स्ट्रिट चाइल्ड वल्र्डकपको जर्सी सार्वजनिक

स्ट्रिट चाइल्ड वल्र्डकपको जर्सी सार्वजनिक


रुसको मस्कोमा हुने स्ट्रिट चाइल्ड वल्र्डकप– २०१८ ‘द फ्युचर डिपेन्ड्स अन यू’ मा नेपालले पहिलो पटक सहभागिता जनाउँदै छ ।

बैशाख २६ देखि जेठ ४ गतेसम्म स्ट्रिट चाइल्ड युनाइटेडले आयोजना गर्न लागेको यस प्रतियोगितामा सहभागिता जनाउने नेपाली टिमको जर्सी सार्वजनिक गरिएको छ ।

साथै, वेस्टार प्रपटीजका मालिक अक्षय गोलियान, कोकाकोला कम्पनीको तर्फबाट स्नेह राजभण्डारी, एनएमबी बैंकका रोमन झा, सनराइज बैंककी सदीक्षा आचार्य तथा कप्तान रोशन भूजेलले सोही कार्यक्रममा विश्वकपमा नेपाली टोलीले लगाउने जर्सी सार्वनजिक गरेका छन् ।

मुख्य स्पोन्सर ललितपुरको बालकुमारीस्थित वेस्टार प्रपटीज रहेको जनाइएको छ । विश्वकप फुटबल प्रतियोगिताको संयोजन गरिरहेको सेल्टर आश्रय नेपालकी अध्यक्ष खुश्बु ओलीद्वारा जारी विज्ञप्तीमा को–स्पोन्सरहरू शंकर ग्रुप, कोरिया साउथ इष्ट पावर कम्पनी र नेपाली वाटर एण्ड इनर्जी डेभेलोपलेम्ट कम्पनी (एनडब्ल्यूइडिसी) रहेको जानकारी दिइन् । स्पोन्सरहरू कोकाकोला, गोल्डस्टार सुज, एनएमबी बैंक, सनराइज बैंक र नेपाल एसबिआइ बैंक छन् ।
कार्यक्रममा बोल्दै मुख्य प्रायोजक बेस्टार प्रोपटिजका संचालक गोलियानले नेपाली टिमलाई प्रायोजन गर्न पाउँदा गर्व महसुस भएको प्रतिक्रिया दिए ।

सडकमा जिवन विताउन बाध्य भएका बालबालिकालाई आवाश, शिक्षा, खानपिन लगायतको कार्य गर्दै आएको सेल्टर आश्रय नेपालको सक्रियतामा नेपालले पहिलो पटक प्रतियोगितामा सहभागिता जनाउन लागेको हो ।

सेल्टर आश्रय नेपालले सडक बालबालिकाहरुको राष्ट्रिय लिग संचालन गरेर खेलाडी छनोट गरेको थियो । रुस जाने नेपाली टिममा रोशन भुजेल, एरोन कार्की, पवन शाही, सचिन विश्वकर्मा, विशाल वादी, सन्तोष खत्री, मनविर लामा, विकास तिमल्सिना र रमेश शाह तेली छन् ।

उनीहरुलाई राजन न्यौपानेले प्रशिक्षण दिइरहेका छन् भने गोलकिपरको प्रशिक्षण नवीन महर्जनले सम्हालेका छन् । नेपाली टिम आइतबार देखि बन्द शिविर प्रशिक्षणमा बसेका छन् । खेलाडीको आवाससँगै पौडी, जिम, टेनिस, स्नुकर, टेबलटेनिस लगायतको सुविधा प्रायोजकले नै गरेको छ ।

दुई साता एन्फा कम्प्लेक्सको मैदानमा प्रशिक्षण गरेपछि नेपाली टिम मस्को प्रस्थाान गर्नेछ । नेपाली टिमलाई कोकाकोला, गोल्डस्टार सुज, एनएमबी बैंक, सनराइज बैंक र नेपाल एसबीआई बैंकले सहप्रायोजन गरेको सेल्टर आश्रय नेपालकी अध्यक्ष खुस्बु ओलीले जानकारी दिइन् ।