बर्जुताल : जहाँ भएको थियो युधिष्ठिर-यक्ष संवाद

बर्जुताल : जहाँ भएको थियो युधिष्ठिर-यक्ष संवाद


– मनिता चाम्लिङ/धरान

सुनसरीको बर्जु गाउँपालिका–६ चिमडीमा रहेको बर्जुतालको संरक्षणमा स्थानीयवासी जुटेसँगै तालको स्वरूप फेरिँदै गएको छ भने यो ताल प्रदेश नं. १ कै पर्यटकीय गन्तव्यस्थल बन्ने क्रममा दिनानुदिन उन्मुख हुँदै छ । सरकारी उदासीनताले विकास–निर्माणमा प्राथमिकता नपाउँदा पूर्वकै पर्यटकीय गन्तव्य स्थल बन्ने सम्भावना रहँदारहँदै पनि बर्जुताल ओझेलमा परेको थियो । तर, अहिले तालको संरक्षणमा स्थानीयवासी जुटेपछि तालको मुहारसमेत फेरिँदै गएको छ । सुनसरीको सदरमुकाम इनरुवादेखि झन्डै २५ किलोमिटर दक्षिण तथा मोरङको विराटनगरबाट २० किलोमिटर पश्चिममा पर्ने यो ताल धार्मिक तथा पौराणिक महत्वको रूपमा रहेको छ ।

बर्जु ताल प्रदेश नं. १ को सबैभन्दा ठूलो जलाशय भएको ताल हो । १ सय ५२ बिघा क्षेत्रफलमा फैलिएर रहेको बर्जु ताल ६२ बिघा क्षेत्रमा जलाशय रहेको छ । पछिल्लो समय बर्जु तालमा पिकनिक खानेदेखि घुम्न र विशेष गरी चराको अध्ययन–अनुसन्धानका गर्ने एक थलोसमेत बन्न पुगेको छ ।

गत वर्ष यस तालको पूर्वाधार विकासका लागि राष्ट्रपति तराई चुरे मधेस विकास समितिले ३ करोड ६३ लाख बजेटमा सेनालाई तालको पुनर्निर्माण गर्न ठेक्का दिइएको बर्जुताल सिमसार विकास संरक्षण समितिका अध्यक्ष बालिम चौधरी बताउँछन् । तालको पुनर्निर्माण गर्न जिम्मा लिएको प्रदेश नं. १ राष्ट्र विकास गण नेपाली सेनाले ९ महिनाभित्रमा ताल सफाइ गरी तालका चारैतर्फ बाँध निर्माणदेखि मुख्य तालको बीचमा शिवको मन्दिरसमेत निर्माण गरिदिएको छ । जसले गर्दा तालको शोभा झनै बढेको छ । गत वैशाखमा सेनाले समितिलाई नै ताल हस्तान्तरण गरेपछि अहिले समितिले यस तालको रेखदेख र हेरचाह गर्दै आएको छ ।

समितिका अध्यक्ष चौधरीले बर्जुतालको सम्बन्ध हिन्दू धार्मिक ग्रन्थ महाभारतका पात्र पाँच पाण्डवको कहानीसँग जोडिएको बताउँछन् भने धेरै वर्ष पहिले बर्जु चौधरी नाम गरेका एक जमिनदार व्यक्तिले तालको संरक्षण गरेकाले तालको नाम नै बर्जु रहन गएको भन्ने भनाइसमेत छ । यसैगरी विराटनगरमा विराट राजाको दरबार, गौशाला अनि गाईहरू यस क्षेत्रमा चर्न आउने भएकाले नै यस क्षेत्रको नाम ‘चरन’बाट अप्रभंश भई ‘चिमडी’ रहन गएको भन्ने भनाइसमेत रहिआएको छ ।

साविक ‘चिमडी’ गाविसमा पर्ने यस ताल हेर्न आउने र यहाँको दृश्यसँग रमाउने आन्तरिक तथा बाह्य पर्यटकको भिड सधैँ लाग्ने गरेको छ । दैनिक सयभन्दा बढी पर्यटक आउने गरे पनि सार्वजनिक बिदाका दिन पाँच सयभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गरेको समितिका अध्यक्ष चौधरी बताउँछन् । विशेषगरी यस तालमा चरा अवलोकनसँगै चराको अध्ययन र अनुसन्धानका लागि पनि पर्यटकहरू आउने गरेका छन् । यस तालमा चिल्ड्रेन पार्क पर्यटकका लागि मुख्य आकर्षण बन्ने गरेको छ । यसैगरी तालमा नौका विहारका लागि १५ वटा बोट सञ्चालित रहेका छन् भने तालको चारैतिर बाटो, ४ वटा पिकनिक स्थल, छातासहितको बस्ने ठाउँ, ३ वटा शौचालय, तालको मध्यभागमा मन्दिर र चरा बस्ने आइसल्यान्डसमेत रहेको छ ।

बर्जुतालमा बाह्रै महिना जमिनमुनिबाट पानी उम्रिने भएकाले यो सिमसार क्षेत्र पनि हो । यहाँ जलचर, थलचर प्राणीको बासस्थानसमेत रहेको छ । बर्जु ताल जैविक विविधताले भरिपूर्ण रहेकोले यहाँ विभिन्न प्रजातिको चराहरू आउने गरेका छन् । यस तालमा भएको एक अध्ययनले अन्तर्राष्ट्रियस्तरका र कोसी टप्पुमा आउने मौसमी चराहरू बर्जु तालमा समेत आउने गरेको रेकर्ड रहेको छ ।

यस्तै चराहरू आउने क्रममा विदेशी पाहुना चराका लागि पनि अर्को नयाँ गन्तव्य बनेको छ बर्जुताल । यो वर्ष चरा विशेषज्ञ आएर यस तालमा गणना गर्दा १ सय ४ प्रजातिका करिब १० हजारको सङ्ख्यामा चराको गणना गरेको थियो । यति धेरै प्रजातिका चरा नेपालको कुनै पनि सिमसार क्षेत्रमा नभेटिने अध्यक्ष चौधरी बताउँछन् । जाडो याममा यस ताल परिसरमा विदेशी चराहरूले अन्डा कोरली गर्मीयाम शुरु हुनसाथ फर्किने गरेका छन् । जसअन्तर्गत यस तालमा साइबेरिया र चिनियाँ हाँसका विभिन्न प्रजातिका चराहरूसमेत आउने गर्दछन् । यस तालको मध्यभागमा रहेको आइसल्यान्ड टप्पुमा चराहरूले पूरै ढाकेको देख्न सकिन्छ । ताल संरक्षण समितिले बनाएको पूर्वपट्टीको ताल चराको बासस्थानका लागि हो । जहाँ पर्यटकहरूका लागि बोटिङ गर्न अनुमति छैन ।

२०२६ सालमा ताल फुटेर गएपछि सो क्षेत्र बाँझो खेतमा परिणत भएको थियो । त्यसबेला तालको माछा आधाभन्दा बढी बगेर गए पनि प्रतिव्यक्तिले एक जनाले दिनमा ५ मन (२०० केजी) माछा टिपेको अध्यक्ष चौधरी सम्झन्छन् । पहुँचवालाहरूले सो तालको संरक्षणभन्दा पनि आ–आफ्नो नाममा जग्गा दर्ता गराउन लागेपछि १ सय ५२ बिघाको ताल सङ्कटमा परेको थियो । तसर्थ त्यसबेला स्व. गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ताल संरक्षणका लागि डेलिकेसन जाँदा भूमाफियाको डरले प्रधानमन्त्री कोइरालाले ‘व्यक्तिको जग्गामा कसरी ताल बनाउने ?’ भन्दै फायल नै फ्याँकिदिएको नराम्रो घटना सम्झन्छन् अध्यक्ष चौधरी । तर, अहिले स्थानीय युवाहरू तालको संरक्षणमा जुटेपछि यस तालले पुनः तालको रूप लिएको छ ।

महाभारतकालमा युधिष्ठिर र यक्षको संवाद यही तालमा भएको थियो । महाभारतकालमा पाण्डवहरू कुन्तीसहित गुप्तबास बसेको बेला कुन्तीलाई तिर्खा लागेर सहदेवले तालको पानी उघाउन खोज्दा यक्षले ‘मेरो प्रश्नको उत्तर दिएर मात्र पानी लिन पाउँछौँ’ भन्दा हतारहतारमा पानी लिँदा सहदेव मूर्छित भएका थिए । यसैक्रममा चारै पाण्डव मूर्छित भएपछि युधिष्ठिरले यक्षको सबै प्रश्नको उत्तर दिएपछि कुन्तीका लागि पानी लिएर गएका थिए भने यक्षको वरदानस्वरूप मूर्छित भएका चारै पाण्डवको जीवन फिर्ता भएको अहिले पनि महाभारतमा बर्जुतालका बारेमा उल्लेख भएको पाइन्छ ।

यस ताल संरक्षणमा प्रो. पब्लिक नामक एक संस्थाले स्थानीयलाई जागरुक गराएको समितिका अध्यक्षको भनाइ छ । प्रो. पब्लिकले ‘स्थानीय तहमा बर्जुताल बचाउ’ अभियान नै शुरु गरेपछि अर्काको नाममा गइसकेका जमिनहरू फिर्ता भएको अध्यक्ष चौधरी बताउँछन् । उनले भारतको नैनीतालबारे भारतीय पत्रिका हिन्दुस्तान टाइम्समा पढेपछि यहाँको विकास र आर्थिक उन्नतिका लागि तालको संरक्षण अनिवार्य रहेछ भन्ने कुरा आफूले बुझेकाले तालको संरक्षणमा जुटेको बताए ।

किम्बदन्तीअनुसार महाभारतकालमा युधिष्ठिर र यक्षको संवाद यही तालमा भएको थियो । महाभारतकालमा पाण्डवहरू कुन्तीसहित गुप्तबास बसेको बेला कुन्तीलाई तिर्खा लागेर सहदेवले तालको पानी उघाउन खोज्दा यक्षले ‘मेरो प्रश्नको उत्तर दिएर मात्र पानी लिन पाउँछौँ’ भन्दा हतारहतारमा पानी लिँदा सहदेव मूर्छित भएका थिए । यसैक्रममा चारै पाण्डव मूर्छित भएपछि युधिष्ठिरले यक्षको सबै प्रश्नको उत्तर दिएपछि कुन्तीका लागि पानी लिएर गएका थिए भने यक्षको वरदानस्वरूप मूर्छित भएका चारै पाण्डवको जीवन फिर्ता भएको अहिले पनि महाभारतमा बर्जुतालका बारेमा उल्लेख भएको पाइन्छ । यसै किम्बदन्तीलाई आधार मानेर युधिष्ठिरसंँग यक्षले संवाद गरेको मूर्ति तालको बीचमा राख्ने समितिको योजनासमेत रहेको छ ।

ताल संरक्षण समितिका अध्यक्ष चौधरी २०४४ सालमा प्रधानपञ्च भएको बेला ताल संरक्षणका लागि जिल्ला विकास समितिको साधारणसभाले गरेको प्रस्तावलाई सर्वसम्मतिले पास गरे पनि त्यसबेलाको सुनसरीका जिल्ला सभापतिले संरक्षणमा वास्ता नगर्दा तालको बेलैमा संरक्षण हुन नसकेको अध्यक्ष चौधरीको कथन छ । यस तालको हेरचाहमा अहिले २ जना कर्मचारी खटाइएको छ ।

नेपाली युवाहरू बेरोजगार भएर विदेश पलायन भइरहेको बेला सरकारले पर्यटन क्षेत्रमा लगानी गरे चाँडै नै धेरै लाभांश लिन सकिने अध्यक्ष चौधरी बताउँछन् । उनले तालको भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले त्यति वास्ता नगरेको बताउँदै समितिले पहिले नै तयार गरेको तालको डीपीआरमा गाउँपालिकाले फेरि नयाँ डीपीआर बनाउने भन्दै बजेट जति सबै डीपीआरमा नै खर्चेकोमा अध्यक्ष चौधरीको दुःखेसो छ । गाउँपालिकाले अन्य विकासका निर्माणमा भन्दा तालमा बजेट धेरै छुट्याएमा स्थानीय युवाहरूले रोजीरोटी पाउनुका साथै गाउँपालिकाको समेत आम्दानी बढ्ने अध्यक्ष चौधरीको ठम्याइ छ । उनी भन्छन्, ‘गाउँपालिकाले ताललाई प्राथमिकतामा राखेको भन्छन्, तर त्यो अहिलेसम्म त्यो देखिएको छैन ।’

समितिले यस तालमा घुम्न आउने पर्यटकहरूका लागि एउटा चमेनागृहको अझै व्यवस्था गर्न सकिरहेको छैन । समितिले आफैँ वा अन्य निजी क्षेत्रलाई चमेनागृहका लागि स्थान दिएमा आम्दानीको स्रोत बढ्ने निश्चित देखिन्छ । तर, तालको आम्दानीको स्रोत बढाउन तालपरिसरमा पर्यटकका लागि एउटा चमेनागृह सञ्चालन गर्न निजी क्षेत्रलाई दिन प्रस्ताव गरे पनि समितिका केही पदाधिकारीहरू नमानेको अध्यक्ष चौधरीले बताए । अहिले तालको आम्दानी भनेकै गेट टिकट र डुङ्गा सयर मात्र रहेको छ । यस बर्जुतालबारे विभिन्न पार्टीका मुख्य नेतालाई अझै जानकारी नभएकाले प्रदेश नं. १ का मुख्यमन्त्रीसहित राष्ट्रपति, प्रधानमन्त्रीलाई समेत तालमा उपस्थित गराई जानकारी गराउने योजना रहेको अध्यक्ष चौधरीको भनाइ छ । समितिले यस तालको व्यापक प्रचारप्रसारका लागि आगामी पुस महिनामा महोत्सवको आयोजना गर्न लागेकोसमेत जनाएको छ ।

यसैक्रममा बर्जु गाउँपालिकाका अध्यक्ष रघुनन्दन चौधरीले बर्जुताल १ नं. प्रदेशको मात्र नभई नेपालकै सम्पदा भएकाले यसको भौतिक संरचना निर्माणका लागि गाउँपालिकाले सक्दो सहयोग गरिरहेको बताए । उनले ताल संरक्षणका लागि गाउँपालिकासँगै विभिन्न सङ्घ–संस्थासँग हातेमालो गरी अगाडि बढ्ने बताए । सोही क्रममा अध्यक्ष चौधरीले समितिले तयार पारेको तालको डीपीआर पुरानो भएकाले तालको पूर्वाधार विकासका लागि नयाँ डीपीआर तयार गरी आगामी आर्थिक वर्षमा ठूलै रकम विनियोजन गर्न लागेको जानकारी दिए । उनले तालको संरक्षणसँगै पर्यटकको सुविधाका लागि हुलाकीमार्गअन्तर्गत विराटनगरको बरगाछीदेखि चिमडी हुँदै हरिनगरा र वसन्तपुरसम्म जोड्ने मूलबाटोलाई स्तरोन्नति गर्न बढीभन्दा बढी बजेट छुट्याइएको बताए ।

स्थानीय, प्रदेश र केन्द्र सरकारकै संयुक्त कार्यक्रम बनाएर बर्जुताललाई विकसित पर्यटकीय सिमसार क्षेत्रको रूपमा विकास गर्नुपर्ने आवश्यकता अहिले देखिएको छ । प्रचारप्रसारको अभाव रहे तापनि स्थानीयको पहल र प्रयत्नले केही विकास हुन खोजेको बर्जुतालले स्थानीय सरकारसँगै प्रदेश र केन्द्रीय सरकारको उपस्थिति खोजिरहेको छ ।