महानिर्देशक बनाउन ‘ज्वाइँ’ सक्रिय !

महानिर्देशक बनाउन ‘ज्वाइँ’ सक्रिय !


खानेपानी तथा ढल निकास विभागको महानिर्देशक रहेका तेजराज भट्टलाई विस्थापित गरी एक कनिष्ट सहसचिवलाई उक्त जिम्मेवारी दिने गृहकार्य माओवादी अध्यक्ष प्रचण्डको निवासस्थान खुमलटारमा भएको छ । प्राप्त जानकारीअनुसार वरीयताक्रमको सातौँ नम्बरमा रहेका मनोज घिमिरेलाई महानिर्देशक बनाउन प्रचण्डका कान्छा ज्वाइँ जीवन आचार्य लागिपरेका छन् । ज्वाइँ आचार्यलाई पचास लाख रुपैयाँ बुझाएर उक्त ‘गृहकार्य’ शुरु भएको चर्चा चले पनि सोको पुष्टि हुन सकेको छैन, तर आचार्यले आफ्ना ससुराबुबा प्रचण्डमार्फत जुनस्तरको कसरत गरिरहेको देखिन्छ, त्यसलाई हेर्दा बिनालेनदेन यो स्तरको सक्रियता भएको विश्वास गरिएको छैन ।

मनोज घिमिरे सुशील कोइराला प्रधानमन्त्री हुँदा चर्चित रहेकी महिला मृदुला कोइरालाका आफ्नै भाइ हुन् । मोरङ निवासी घिमिरेको मोरङकै जीवन आचार्यसँग केही पहिलेदेखिकै सम्बन्ध भए पनि पछिल्लो चरणमा अलिक बढी नै घनीभूत भएको बताइन्छ । प्रचण्डका ज्वाइँ जीवन मोरङ ६ (क)बाट प्रदेशसभाका सदस्यमा पराजित भएका पात्र भए पनि ससुराको शक्तिका कारण राजनीतिक सरुवा बढुवा र नियुक्ति जस्ता विषयमा चलखेल गर्ने गरेका कारण बेलाबेला चर्चामा रहन्छन् ।

मनोज घिमिरे तिनै व्यक्ति हुन् जसमाथि आफ्नै घरमा काम गर्ने एक किशोरीलाई बलजफ्ती यौनशोषण गरेको आरोप लागेका थियो । काभ्रे जिल्लामा खानेपानी प्रमुख भएर रहँदा किशोरीलाई यौनशोषण गरेको प्रकरणमा प्रहरीले छानबिन गर्दा यिनी दोषी प्रमाणित भएपछि जेल चलान भएका थिए । करिब तीन महिनाको जेल बसाइपछि कोइराला परिवार र दमननाथ ढुङ्गानाको ‘सोर्सफोर्स’ लगाई यिनी कारावासमुक्त भएका थिए । स्मरणीय छ, मनोज घिमिरेकी सानीआमा विवाह गरेकोले दमन ढुङ्गाना नातामा उनको सानुबुबा हुन् । मोरङमै पीडित किशोरीलाई केही जग्गाजमिन दिएर घिमिरेलाई जेलमुक्त हुने परिस्थिति बनाइएको अझै पनि मोरङका स्थानीयवासीहरू स्मरण गर्ने गर्दछन् ।

प्रथम श्रेणीका कर्मचारीमध्ये हाल मेलम्ची आयोजनामा प्रमुख रहेका रामचन्द्र देवकोटा सबैभन्दा वरिष्ठ मानिन्छन् भने त्यसपछि क्रमशः हालका महानिर्देशक तेजराज भट्ट, प्रदेश सातमा भौतिक योजना मन्त्रालयको सचिव रहेका राजनराज पाण्डे, खानेपानी विभागका उपनिर्देशक सुनिललाल दास, साना शहरी खानेपानी आयोजनाका प्रमुख रामचन्द्र साह र मन्त्रालयमा महाशाखा प्रमुख रहेका ज्योतिकुमार श्रेष्ठभन्दा घिमिरे कनिष्ट छन् । कनिष्ट हुँदाहुँदै पनि यिनलाई खानेपानी तथा ढल निकास विभागको महानिर्देशक बनाउन अवाञ्छित ढङ्गले प्रयास भएपछि विभागका कर्मचारीहरूमा तरङ्ग पैदा भएको छ । माओवादी नेता लेखराज भट्टमार्फत विभागको महानिर्देशक बनेका तेजराज भट्टले अब आफूलाई कसरी जोगाउन सक्ने हुन् प्रतीक्षा र जिज्ञाशाको विषय बनेको छ ।