एकै कार्यकालमा तेस्रो भ्रमण

एकै कार्यकालमा तेस्रो भ्रमण


छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी एकै कार्यकालमा तेस्रोपटक नेपालको भ्रमणमा आउनुहुने निश्चित भएको छ । एउटै कार्यकालमा तीनपटक नेपालको भ्रमण गर्ने एक मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बन्नुले नेपाललाई उहाँले कति महत्व दिनुहुन्छ भन्ने सङ्केत दिएको छ ।

मोदी यही वैशाख २८ गते नेपाल आउनुहुने र भोलिपल्ट २९ गते साँझ स्वदेश फर्कनुहुने बताइएको छ । नेपालमा रहँदा उहाँले राष्ट्रपति र प्रधानमन्त्रीसहित प्रमुख राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्नुहुने बुझिएको छ । मोदीबाट मुक्तिनाथको दर्शन हुने र रामजानकी मन्दिरमा पुगी पूजाआजा गरिने कार्यक्रमसमेत तय भएको बताइन्छ । आपसी सद्भाव र विश्वास अभिवृद्धिको निम्ति हुने यस भ्रमणका क्रममा मोदीबाट ‘विशेष सन्देश’ दिइने पनि सम्बद्ध सूत्रहरूले जनाएका छन् ।

नेपाल आउनुभन्दा दुई दिनअघि मोदी चीन भ्रमणमा जानुहुने र नेपाल भ्रमणको केही दिनपछि उहाँ पुनः चीनकै भ्रमणमा जानु हुने भएकोले मोदीको भ्रमणलाई लिएर नेपालभित्र अनेकौँ अड्कलबाजी शुरु भएका छन् । भ्रमण राजनीतिक दृष्टिले अर्थपूर्ण रहने नेपाली बुद्धिजीवीहरूको भनाइ छ ।