गीतकार युवराजको ‘देउरालीको फूल’

गीतकार युवराजको ‘देउरालीको फूल’


गीतकार युवराज अधिकारीको पहिलो गीतिसङ्ग्रह ‘देउरालीको फूल’ सार्वजनिक हुँदैछ । सुरेश अधिकारीको एकल सङ्गीत रहेको एल्बममा दीप श्रेष्ठ, रामकृष्ण ढकाल, स्वरूपराज आचार्य, प्रमोद खरेल र मीना निरौलाको स्वर समेटिएको छ । म्युजिक संसार नेपालको प्रस्तुतिमा तयार भएको एल्बम नयाँ वर्षको अवसर पारेर सार्वजनिक गर्ने तयारी रहे पनि कारणवश केही ढिलो हुन गएको र छिट्टै लोकार्पण गरिने स्रष्टा अधिकारीले जानकारी दिए ।

व्यस्त जागिरे जीवनबीच समय निकालेर गीत–कविता कोर्दै आएका गीतकार अधिकारीका अनुसार सुन्दर भावका ६ वटा गीत समेटिएको एल्बममा रहेकामध्ये तीनवटा गीतको भिडियो छायाङ्कनसमेत भइरहेको छ । उनको ‘आँसु आफैं…’ बोलको गीतको म्युजिक भिडियो यसअघि नै सार्वजनिक भएको थियो भने दुई गीतका भिडियो निर्माणसम्बन्धी काम अन्तिम चरणमा पुगेको छ । एल्बमको एक गीतको म्युजिक भिडियो वरिष्ठ सञ्चारकर्मी एवम् निर्देशक भूषण दाहालले गरेका छन् ।

इलाममा जन्मेका कवि तथा गीतकार युवराज अधिकारीले माध्यमिक शिक्षाकै समयदेखि कथा/कविताहरू लेख्ने र १५-१६ वर्षकै उमेरमा मेरा चीत्कारहरू नामक कवितासङ्ग्रह पनि प्रकाशित गरेका थिए । इलामबाट प्रकाशित ‘कन्दरा’ साहित्यिक पत्रिका तथा काठमाडौंबाट प्रकाशित ‘चियाबारी’ विष्णु–नवीन स्मृति ग्रन्थको सम्पादनसमेत उनले गरेका थिए । यस्तै कलेज/क्याम्पस जीवनमा लामो समयसम्म ‘संरचना’ द्वैमासिक साहित्यिक पत्रिकाको सम्पादन कार्यमा संलग्न रहेका अधिकारीले साहित्यिक पत्रकार सङ्घको प्रकाशन ‘सिर्जना’ द्वैमासिकको पनि केही समय सम्पादन गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका आजीवन सदस्य रहेका अधिकारीका साहित्यिक सिर्जनाहरू समय–समयमा गोरखापत्र, ‘मधुपर्क’ तथा ‘रचना’जस्ता साहित्यिक पत्रिकाहरूका साथै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको प्रकाशन ‘अन्तरदृष्टि’मा देख्न पाइन्छ ।