समाधानको चुरो नै करातेको निर्वाचन : लाखे

समाधानको चुरो नै करातेको निर्वाचन : लाखे


– श्रीविक्रम भण्डारी

करातेलाई किन विवादमा पारियो ? प्रश्न अहिले पनि तेर्सिएकै छ । समाधान छ, तर सम्बन्धित निकाय राष्ट्रिय खेलकुद परिषद्ले अहिलेसम्म कुनै पहल गरेको छैन । परिषद्ले मौनता साँध्नुको कारण विवादको फेद, टुप्पो फेला नपरेको हो कि अन्य कारण त्यो रहस्यमय बनेको छ । कराते विवादमा परेको लामो समय भइसक्यो, त्यतिबेला करातेलाई विवादमा पार्ने कार्य किन गरियो, त्यो तत्कालीन राखेपका सदस्यसचिव युवराज लामालाई थाहा होला । लामाको उक्त कार्य करातेको सर्वपक्षीय हितका लागि थियो भने किन त्यसले अहिलेसम्म विवादको रूप धारण गरिरहेको छ ? यो समग्र नेपाली करातेका लागि अहम् प्रश्न बनेको छ ।

लामाले त्यतिबेला चालेको कदम ठीक थियो कि बेठीक त्यसको जवाफ अहिले सदस्यसचिव विष्टले दिनुपर्ने बाध्यता बनेको छ । विष्टसँग समाधानको उपाय छ, तर उनको बाध्यताभित्र लुकेको रहस्य उनीभित्रै समाहित छ, त्यसको प्रस्फुटन विष्टले अहिलेसम्म गर्न सकेका छैनन् र भोलि पनि गर्छन् या गर्दैनन् त्यसको पनि कुनै ग्यारेन्टी छैन । तसर्थ करातेको विवादले अहिलेसम्म निकास पाउन सकेको छैन । उल्टै अप्ठ्यारोमा फलेको फर्सीजस्तै बन्दै गएको छ ।

यतिबेला नेपालमा राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा कराते सङ्घ छन् । राष्ट्रियको नेतृत्व दावा गुरुङले गरिरहेका छन् भने अन्तर्राष्ट्रियको पुरेन्द्रविक्रम लाखेले । यतिबेला यी दुवैको जुँगाको लडाइँले करातेको अस्तित्व दाउमा लाग्नुको साथै खेलाडीको मनोबलमा नकारात्मक प्रभाव परेको छ । अर्थात् खेलाडीहरूले आफ्नो भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको आभास गरेका छन् । खेलाडीहरूमा करातेप्रति वितृष्णा जाग्नुको साथै अन्योलको वातावरणको सिर्जना भएको छ । र पनि शक्तिको आडमा एकले अर्कालाई पछार्ने, छिर्के हाल्ने र आफ्नो व्यक्तिगत स्वार्थ पूरा नै उनीहरूको पहिलो प्राथमिकता बनेको छ । जसलाई उनीहरूले आफ्नो बहादुरी पनि सम्झिँदै आएका छन् । तर विडम्बना ! अन्तर्राष्ट्रियस्तरमा नेपाललाई सबैभन्दा बढी पदक दिलाउने खेलको विवादले उग्ररूप लिँदासमेत यसको समाधानका लागि कसैले पहल नगर्नु चिन्ताको विषय बनेको छ ।

पछिल्लो समय करातेको विवादसम्बन्धी समाचारहरू सञ्चारमाध्यममा प्रेषित भएपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल कराते महासङ्घका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले आफू करातेको विवाद समाप्त गर्न जस्तोसुकै कदम चाल्न पनि तयार भएको बताएका छन् । लाखेले कोरियामा सम्पन्न इन्चोन एसियाडको घटनालाई स्मरण गर्दै अब त्यस्तो घटना पुनः नदोहोरिन प्रतिबद्धता जाहेर गरेका छन् । लाखेले ‘म मेरो कारणले राष्ट्र हसाउने पक्षमा छैन, त्यसका लागि जति लचिलो हुनुपर्छ म हुन्छु, तर विधि, विधान र नीतिअनुसार सम्बन्धित निकायले समाधान निकाल्नुपर्छ, त्यसमा म खुला छु ।’ तपाईंले विधि, विधान र नीतिको कुरा गर्नुभयो, अनि कसरी हुन्छ करातेको विवादको समाधान भन्ने प्रश्नमा लाखेले भने, ‘सर्वप्रथम करातेको तदर्थ समिति गठन हुनुपर्छ, त्यो राखेपले गठन गर्नुपर्छ । विवादको समाधानको चुरो भनेकै करातेको निर्वाचन हो ।’ त्यो राखेपको अगुवाइमा हुनुपर्छ, त्यसपछि जस्तोसुकै परिणाम आए पनि म स्वीकार्न तयार छु ।’

करातेका मुख्य प्रशिक्षक शोभियतराज प्रसाईंले मिलेर नगए आफूले जस्तोसुकै कदम उठाउने र त्यसको जिम्मेवारी गुरुङ र लाखे लिनुपर्ने दिएको चुनौतीलाई लाखेले सहमति जनाएका छन् । सबैलाई समेटेर लानुपर्छ भन्ने कुरा राम्रो हो, त्यसका लागि म प्रसाईंलाई सहयोग गर्न तयार छु । यतिबेला राष्ट्रिय र अन्तर्राष्ट्रिय मान्यताको विवादका कारण खेलाडी, प्रशिक्षक र रेफ्री चेपुवा परेका छन्, यो भनेको विडम्बना हो, यो हुनुहुँदैन, यो सदाका लागि अन्त्य हुनुपर्छ । त्यस्तै, कराते कसैको बिर्ता होइन, भिजन, प्लान, मिसन र टारगेट भएको व्यक्तिले करातेलाई चलाउन पाउनुपर्छ, करातेलाई कसैले पनि कमाइखाने भाँडो बनाउनुहुँदैन– लाखेको स्पष्टोक्ति थियो ।

कराते विवादको समाधानका लागि दावा गुरुङसँग कुनै संवाद गर्नुभएको छैन भन्दा लाखेले भने, ‘एकपटक होइन, हामीले दुईपटक संवाद गरिसकेका छौँ । तर, गुरुङ राष्ट्रिय मान्यताको दम्भबाट प्रेरित छन्, उनी करातेबारे कुनै सम्झौता गर्ने पक्षमा छैनन् । परिणाम करातेको विवाद यो अवस्थामा पुगेको हो । दावा गुरुङ मेरो मित्र हो, हामी दुईमा व्यक्तिगत रूपमा कुनै दुश्मनी छैन, करातेको कुरा गर्दा सैद्धान्तिक रूपमा विमति मात्रै हो । म विधि, विधान र नीतिअनुसार कराते चलोस् भन्ने पक्षमा छु, त्यो हुनु पनि जरुरी भइसकेको छ किनकि करातेको विवादले खेलाडीलाई मात्र नभई राष्ट्रलाई समेत हानिनोक्सानी पुुऱ्याएको छ । एसियाली खेलकुद प्रतियोगितामा पदकको सम्भावना भएको एउटै मात्र खेल भनेको कराते हो । त्यसैले त्यतिबेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मान्यताको दाबी गरेर खेलाडीको भविष्यलाई अन्धकारमा डो¥याउनुभन्दा समयमै सचेतना अपनाएर दूरदर्शी निर्णय गर्ने बेला भइसकेको लाखेले बताए । यदि हामीले अब पनि बुद्धि पु¥याएनौँ र ढिलो गऱ्यौं भने कराते योभन्दा पनि दलदलमा भासिने पक्का छ । म त्यसको भागीदार बन्न चाहन्न ।’

इन्डोनेसियामा आयोजना हुने एसियाडमा कराते खेलाडीको सहभागितको तालमेल कसरी मिलाउन सकिन्छ त भन्दा लाखेले त्यो निकै सहज छ, तर त्यसका लागि सहमतिचाहिँ बन्नुपर्छ । सर्वप्रथम निष्पक्ष तरिकाले सबै खेलाडीलाई समेटेर छनोट गरिनुपर्छ । त्यसको विधिको रूपमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा, राखेप च्याम्पियनसिप, १२औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता, साफ च्याम्पियनसिप र श्रीलंकामा भएको कराते च्याम्पियनसिपमा स्वर्ण, रजत र कांस्य जित्ने खेलाडीलाई समेटिनुपर्ने लाखेले बताएका छन् । यदि त्यो गर्न सकिएन भने स्वर्ण र रजत जित्नेलाई लिए पनि फरक नपर्ने लाखेको कथन थियो । यदि यो कुनै प्रतियोगितामा प्राप्त गरेको पदकलाई मान्यता नदिने हो भने त्यसको विकल्प भनेको करातेको राष्ट्रिय प्रतियोगिता हो उनले भने । योभन्दा अर्को विकल्प पनि अरू छ भने म मान्न तयार छु । तर, यसमा मेरो सर्त छ, त्यो के भने क्षमतावान र प्रतिभावान खेलाडी भने छुट्नुहुँदैन । यो कुरामा म स्पष्ट छु, सम्बन्धित निकायले कराते विवादको समाधानका लागि पहल मात्र गरोस्, म विधि, विधान र नीतिअनुसार जस्तोसुकै त्याग गर्न पनि तयार छु । त्यसका लागि तत्परता कसले देखाउने त्यो अहिले अहम् मुद्दा बनेको लाखे स्पष्टोक्ति थियो ।