स्थानीय तहको पहिलो रोजाइमा सडक निर्माण किन ?

स्थानीय तहको पहिलो रोजाइमा सडक निर्माण किन ?


– किशोर बुढाथोकी

सिन्धुपाल्चोक/ स्थानीय सरकार सञ्चालनमा आएयता जनप्रतिनिधिहरूले गाउँमा विकास गर्ने क्रममा सडकलाई पहिलो प्राथमिकतामा राखेका छन् । जिल्लाका तीन नगर र नौ गाउँपालिकाहरूले स्थानीयलाई सहज गराउन सडक निर्माण र स्तरोन्नतिलाई तीव्रता दिएका हुन् ।

स्थानीय सरकार गाउँघरमा सडक सञ्जाल जोड्ने कामकै हतारोमा छन् । विकासे गतिविधि नाममा ठूलो बजेट खर्चेर सडक मर्मत र निर्माण कतै सम्पन्न भइसके भने कतै निर्माणाधीन अवस्थामा पनि छन् । पुनर्निर्माणलाई सघाउन र विकास गति बढाउन योजनापिच्छै सडक मर्मत र निर्माण गरिएको जनप्रतिनिधिको एकमत छ । जिल्लाभर प्रमुख र सहायक राजमार्गबाहेक अनुमानित पाँच सयभन्दा बढी ग्रामीण सडक जिल्लामा सञ्चालित छन् । जनप्रतिनिधि आएलगत्तै जिल्लाका एक सय तीनवटै वडामा सडक निर्माण भइरहेको छ ।

जिल्लामा दुई हजार आठ सय किलोमिटर लामो सडकअन्तर्गत गाउँको साबिक केन्द्रबाट चौतारा साँगाचोकगढी नगरपालिकासमेत रहेको सदरमुकाम चौतारा जोड्ने ५६ वटा सडक छन् । सडकको विभिन्न योजना बनाएर विकासे सपना देखाउँदै वडाका टोलमा धमाधम काम हुँदै छ । चौतारा साँगाचोकगढी नगरपालिका ८ का वडाध्यक्ष विष्णु लामाले पुनर्निर्माणलाई सहज हुने गरी सडक सञ्जाल विस्तार गरेको बताए । ‘वडामा रहेका साना सडकलाई स्तरोन्नति गरी फराकिलो बनाइएको छ,’ लामाले भने, ‘नगरपालिकाबाट आएको बजेटलाई वडाले थपेर सडक मर्मतका साथै नयाँ ट्र्याकसमेत खोलिएको छ,’ उनले सडक विस्तारसँगै स्थानीयलाई पुनर्निर्माणमा सहज भएको बताए ।

दुुर्गम गाउँमा सडककै समस्याले विकास कार्यलाई अगाडि बढाउन नसकिएकाले जिल्लाका नगर तथा गाउँपालिकाले सडक निर्माणलाई तीव्रता दिएका हुन् । सडक निर्माण भएकै कारण गाउँ गाउँमा यातायातका साधन पुगेका छन् । भूकम्पपछि ग्राउन्ड जिरो भएको नगरपालिका विस्तारै उठ्ने क्रममा छ । सडक निर्माण भएकै कारण पुनर्निर्माणमा सहज भएको स्थानीयवासीको भनाइ छ । सडक निर्माण तथा स्तरोन्नतिकै कारण ढुवानीमा सहज हुँदा जिल्लैभर घर निर्माणले तीव्रता पाएको हो । अहिले चौतारा साँगाचोकगढी नगरपालिकामा मात्रै दुई दर्जनभन्दा बढी सडक स्तरोन्नति तथा निर्माण भइरहेका छन् । कतै ग्राभेल गरिँदै छ त कतै कालोपत्रेको तयारीमा समेत जनप्रतिनिधि जुटिरहेका छन् । सडक निर्माणलाई तीव्रता दिइरहेका चौतारा साँगाचोकगढी नगरपालिका १४ का अध्यक्ष शेरबहादुर श्रेष्ठले ७५ लाख रुपैयाँबराबरको सडक निर्माण भएको बताए । ‘बजेट विनियोजन भएअनुरूप ८० प्रतिशत सडकका काम भइसकेका छन्,’ उनले भने ।

ग्रामीण सडक फराकिलो बनाउने कार्यमा जनप्रतिनिधि लागिरहेका छन् । निर्माणाधीन विभिन्न सडकलाई उपभोक्ता समितिले बर्खाअघि नै सडक बनाएर गाउँकै हित हुने गरी निर्माण गरिरहेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले ठूलोसिरुबारी, स्याउले कदमबासलगायतका गाउँमा सडक निर्माण गरिरहेको छ । स्थानीय स्तरमा गठन गरिएको उपभोक्ता समितिले पनि पुनर्निर्माणलाई सहज हुने गरी सडक निर्माणलाई तीव्रता दिएका छन् ।

चौतारा सागाँचोकगढी नगरपालिकाले विकासको निर्माणका योजनाहरूको अनुगमन कार्यलाई तीव्र बनाइएको छ । पूर्वाधार विकाससँगै लक्षित वर्ग उत्थानको कार्यक्रमलाई पनि प्रमुखकै उपस्थितिमा अनुगमन गर्ने गरिएको छ । काम तोकिएको समयमा सम्पन्न गराउन कामको प्रकृति हेर्दै परिणात्मक र गुणात्मकतामा नगरप्रमुख आफँैले निरीक्षण गरेका हुन् । अनुगमन कहाँ, कहिले र कतिखेर हुँदै छ भन्ने कुरा कार्यालयको कर्मचारी, सम्बन्धित संस्था वा समितिलाई पूर्वजानकारी नदिई अनुगमन गर्ने गरिएको हो ।
अहिले नगरपालिकाले बजारक्षेत्र र ठूलोसिरुबारीको जल्केनीगाउँको सडकलाई ग्राभेल गरेर कालोपत्रेको तयारी गरिरहेको छ । सडकमा मात्रै झन्डै करोडबराबरको टेन्डर भइरहेको छ । बजारक्षेत्रको सडकमा कालोपत्रे गर्न करोड र ठूलोसिरुबारीको सडकका लागि ५० लाखको टेन्डर भएको छ । झन्डै डेढ दर्जन सडक कालोपत्रे र मर्मतका लागि हाल करोडौँ रकम वडाका सडकपिच्छै विनियोजन गरिएको नगरपालिकाका प्रमुख अमानसिं तामाङले जानकारी दिए ।

अहिले जिल्लैभर पुनर्निर्माणले गति लिएको छ । सडक सञ्जालले नछोएको ठाउँमा सडक मर्मत हुँदा स्थानीय लाभान्वित भएका छन् । अझै स्थानीय सरकारले सडकको स्तरोन्नति गर्दा जनतामा खुसीसमेत छाएको छ । सडक मर्मत तथा नयाँ ट्र्याक खोल्ने क्रममा भविष्यलाई समेत मध्यनजर गरी बलियो र दिगो हुने सडक निर्माण गर्नु अहिलेको आवश्यकता रहेको स्थानीयको भनाइ छ ।