आरआर क्याम्पसबाट अखिल (क्रान्तिकारी)का नेताहरू गिरफ्तार

आरआर क्याम्पसबाट अखिल (क्रान्तिकारी)का नेताहरू गिरफ्तार


विप्लव नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी)का नेताहरु आज आरआर क्याम्पसबाट पक्राउ परेका छन् । सो संगठनको आरआर इकाईको सम्मेलन चलिरहेको बेला दिउँसो १२ बजे क्याम्पस हाताभित्रैबाट संगठनका महासचिव प्रकाश शाही, केन्द्रिय सदस्य ललित विक र त्रिचन्द्र इकाई अध्यक्ष बिन केसीलाई ‘अपहरण शैली’मा गिरफ्तार गरेको अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकालले जनाएका छन् ।

आफ्नो सङ्गठनका नेताहरूको गिरफ्तारीप्रति आपत्ति जनाउँदै अखिल (क्रान्तिकारी)ले सो घटनाको घोर निन्दा एवं भत्र्सना गरेको छ । अध्यक्ष ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको इकाईको सम्मेलनबाट ‘निर्दोष कमरेडहरू’को गिरफ्तारीले आफूहरूलाई विगत जनयुद्धमा शाही संसदवादीहरूको रवैयाको सम्झना दिलाएको जनाएका छन् ।

विज्ञप्तिमार्फत अध्यक्ष ढकालले भनेका छन्, ‘अहिले हाम्रो मुलुकमा समाजिक दलाल पूँजीवादीहरूको लुटतन्त्र चलेकै छ र यो लुटतन्त्रका विरूद्ध हाम्रो संगठन शैक्षिक क्षेत्रबाट लडिरहेको छ । राज्यसत्तामा बसेर राष्ट्रको सम्पति दोहन गरिरहेका सामाजिक दलालहरू हाम्रो नीति तथा कार्यक्रमविरुद्ध अनेक षडयन्त्रमा लागेको सबैले बुझेकै कुरा हो ।’ उनले अगाडि भनेका छन्– ‘दलाल केपी–रामबहादुर प्रहरी प्रशासनले हाम्रो संगठनको आरआर इकाईको सम्मेलन चल्दै गर्दा आज दिउँसो १२ बजे क्याम्पस हाताभित्रैबाट संगठनका नेताहरूलार्ई अपहरण शैलीमा गिरफ्तार गरेको छ । दलाल शासकहरूले जनयुद्धका ती दिनहरू सम्झिए हुन्छ, जनताका छोराछोरीको शैक्षिक अधिकारको लागि हामी जस्तोसुकै कदम चाल्न पनि तयार छौंँ ।’

प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रामबहादुर थापालाई आक्रोशपूर्ण भाषामा सम्बोधन गर्दै ‘गिरफ्तार गरिएका विद्यार्थी नेताहरूलाई तल्काल रिहाइ नगरे संघर्षको आँधिबेरी सिर्जना हुनेछ र त्यस परिणामको भागिदारी स्वयं केपी–रामबहादुर सरकार जिम्मेवार हुनेछन्’ भनी चेतावनी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो संगठन अखिल (क्रान्तिकारी) नेपाली विद्यार्थीहरूको शैक्षिक अधिकारको पक्षमा विगत लामो सयमदेखि संघर्षरत रहेको सर्वविदितै छ । नेपाली विद्यार्थीहरूको शैक्षिक अधिकारको लागि बलिदानीपूर्ण इतिहास रचेको क्रान्तिकारी संगठन आज पनि तमाम विद्यार्थीहरूको हितमा पुरै आन्दोलनरत रहेको जगजाहेर नै छ । नेपालको शैक्षिक मात्र होइन राजनीतिक अधिकारको पक्षमा समेत खरो उत्रिएको हाम्रो इतिहास सबैका अगाडि प्रष्ट नै छ । कथित बहुदलीय संसदीय व्यवस्थाका विरुद्ध गणतन्त्रको पक्षमा महान् जनयुद्धमा समेत हाम्रो संगठनको विशेष भूमिका र योगदान रहेको स्पष्ट नै छ ।’

‘हामी हाम्रो देश, जनता र विद्यार्थीका लागि सिङ्गै सङ्गठनलाई दलाल सत्ताको विरुद्ध बलिदानको बाटोमा लगाउन तयार छौँ । दलालहरूले सोचेका होलान् धरपकड गिरफ्तारीले संगठनलाई कमजोर बनाउन सकिन्छ तर हामी तिम्रा दमनको प्रतिकार गरिरहन्छौँ । … गृहमन्त्रीले बुझेकै होलान् निर्दोष विद्यार्थी नेता कार्यकर्ताहरू विरुद्ध स्वेच्छाचारी दमनको परिणाम के हुन्छ भनेर । केपी–रामबहादुरको प्रशासनले बुझे हुन्छ हामी रोकिँदैन, थाक्दैन र गल्दैनौँ, हामी … भ्रष्ट केपी–रामबहादुर प्रशासनलाई चेतावनी दिन चाहन्छौँ कि गिरफ्तार हुनुभएका विद्यार्थी नेताहरूलाई रिहाइ नगरे संघर्षको आँधिबेरी सिर्जना हुनेछ र त्यस परिणामको भागिदारी स्वयं दलाल केपी–रामबहादुर प्रशासन नै हुनुपर्नेछ ।’