एनआरएन सम्मेलनको के-कस्तो तयारी हुँदैछ लग्जेम्बर्गमा ?

एनआरएन सम्मेलनको के-कस्तो तयारी हुँदैछ लग्जेम्बर्गमा ?


– डिल्लीराम अम्माई/लग्जेम्बर्ग

युरोपमा सबैलाई आफ्नो काम र समयको चटारो हुँदाहुँदै पनि एनआरएन महिला संयोजक रजनी प्रधान, गैरआवासीय नेपाली संघ युरोप संयोजक शिव बरुवाल र सम्मेलन आयोजकराष्ट्र लग्जेम्बर्गलगायत युरोपभरिका एनआरएनए अभियन्ताहरु आगामी जुलाई २९ र ३० मा हुने एघारौं एनआरएनए युरोप तथा नवौँ महिला सम्मेलनको लागि घनिभूत तयारीमा लागेका छन्।

नेपालको आर्थिक समृद्धि र नवनिर्माणको लागि लगानीको वातावरण बनाउँदै पर्यटन प्रवर्धनमा योगदान समेत गर्दै आएको यो संस्थाको युरोप च्याप्टरको अति नै महत्वपुर्ण मानिने ती दुवै फोरमहरुको सम्मेलनको तयारीमा लग्जेम्बर्गका एनआरएनए अध्यक्ष नारायण गुरुङ, आइसीसी हरि खड्कालगायत सबैलाई तयारीको चटारोले छोपेको देखिँदैछ ।

तयारी बैठकहरु भैरहेका छन् । त्यही सिलसिलामा केहि दिनअघि सो संस्थाका युरोपियन संयोजक बरुवालको नेतृत्वमा बेनेलक्सका राजदुतसँग समेत एक महत्वपुर्ण बैठक सम्पन्न भैसकेको छ। विश्वको पर्यटकीय गन्तव्यको रुपमा चर्चित २५८६ वर्ग किलोमिटर क्षेत्रफल भएको सार्वभौम सत्तासम्पन्न मुलुकमा यी सम्मेलनहरुको आयोजना गरिन लागिएको हो।

फ्रेन्च, जर्मन र लग्जेम्बर्गिस भाषा बोलिने यो देश संसारकै अति विकसित देशमध्ये पर्छ। जहाँ ४४.५ प्रतिशत विदेशी मूलका नागरिकहरु बसोबास गर्दछन्। यो देशमा सम्मेलन राख्नाले प्रयटन प्रवर्धनमा आशातित सहयोग पुग्न सक्ने देखिएकोले आयोजकहरुले यो ठाउँ रोजेको महिलानेतृ रजनी प्रधानको भनाई छ।

सम्मेलनमा विभिन्न किसिमका नेपाली सांस्कृतिक झलकहरु देखाइने, खानाका नेपाली परिकारहरुको ब्यवस्थापन गरिने, पौराणिक तथा पर्यटकीय महत्वका वृत्तहरु समेत प्रदर्शन गरिने भएकोले नेपाली पर्यटन प्रबर्धनमा यो सम्मेलन सहयोगी हुने कुरामा युरोप संयोजक बरुवाल, ग्लोबल महिला संयोजक प्रधान, संघकी अन्तराष्ट्रिय सचिव जानकी गुरुङ लगायतको एकमत देखिन्छ।

बेलायतदेखि संसारभर महिलाका गतिविधिमा नेतृत्व गर्दै आएकी रजनी प्रधानले ९औँ युरोप महिला भेलाले युरोपभरि छरिएर रहेका महिलाहरुको लागि ठोस नीति निर्माण गरेर अगाडि बढ्ने कुरामा आफूहरु ढुक्क भएको बताइन्। त्यस्तै नेपालका विभिन्न कारणले उत्पिडनमा परेका महिलाहरुको हितको पक्षपोषण गर्दै गैरआवासीय नेपाली संघको लगानी नीति र मुलुक निर्माणको पूर्वाधार निर्माणमा सहयोगीको भूमिका खेल्ने कार्य महिला फोरमको भएको उनले बताइन्।

उनले सेन्जेन देशहरुको संगम मानिने लग्जेम्बर्गबाटै महिला सशक्तिकरणको लागि मिडिया, महिला हिंसाविरुद्ध चेतना, महिला जागृतिको लागि सम्पूर्ण संघसंगठन लगायत गैरआवासीय नेपाली संघभित्र पनि पुरुषसरह पहुँचको नारा सार्थक रुपमा लागु गर्न पहल गरिने बताउँदै त्यसको लागि सम्पूर्ण महिलाहरु एक ढिक्का हुनुपर्ने आफ्नो धारणा रहेको जानकारी दिइन्। उनले नेपाली महिला र विदेशी पुरुषको वैवाहिक सम्बन्ध उनीहरुका सन्तानको समेत नेपाली नागरिकताको अधिकारसम्बन्धी चुनौतीबारे समेत छलफल हुनुपर्ने धारणा राखिन्।

यसका साथै गैरआवासीय नेपाली संघको कार्यालयभित्र महिला डेक्स, गैरआवासीय नेपाली संघसँग आबद्ध मिडिया डेक्स र कार्यालय कर्मचारीमा समेत गैरआवासीय नेपाली संघ महिलाहरुलाई प्राथमिकतामा राख्नुपर्ने आफ्नो राय रहेको बताइन् । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्याक्तित्वहरुको सहभागिता रहने हुनाले नेपालको पर्यटन प्रवर्धनको लागि दोहोरो फाइदा र अवसर रहेको कुरा गैरआवासीय नेपाली संघका महासचिव विमलबाबु उपाध्यायले ब्यक्त गरे।

एकातिर यो सम्मेलनले लग्जेम्बर्गका महत्वपुर्ण ब्याक्तिहरुलाई कार्यक्रममा सहभागी हुने अवसर दिने छ भने अर्कोतर्फ नेपालसँगको कुटनैटिक सम्बन्धमा समेत गहिरो प्रभाव पार्ने छ भन्दै यसको लागि पहल गर्ने मुख्य दायित्व नेपाली दुतावासको भएको उनको तर्क रह्यो।

धर्मनिरपेक्ष भएर पनि लक्जमबर्ग रोमन कैथोलिकको प्रभाव भएको देश हो। संवैधानिक राजतन्त्र भएको यो देशमा अहिले राजा ग्रैंड ड्यूकले शासन गर्दछन्। यो देशमा हुने सम्मेलनले युरोप भर छरिएर रहेका गैरआवासीय नेपालीहरुलाई पक्कै पनि महत्वपुर्ण सन्देश दिने ठानिएको छ।