सिङ्गो जीवन हिमाली बालबालिकाको पढाइमा

सिङ्गो जीवन हिमाली बालबालिकाको पढाइमा


मुस्ताङ/ ०४० सालतिर बाग्लुङका टीकाराम शर्माले स–साना नानीहरू पैयुँपाटा (बाग्लुङ)स्थित आफ्नो घरको आँगनमा जिम्बुका पोका बोकेर आएको देखे । सोधे, ‘नानी हो, तिमीहरू स्कुल जाँदैनौँ ?’ उनीहरूले ‘बा–आमाले जिम्बु, बिरेनुन बेचेर पैसा ल्याउनु’ भनेर पठाएको सुनाए । कलिला बालबालिकाका ती शब्दले उनले त्यो बेला मन थाम्न सकेनन्, मनमनै सङ्कल्प गरे, यिनीहरूलाई यिनकै गाउँमा गएर पढाउनेछु ।

त्यसताका हिमाली जडीबुटीदेखि अन्य घरेलु उत्पादन बाग्लुङ, पोखरावरपरका गाउँमा ल्याएर बेच्ने चलन थियो । जाडो छल्न झरेकाहरू सामान बेचेर गाउँ फर्कन्थे । यो चलन जोमसोममा गाडी नचल्दा ०६२ सालसम्म कायमै थियो । पछि बिस्तारै चेतना र शिक्षाका कारण मुस्ताङी बालबालिका पहिले जसरी सामान बेच्न छोडिसकेका छन् ।

पढ्ने उमेरका बालबालिका घरघर चहारेर सामान बेचेको देखेका शर्माले हिमाली जिल्लामा बसेर सेवा गर्ने निर्णय गरे घरमा बुबाआमाले ‘हिउँले खान्छ नजा’ भनेको झल्झल्ती सम्झन्छन् अहिले उनी । उनीसँगै पढाउन मुस्ताङ आएका सहकर्मी साथीहरू सरुवा भएर सुगम जिल्ला पुगे, कति सेवानिवृत्त पनि भइसके । तर, टीकाराम ३२ वर्षदेखि हिउँमै आफ्नो जीवन शिक्षामा समर्पित गरेर बिताइरहेका छन् । उनी यो अवधिमा सरुवा भएर कुनै जिल्ला गएनन् । बरु मुस्ताङकै आधा दर्जन स्कुल चहारे । यहीँका बालबालिकाको शिक्षामा आफ्नो जीवन समर्पित गरे ।

५९ वर्षका शर्माले ०४२ सालमा कुँजो गाउँको तागलुङ निमाविबाट पढाउन शुरु गरे । यो स्कुल नै उनको जीवनमा पहिलो शिक्षण पाइला थियो । गाउँमा छोराछोरी पढाउने चेतना नै थिएन । उनी घर–घर पुग्थे । छोराछोरीलाई पढ्न पठाऊ भनेर अभिभावकलाई सम्झाउँथे । ‘पहिला अभिभावकलाई पढाउनुपथ्र्यो, अनि बालबालिका स्कुल ल्याएर पढाउने काम शुरु गऱ्यौं,’ शर्मा भन्छन्, ‘गाउँमा बैठक डाकेर पढाइबारे जानकारी दिन्थ्यौँ ।’ अभिभावकलाई पढाइको चेतना दिएर अनि छोराछोरीको कक्षा चलाउनुपरेको उनले सुनाए ।

बाग्लुङबाट मुस्ताङ पुग्न ०६२ सालअघि त्यति सजिलो थिएन । एक सातासम्म हिँडेर पुग्नुपथ्र्यो । उनले यो अवधिमा भोकै कैयौँ दिन बिताए । पहरामा सुतेर रात कटाए । घरमा आउजाउ गर्न नसक्दा कैयौँ चाडपर्व र घरायसी महत्वपूर्ण काम छोड्नुपरेको उनको मानसपटलमा ताजै छ । ‘धेरै वर्षसम्म त दशैँ–तिहार मनाउन घर जानै सकिनँ,’ टीकाराम भन्छन्, ‘ओहोरदोहोर गर्न मुस्किल थियो, बिदा भए पनि विद्यार्थीलाई अतिरिक्त कक्षा दिएर मुस्ताङमै बसेँ । घरबाट चिठी आउँथ्यो, मन थामेर घर जान सक्दैनथे, जसरी पनि सेवा गर्नुपर्छ भन्ने लाग्थ्यो, तर म कहिल्यै पछुताइनँ,’ उनले भने ।

उनले जुन–जुन स्कुल चहारे त्यो स्कुलको भौतिक निर्माणमा कायापलट नै ल्याइदिएका छन् । मन्त्री, विभिन्न मुलुकका राजदूतलगायतका उच्च व्यक्तिहरूसँग सम्पर्क गरेर फुसका छाप्राजस्ता स्कुललाई उनले ढलानमा परिणत गरिदिए । उनी आफैँ स्कुलको सहयोग जुटाउन राजधानी धाउँथे । उनको यो सहयोगी कामले यहाँका स्थानीयबाट तारिफ मात्र मिलेन, उनलाई आफ्नो स्कुलमा बोलाउने होडबाजी नै चल्यो । जसले गर्दा उनी अन्यत्र जिल्ला जान पाएनन् । ‘मैले चाहेको भए, सुगम वा आफ्नै घरपायकको स्कुलमा सरुवा पाउँथेँ, तर यहाँका बासिन्दाको सद्भावलाई टार्न सकिनँ,’ शर्माले भने, ‘जहाँ गए पनि पढाउने नै हो, आखिर अन्तभन्दा यहाँ शिक्षाको जरुरत छ भन्ने लाग्यो, अन्य जिल्ला गइनँ ।’ आफूले पढाएका विद्यार्थीले देश–विदेशमा रहेर राम्रो नाम कमाएको सुन्दा आत्मसन्तुष्टि हुने उनले सुनाए ।

उनले सदरमुकाम जोमसोमको जनहित, टुकुचेको योगेन्द्र मावि, मार्फाको जनवाल स्कुललगायत आधा दर्जनमा पढाए । ०६१ फागुनदेखि उनी कोवाङको जनआदर्श माविमा प्रधानाध्यापक बनेर पढाइरहेका छन् । यो स्कुल साँघुरो भएपछि उनकै पहलमा ठूलो ढलान भएको भवन बनेको छ । ०६६ सालमा भारतीय राजदूतावासको सहयोगमा निर्मित आधुनिक भवनबाट पढाइ सञ्चालन गरिएको छ । दुर्गम गाउँमा आधुनिक भवन र छात्रवासको निर्माण उनकै पालामा शुरु गरियो । उनी अवकाश हुन खोज्छन्, तर गाउँका समाजसेवीले रोक्छन् । ‘अब बुढेसकालमा कति पढाउनु, छोड्छु भन्छु, सबैको मायाले छोड्न सकेको छैन,’ उनी भन्छन्, ‘तैपनि अब एक वर्षभित्र अवकाश लिन्छु होला ।’ उनलाई स्थानीयले टीकाराम गुरु भनेर निकै श्रद्धा गर्छन् ।

‘गुरुको योगदान हाम्रा लागि अतुलनीय छ,’ पूर्वशिक्षक तथा यहाँका अब्बल समाजसेवी भीम गौचन भन्छन्, ‘गुरुकै कारणले धेरैले पढ्ने सुअवसर पाएँ, हामी उहाँप्रति धेरै ऋणी छौँ ।’ आफ्नो जीवनकाल नै मुस्ताङको शिक्षामा लगाएर टीकाराम गुरुले सबैलाई शिक्षाको ज्योति छरिदिनुभएको उनले बताए ।
विद्यार्थीलाई अन्यत्र पढ्न जानबाट रोक्न प्रधानाध्यापक शर्माले जनआदर्श माविमा प्राविधिक कृषि विषयको पढाइ शुरुवात गरेका छन् । प्राविधिक शिक्षा शुरुवात गर्न उनले शिक्षा मन्त्रालय, विभागदेखि जिल्ला शिक्षा कार्यालयमा धेरै धाउनुप¥यो । जनआदर्श मावि मुस्ताङको यो नै पहिलो कृषिमा प्राविधिक शिक्षा पढाइ हुने स्कुल हो । कृषि विषय पढ्न म्याग्दीलगायतका जिल्लाबाट विद्यार्थी आएका छन् ।

स्कुलमा घुम्न आएका जापानी स्वयम्सेवकमार्फत उनलाई जापान घुमाउन लगे । अहिले, तिनै जापानीहरूबाट थप आर्थिक सहयोग आउने भएको छ । जापानीहरूको सहयोगबाट स्कुललाई अझै सुधार गरेर पढाइलाई स्तरीय बनाउने योजनामा प्रधानाध्यापक टीकाराम खटिएका छन् । स्कुलको आवश्यकताअनुसार शिक्षा विभागले शिक्षक दरबन्दी नदिएको उनको गुनासो रहेको छ ।