प्रहरी संगठनभित्रका किरा हटाउन सर्वेन्द्र दृढ

प्रहरी संगठनभित्रका किरा हटाउन सर्वेन्द्र दृढ


नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले अपराध नियन्त्रणमा नलागी अपराधीसँगै मिल्ने प्रहरीलाई प्रहरी संगठनभित्रको किराको संज्ञा दिएका छन् । अपराध नियन्त्रण संगठनको पहिलो प्राथमिकता भएको तर्क गर्दै उनले चितवनका सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अपराध नियन्त्रणका लागि आफूले कुनै कसर बाँकी नराखी काम गर्न मातहत कार्यालयमा निर्देशन दिइएको जानकारी दिए ।

प्रहरी संगठनमा बसेका केही नालायक सदस्यले गर्ने गलत कामलाई संगठनले गरेको कामका रुपमा नबुझ्न आग्रह गर्दै महानिरीक्षक खनालले प्रहरी संगठनमा भएका त्यस्ता किराहरुलाई हटाउनु पर्ने तर्क गरे । उनीहरुका कारण प्रहरी संगठनलाई असर परेको भन्दै उनले राम्रो काम गर्नेलाई पुरस्कृत र खराब काम गर्नेलाई कारवाही गरिने बताए ।

प्रहरीको दरबन्दी कम रहेको भन्दै उनले मौजुदा प्रहरीशक्तिलाई उच्चतम प्रयोग गरेर शान्ति सुरक्षा र अपराध नियन्त्रणमा नेपाल प्रहरी जुटिरहेको जानकारी दिए । आफू प्रहरी प्रमुख भएपछि जनताले अनुभूति गर्ने गरी काम शुरु गरिसकेको उनको दाबी थियो ।