टिपीएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयको विरोध

टिपीएस खारेज गर्ने ट्रम्प प्रशासनको निर्णयको विरोध


सिसृक्षा ढकाल, लसएन्जल्स । अमेरिकी मूलधारको सञ्चारमाध्यममा प्रकाशित ‘नेपाली भुकम्पपीडितको टिपीएस खारेज गर्ने निर्णयको तयारीमा ट्रम्प प्रशासन’ भन्ने आशयको समाचारप्रति ध्यान आकृष्ट भएको जनाउँदै कांग्रेसवुमेन ग्रेस मेंग र डेमोक्र्याट्स हाउस ककस अध्यक्ष जो क्राउलीले दुःख व्यक्त गरेका छन् ।

मेंग र क्राउलीले अमेरिकी तिथि अनुसार बुधबार अपरान्ह संयुक्त विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालमा गएको सन २०१५ को प्रलयकारी भुकम्पपछि अमेरिकामा सुरक्षित भविष्य खोजिरहेका झन्डै ९ हजार नेपालीहरुको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) खारेज गर्ने र उनीहरुलाई डिपोर्टेसन गर्ने ट्रम्प प्रशासनको निर्णय अदुरदर्शी र दुःखद हो ।’

नेपालीले प्राप्त गरेको टिपीएस सुविधा खारेज गरेर डिपोर्टेसन गर्ने निर्णय प्रक्रियामा अघि बढ्नु भनेको राष्ट्रपति ट्रम्पको अमानवीय र अनावश्यक कदम हो भन्दै टिप्पणी गरिएको छ । गत महिना कांग्रेस वुमेन मेंग, हाउस प्रतिनिधि क्राउली र जेर्ड पोलिसले दर्जनौँ हाउस मेम्बरसहितको समर्थनमा नेपालीले प्राप्त गरेको टेम्प्रोररी प्रोटेक्टेड स्टाटस (टिपीएस) सुविधा नवीकरण गर्न ट्रम्प प्रशासनलाई हस्ताक्षर अभियानमार्फत आग्रह गरेका थिए ।

नेपालमा गएको सन २०१५ को प्रलयकारी भुकम्पलगत्तै कांग्रेस वुमेन मेंग र हाउस प्रतिनिधि क्राउलीले अमेरिकामा रहेका नेपालीलाई टेम्प्रोररी प्रोटेक्टेड स्टाटस, (टिपीएस) सुविधा प्रदान गर्न तत्कालिन राष्ट्रपति बराक ओबामालाई आग्रह गरे लगत्तै ओबामा प्रशासनले त्यतिबेला अमेरिकामा रहेका नेपालीका हकमा तत्काल यो सुविधा प्रदान गरेको थियो ।