विराटनगरमा अध्यागमन कार्यालय स्थापना हुनुपर्ने

विराटनगरमा अध्यागमन कार्यालय स्थापना हुनुपर्ने


प्रदेश नं १ को बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यले अध्यागमन कार्यालय स्थापना, नदी कटान नियन्त्रण, पर्यटकीय क्षेत्रको घोषणा, आदिवासी जनजातिको मुख्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनिहरुले मोरङको बक्राहा, लोहन्द्रा र चिसाङ खोलाले मानवबस्तीलगायत खेतीयोग्य जमिन कटान गर्ने भएकाले तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

यसैगरी, आदिवासी समुदायले मनाउने उधौली, उभौली, ल्होसारलगायतका अन्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने तथा संघीयताको स्पष्ट संरचना एवं खाका तयार गर्नुपर्ने र त्यसबाट जनताको विकास र समृद्धिको चाहना पूरा गर्नुपर्ने उनिहरुले बताएका छन् ।

पाँचथरको सिलौटे र लबेकुटी डाँडालाई पर्यटकीय क्षेत्र घोषणा गरी त्यस क्षेत्रको जग्गाको संरक्षण तथा विकासका लागि बजेट निकासा गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

यसैगरी, विराटनगरको सीमावर्ती भारतको बथनाहाको क्षतिग्रस्त पुलका कारण यस क्षेत्रको उद्योगले कच्चा पदार्थ ढुवानीमा समस्या उत्पन्न भई उद्योग धरासायी हुने अवस्थामा पुगेकाले अविलम्ब मर्मतका लागि भारतको विहार सरकारसँग समन्वय गर्नुका साथै विराटनगरमा अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने माग गरेका छन् ।

निजी क्षेत्रले शर्तअनुसार कार्य नगरेकाले इलाम र झापाका सातवटा चिया बगानलाई राष्ट्रियकरण गर्नुपर्ने तथा हालै प्रदेशमा भएका बम विष्फोटन तथा आपराधिक क्रियाकलापको विश्लेषण गरी अपराधीलाई कारबाहीको माग गरेका छन् ।

यसैगरी, ग्रामीण क्षेत्रमा बसोबास गर्ने सुकुम्बासीको घरजग्गा बाटो निर्माण गर्ने नाममा नभत्काउन सरकारको ध्यानाकर्षण गर्दै दलित तथा युवालाई रोजगारमूलक तालीम प्रदान गरी खाडीमुलुक जाने कार्यलाई निरुत्साहित गर्नुपर्नेमा उनिहरुको जोड छ ।