आईटीएफ टेनिसमा नेपालद्वारा श्रीलंका पराजित

आईटीएफ टेनिसमा नेपालद्वारा श्रीलंका पराजित


नेपालले आईटीएफ एसिया यु–१२ टिम टेनिस च्याम्पियनसिपको दक्षिण एसियाली क्षेत्रको छनोट प्रतियोगिताको ब्वाइजमा जित हात पारेको छ । नेपालले श्रीलंकालाई ३–० को सेटले पराजित गऱ्यो ।

सातदोबाटोस्थित टेनिस कोर्टमा जारी प्रतियोगिताको सिंगल्समा नेपालका अकी जुवेन रावतले श्रीलंकाका लिसल गुनेतिल्लेकेलाई ६–३ र ६–४ तथा नेपालका आरभसम्राट हाडाले श्रीलंकाका भिचिन्थिया निलाविरालाई ६–० र ६–० को सोझो सेटमा पराजित गरेका थिए । डबल्समा आरभ र अकीको जोडीले थिलिना दिशानायके र भिचिन्थियाको जोडीलाई ६–३ र ६–० को सीधा सेटमा पन्छाएको थियो ।

ब्वाइजकै अर्को खेलमा भने भारतले नेपाललाई २–१ ले निराश पाऱ्यो । सिंगल्समा भारतका हरिश फोगाटले अकीलाई ६–२ र ६–२ तथा वंश नन्दलले आरभलाई ६–२ र ६–३ को सोझो सेटमा पाखा लगाए । डबल्समा भने नेपाल विजयी भयो । आरभ र अकीको जोडीले वंश र रुसिल खोस्लाको जोडीलाई ३–६, ६–४ (११–९) ले पन्छाए । ब्वाइजको अन्य खेलमा श्रीलंकाले भुटान तथा भारतले पाकिस्तानलाई समान ३–० को नतिजामा हराए ।

नेपालले गल्र्समा पनि श्रीलंकामाथि ३–० को जित दर्ता गऱ्यो । सिंगल्समा नेपालकी अजा रेग्मीले श्रीलंकाकी राजाकरुणा रुभी लिउकेबन्दरालाई ६–० र ६–० तथा नेपालकी शुभाङ्गीलक्ष्मी शाहले श्रीलंकाकी हसली गजबलाई ६–४, ५–७ र ६–२ ले पराजित गरे । डबल्समा शुभाङ्गी र आइशा डोल्कर गुरुङको जोडीले गजब र मेथासा नेलिनी जयसूर्यको जोडीलाई ६–० र ६–० ले पाखा लगाए । गल्र्समै भारतले भुटानमाथि ३–० को सहज जित निकाल्यो ।