चापागाउँबाट नेकपाका नेता गिरफ्तार, यस्तो आयो नेकपाको विज्ञप्ति

चापागाउँबाट नेकपाका नेता गिरफ्तार, यस्तो आयो नेकपाको विज्ञप्ति


नेपाल कम्युनिष्ट पार्टीका ललितपुर जिल्ला सेक्रेटरी तथा उपत्यका विशेष व्युरो सदस्य विपिनलाई सरकारले नियन्त्रणमा लिएको छ । ललितपुरको चापागाउँ इलाकाबाट आज (बुधबार) दिउँसो विपिनलाई अपहरणको शैलीमा गिरफ्तार गरिएको विप्लव नेतृत्वको सो पार्टीले जनाएको छ । ओली सरकारको निर्देशनमा आतंकवादीलाई गर्ने व्यवहारका साथ पक्राउ गरिएको भन्दै नेकपा उपत्यका ब्युरो इन्चार्ज प्रज्वलले प्रेस विज्ञप्ति जारी गरेका छन् ।

विज्ञप्तिमा उनले ‘नेपालको स्वाभिमान र नेपालीको उज्यालो भविष्यको कालो धब्याको रुपमा बदनाम जनविरोधी संसदीय व्यवस्थाका वर्तमान ठेकेदार ओली–प्रचण्ड मण्डलीको फासिवादी सरकारले आफ्नै संविधान र लोकतन्त्रको खिल्ली उडाउँदै देशव्यापी गैरन्यायिक र धरपकड़ एवम् राज्यआतंक बढाएको’ दाबी गरेका छन् । गम्भीर विषय उठान गर्दै प्रज्वलले विज्ञप्तिमा भनेका छन्– ‘प्रधानमन्त्री ओलीले भारत भ्रमणको दौरान प्रधानमन्त्री मोदीसँगको वान टु वान कुराकानीमा राष्ट्रहित र जनअधिकारको पक्षमा सङ्घर्षरत नेपाल कम्युनिस्ट पार्टीको बारेमा गरेको प्रतिक्रिया र टिप्पणी पछिल्लो घटनाक्रमले थप पुष्टि गर्दछ ।’

विज्ञप्तिमा भनिएको छ– ‘देशको राजधानी काठमाडौं उपत्यकामा समेत राज्यको यो आतंक विस्तार भएको छ । वैशाख १२ गते बिहान ७.३० बजे पार्टी संगठनको काममा खटिएका हाम्रो पार्टी ललितपुर जिल्ला सेक्रेटरी तथा उपत्यका विशेष व्युरो सदस्य क. विपिनलाई ललितपुरको चापागाउँ नजिकबाट ओली सरकारको निर्देशनमा आतंकवादी अपहरण शैलीमा गिरफ्तार गरी बन्धक बनाएको छ । त्यसैगरी, ११ गते ललितपुरका व्यवसायी मोहन शिवाकोटीलाई पनि त्यस्तै शैलीमा लगनखेलबाट गिरफ्तार गरिएको छ । भक्तपुर जिला सेक्रेटरी क. कुशलको डेरामा प्रहरीले छापा मारेको छ । बोगटीका भतिजलाई गिरफ्तार गरेको भन्दै प्रहरीले सर्वसाधारण थोमस तामाङलाई पनि हिरासतमा राखिएको छ । भक्तपुरमा त्यहाँको प्रशासनले नेकपाका कार्यकर्ता तथा समर्थकको घर र डेरामा खानतलासी गरी राज्य आतंक नै मच्चाएको छ । आजै मात्र वैशाख १२ गते अखिल (क्रान्तिकारी)का महासचिव प्रकाश शाही, विद्यार्थी नेताहरू ललित विक र रवीन केसीलाई आरआर क्याम्पसमा सम्मेलन हुँदै गर्दा गिरफ्तार गरिएको छ । सासै, पार्टी कामकै सिलसिलामा केही साताअघि संगठनका कार्यकर्ता नवीन केसी, प्रकाश शाही, रामकुमार होगी, सन्तोष ऐरीलाई काठमाडौं सुन्धराबाट नियन्त्रणमा लिई प्रहरी हिरातमा राखिएको छ भने कतिपय कार्यकर्ताको घरमा छापा मार्ने, आतंक मच्चाउने धन्दामा वर्तमान सरकार लागिपरेको छ ।’

यस किसिमको व्यवहारबाट पछि हट्न र गिरफ्तारीमा परेका आफ्ना नेता–कार्यकर्तालाई तत्काल रिहा गर्न माग गर्दै अन्यथा पार्टीले कडा संघर्षको कार्यक्रम अघि बढाउन बाध्य हुने प्रज्वलले चेतावनी दिएका छन् ।

हेर्नुहोस् विज्ञप्ति-