्यालयमार्फत ती शिक्षकको खोजी जारी छ । ६ वटा बच्चाकी आमाजस्ती नदेखिने ३१ वषर्ीया ती महिलालाई आफूसँग शारीरिक सम्बन्ध राख्ने ती शिक्षक कुन स्कुलमा पढाउँछन् भन्नेसम्म थाहा छैन, नाम भने थाहा छ- नारायण मगर । गत सोमबार यस पङ्क्तिकारसँग दुईवटा बच्चालाई पालो गरेर दूध चुसाउँदै तिनले भनिन्, ‘म सासू-ससुरासँग छुटि्टएर दुई छोरा र दुई छोरीसँग बस्थेँ, खेतीपाती गर्थें, घरदेखि निकै टाढा पल्लो गाउँमा स्कुल छ, त्यही स्कुलमा बसेर पढाउने नारायणसर प्रायः शुक्रबार र शनिबार मकहाँ आउँथे, यस्तै भयो । पेटमा बच्चा आएको पाँच महिनापछि जब मैले म दुई जीउकी भएँ भने त्यसपछि ती फेरि कहिल्यै फर्किएर आएनन् ।’ उनलाई गर्भवती बनाउने ती शिक्षक अहिलेसम्म सर्म्पर्कमा आएका छैनन्, चिनजानका मानिससँग उनले खबरसम्म पठाए, ‘ती मेरा बच्चा होइनन् भनिदिनू ।’ सानै उमेरमा विवाह भएकी ती महिलाले पढेकी छैनन्, वर्षौपिच्छेजस्तो जन्मिएका तिनका चार छोराछोरी पनि स्कुल जाँदैनन् । अब उनलाई के गर्ने, कहाँ राख्ने, ती बच्चाहरू कसरी हर्ुर्किएलान् भन्ने कुराले प्रहरी, अधिकारवादी सबैलाई पिरोलेको छ । वैदेशिक रोजगारमा जाने लोग्नेका स्वास्नीहरूले गरेका ‘लोग्नेमान्छेबिना बाँच्नै नसक्नेझैं’ -गाउँलेकै भाषामा) को एउटा उदाहरण बनेकी उनको अवस्था दयनीय बनेको छ । उनकै शब्दमा भन्नुपर्दा नारायण सरसँग उनको त्यस्तो प्रेम पनि होइन, तिनको घर कहाँ हो उनलाई थाहा पनि थिएन तर टाढा भएकैले स्कुमै बस्थे भन्नेसम्मचाहिँ उनले बुझेकी छिन् । वास्तवमा यस्ता धेरै महिला छन् जसले भोलि केसम्म होला भनेर सोच्नै नपाई पुरुषहरूले सम्बन्ध राख्ने अवस्थामा पुर्‍याइसकेका हुन्छन् । गाउँमा सुकिला-मुकिला बनेर हिँड्ने शिक्षक, प्रहरी, सेना या यस्तै पेसागत पुरुषहरूसँग महिलाहरू बहकिने गरेका छन् । र, दोषचाहिँ घरमा श्रीमती, छोराछोरी हुँदाहुँदै लोग्ने विदेशमा छ भन्ने थाहा पाएर जालमा फसाउने ती पुरुषहरूले पाएका छैनन् उनीहरूलाई यी लोग्नेमान्छेहरू किन यसरी बिग्रिएका, घरमा स्वास्नी छ र पनि यिनलाई के भएको यस्तो भनेर कसैले भनेको छैन । महिलालाई भन्ने गरिएको छ, गाउँका आइमाई बिग्रिए, खत्तमै भए, के भएको होला यस्तो –
जीवनसाथीप्रतिको इमानदारी पुरुष या महिला दुवैले समान रूपमा निर्वाह गर्नुपर्ने हो तर हामीकहाँ त्यही इमानदारी पुरुषले निर्वाह नगर्दा खासै फरक परेको देखिँदैन भने त्यस्तो केही भइहालेमा महिलामाथि भने पहाड नै खस्ने गरेको छ । कतिपय महिलाले नियतवश नै अरूसँग सम्बन्ध बढाएका पनि होलान् तर अधिकांश महिला मानवीय कमजोरीलाई व्यवस्थापन गर्न नजान्दा या नसक्दा यसप्रकारका घटनामा परेका देखिन्छन् । ती जुम्ल्याहा बच्चा पाउने महिलालाई नै हेरौँ, अहिले उनी वैदेशिक रोजगारमा गएकी र तिनका श्रीमान्ले यता कुनै महिलासँग सम्बन्ध राखेर त्यसैगरी बच्चा पाएका भए समाजले भन्ने थियो, स्वास्नी घरमा थिइनँ, लोग्नेमान्छे हो गल्ती भयो । उनकी श्रीमतीले पनि यसलाई सहजै लिनुपर्ने अवस्था यो समाजले सिर्जना गरिदिने थियो । गाउँघरमा हिजोआज कतिपय घटनाचाहिँ जबर्जस्ती पनि हुने गरेका रहेछन् । एकपल्ट कसैसँग सम्बन्ध भएपछि आफूले गल्ती गरेको महसुस गर्दै सिन्धुपाल्चोककी एक महिलाले आफूसँग सम्बन्ध राख्ने गाउँमै कार्यरत पुरुषलाई भनिछिन्, मेरो श्रीमान् विदेशमा हुनुहुन्छ जे हुनु भइहाल्यो, अब म सम्बन्ध राख्दिनँ तपाईं घरमा नआउनुस् । त्यसपछि ती पुरुषले आफूले एकपल्ट सम्बन्ध राखिसकेकाले फेरि नराखे लोग्ने विदेशबाट फर्किएपछि सबै कुरा भनिदिने बताएछन् । यसरी ‘ब्ल्याकमेलिङ’ गर्दै निरन्तर सम्बन्ध राखिरहने पुरुषहरू र अरूको नजरमा ‘खत्तम’ भएर सधंै मनोवैज्ञानिक त्रासमा जीवन बिताइरहेका महिलाको सङ्ख्या ठूलो छ गाउँघरमा । पारिवारिक विखण्डन अहिले वैदेशिक रोजगारीले निम्त्याएको एउटा प्रमुख समस्या हो, र यो दिन प्रतिदिन बढ्ने क्रममा छ ।