नीति, सिद्धान्त र संगठनमा कांग्रेस अस्पष्ट

नीति, सिद्धान्त र संगठनमा कांग्रेस अस्पष्ट


नेपाली कांग्रेसभित्र वैचारिक र सैद्धान्तिक विषयमा बहस र छलफल जरुरी रहेको सो पार्टीको जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले औंल्याएका छन् । बैठकमा केन्द्रीय सदस्यहरूले पार्टीको सिद्धान्त तथा नीति अनि पार्टीको संगठन विषयमा कांग्रेस अस्पष्ट र अल्मलिएको अवस्थामा रहेको उल्लेख गर्दै २०४८ सालपछि पार्टीभित्र वैचारिक र सैद्धान्तिक विषयमा कहीँकतै बहस र छलफल नभएको नेताहरुले बताएका छन् ।

निर्वाचन समीक्षा गर्न भन्दै गत चैत ९ गतेदेखि शुरु भएको बैठकको नवौं दिन अर्थात् हिजो मंगलबारको बैठकमा केन्द्रीय सदस्यहरू प्रदीप गिरि, बालकृष्ण खाण, दीपक गिरी, किशोरसिंह राठौर, गगनकुमार थापा र सीता गुरुङले आ–आफ्नो धारणा राखेका थिए भने केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गुरुराज घिमिरे, गगनकुमार थापा, प्रदीप पौडेल, रामकृष्ण यादव र जीवन परियारले संयुक्त रुपमा ५० पृष्ठ लामो लिखित निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा प्रस्ताव पेश गरेका छन् ।

प्रस्तावमा आगामी दिनको सुधारका लागि पार्टीलाई तत्काल संघीय संरचनामा लगेर वडा, पालिका, प्रदेश र संघ सबै तहमा सबल सरकार वा छाया सरकारको भूमिका खेल्न सक्ने नेतृत्व स्थापित गर्नु आवश्यक रहेको उल्लेख छ । ‘त्यसका लागि एकमात्र बाटो भनेको महासमितिबाट नयाँ संगठनिक संरचना र नयाँ नीति स्थापित गरेर शीघ्र महाधिवेशनमा जाने नै हो । बैठकले यस दिशामा ठोस निर्णय गरोस् भन्ने आग्रह गर्न चाहन्छौँ । अहिलेको विधानअनुसार जाँदा छिटोमा महाधिवेशन सम्पन्न गर्न अर्को दुई वर्ष लाग्छ’ प्रस्तावमा उल्लेख छ ।

बैठकमा केन्द्रीय सदस्य थापाले चुनावमा जय वा पराजयको कुनै एउटा मात्र निश्चित कारणले नहुने भन्दै समीक्षा बैठक कसैका प्रति आरोप प्रत्यारोप र कसैको अशोभनीय बचावटमा मात्र सीमित भए फेरि पनि बान्छित गन्तव्य पत्ता लगाउन नसकिने विचार व्यक्त गरे ।

कांग्रेस नेतृत्त्वको सरकारले तीन तहको चुनाव सम्पन्न गरेसँगै संविधान कार्यान्वयनको शुरुआत भएको र कांग्रेसको राजनीतिक विचार र सिद्धान्त विजय भएको उल्लेख गर्दै उनले भने, ‘यसरी राजनीतिक विचार र सिद्दान्तले विजय प्राप्त गर्दैगर्दा हामीले राजनीतिक युद्ध त जित्यौं तर त्यही अवधिमा थुप्रै स–साना राजनीतिक, सामाजिक, आर्थिक लडाईं भने हार्दै आयौँ ।’

बैठकमा केन्द्रीय सदस्य गिरिले निर्वाचनमा भएको पराजयको सबैले आफ्नो पदअनुसारको जिम्मेवारी लिनुपर्ने बताउँदै बैठकमा प्राप्त सुझावलाई औषधिका रुपमा लिई कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

विगतका कमी कमजोरी सुधार गरी आगामी दिनमा एकताबद्ध रुपमा पार्टी अघि बढनुपर्ने बताउँदै उनले विधानभन्दा माथि कोही पनि नहुने भएकाले पार्टीका क्रियाकलाप विधानसम्मत चल्नुपर्ने धारणा व्यक्त गरे ।

केन्द्रीय सदस्य गुरुङले दुई ठूला वाम दलबीचको गठबन्धन, पार्टीभित्रको अन्तरघात, निर्वाचनको तयारीको अभाव, संविधानअनुसार पार्टीको संरचना र सुदृढीकरण गर्न नसक्नुलगायत कारणले निर्वाचनमा पार्टी पराजय भएको बताए ।

निर्वाचनमा पराजय भएपनि कांग्रेसले संविधानको कार्यान्वयन गरी इतिहासमा मूल्याङ्कन हुने काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा पार्टी सुदृढीकरणका लागि कार्ययोजना बनाई अघि बढनुपर्ने बताए ।

कांग्रेसको बैठक आज (बुधबार) बिहान ९ः०० बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य–सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । –भीष्मराज ओझा

तस्बिर रासस