अछामका १९ प्रहरी यूनिट जोखिमपूर्ण घरमा

अछामका १९ प्रहरी यूनिट जोखिमपूर्ण घरमा


जिल्ला प्रहरी कार्यालय, अछाम मातहतका विभिन्न प्रहरी यूनिट जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता छ । आफ्नै भवन नहुँदा जिल्लाका विभिन्न १९ वटा प्रहरी यूनिट भाडाका जोखिमपूर्ण घरमा असुरक्षित रुपमा बस्नुपर्ने बाध्यता भएको हो ।

जिल्ला प्रहरी कार्यालयलगायत नौवटा प्रहरी यूनिट मात्रै आफ्नै भवनमा बसेका छन् भने बाँकी प्रहरी यूनिट असुरक्षित र जोखिमपूर्ण घरमा बस्नुपर्ने बाध्यता रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । सबैलाई सुरक्षा दिने प्रहरीले नै जोखिमपूर्ण र असुरक्षित घरमा बस्नुपर्दा निकै समस्या भएको प्रहरी नायब उपरीक्षक न्यौपानेको भनाइ छ ।

लामो समयदेखि अरुको घरमा भाडा तिरेर बसेका प्रहरी यूनिटलाई पछिल्लो समय स्थानीय तहका कारण थप समस्या भएको छ । स्थानीय तहका कारण भाडा बढाउने र घर छोड्नका लागि ताकेता गर्ने समस्याका कारण भाडाका घर नै नपाउने जस्ता समस्या पनी बढेको प्रहरी नायब उपरीक्षक न्यौपानेले बताउनुभयो ।

‘भाडाका १९ वटा प्रहरी यूनिटमध्ये पाँचवटा यूनिट त अति जीर्ण भवनमा बसाल्नु परेको छ,’ प्रहरी नायब उपरीक्षक न्यौपानेले भन्नुभयो, ‘प्रहरी आफैँ असुरक्षित हुँदा जनतालाई सुरक्षा दिन थप समस्या भएको छ ।’ कालेकाँडा, शान्तडा, मेल्लेख, ढकारी र सिउडी प्रहरी चौकी अतिनै जोखिमपूर्ण घरमा बसेर सेवा दिइरहेको जिल्ला प्रहरी कार्यालय अछामको भनाइ छ ।

माथिल्लो निकायबाट सीमित मात्रामा बजेट आउने र उक्त मातहतका प्रहरी यूनिट सञ्चालन गर्न निकै समस्या हुने गरेको बताइएको छ । यस्तै, बेल्खेत, गैरीटाँड र तुर्माखाँदमा रहेका तीनवटा अस्थायी प्रहरी पोष्टका लागि आवश्यक व्यवस्थापनको काम कार्य स्थानीय तहसँग समन्वय गरेर भइरहेको छ ।

भौगोलिक हिसाबले निकै ठूलो र छरिएका बस्ती भएको अछाम जिल्लामा प्रहरीलाई शान्ति सुरक्षालगायतका सेवा दिन थुप्रै समस्या रहेको जनाइएको छ । जिल्लाभरिमा रहेका २८ वटा प्रहरी यूनिटमा ४०० जना प्रहरी कार्यरत रहेका राससले जनाएको छ ।