चारदेशीय सीधा यातायात सेवा नेपाल भित्रियो

चारदेशीय सीधा यातायात सेवा नेपाल भित्रियो


– रेजिना गौतम

झापा । नेपाल, भारत, बङ्गलादेश र भूटान बीच चारदेशीय सीधा बस यातायात सेवा सञ्चालनका लागि बङ्गलादेशको राजधानी ढाकाबाट छुटेका यात्रुबाहक बस बुधबार पूर्वी नाका काँकरभिट्टाबाट नेपाल प्रवेश गरेको छ ।

बङ्गलादेशको श्यामोली परिवहनका दुई वटा बस बुधबार मध्यान्ह काँकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका हुन् ।

ढाकाबाट बैशाख १० गते छुटेका ती बस बुधबार विहान बङ्गलाबन्ध–फुलवारी मार्ग हुँदै भारतको सिलगढीबाट पानीटङ्की सीमा हुँदै काँकरभिट्टाबाट नेपाल प्रवेश गरेका हुन् ।
मेचीनगरका नगरप्रमुख विमल आचार्य, मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याल, नेपाल बङ्गलादेश च्याम्बर अफ कमर्सका अध्यक्ष पन्नालाल जैन लगायतले मेची पुलमै पुगेर बसमा आएका बङ्गलादेश र भारतका उच्च अधिकारीहरुलाई स्वागत गरे ।

चार देशविच सीधा यातायात सेवा सञ्चालन गर्ने सम्बन्धी ती देशविच हालै सम्झौता भएपछि पहिलोपल्ट यसरी ढाकाबाट यात्रु बोकेर परीक्षण सेवाका लागि बसहरु आएका हुन् ।

बसमा बङ्गलादेश रोड ट्रान्सपोर्ट कर्पोरेसनका अध्यक्ष फरिद अहमद भुइयनको नेतृत्वमा ८० जनाको टोली भने नेपाली सदस्यहरुको नेतृत्व भौतिक योजना तथा यातायात मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर गोविन्दप्रसाद खरेलले गरेका छन् ।

यसैगरी भारतीय टोलीको नेतृत्व भारतीय यातायात मन्त्रालयका उच्च अधिकारी अमित मन्जलले गरेका छन् ।

काँकडभिट्टामा केहीबेर अध्यागमन सम्बन्धी प्रक्रिया पूरा गरी टोली ती बसहरुसँगै काठमाडौँतर्फ प्रस्थान गरेको छ । बुधबार साँझ चितवनको सौराहामा टोलीले बास बस्ने र त्यहाँ नेपाल सरकारको तर्फबाट विशेष कार्यक्रमको आयोजना गरिएको बताइएको छ ।