प्राकृतिक स्रोत नष्ट हुने पूर्वराष्ट्रपतिको चिन्ता

प्राकृतिक स्रोत नष्ट हुने पूर्वराष्ट्रपतिको चिन्ता


पूर्वराष्ट्रपति डा. रामवरण यादवले अहिले भएको विकासको ढाँचाले प्राकृतिक स्रोतलाई नष्ट गर्ने बताउनुभएको छ । बारबरा फाउण्डेशनले आज राजधानीमा आयोजना गरेको ‘बारबरा एडम्स खोजी पत्रकारिता पुरस्कार वितरण’ समारोह तथा ‘चुरे संरक्षण आवश्यकता र सम्भावना’ विषयक अन्तरक्रियामा उहाँले अहिले भएको विकासको ढाँचालाई बदल्नुपर्नेमा जोड दिनुभयो ।

‘अहिलेको विकासको ढाँचा सिधै डोजर लगाउने खालको रहेको छ’, उहाँले भन्नुभयो, ‘यदि यही ढाँचाअनुसार विकास भयो भने खोलानालाका ढुंगा, गिटी बालुवा वनजंगल केही रहने छैन ।’ पूर्वराष्ट्रपति यादवले चुरे क्षेत्रको संरक्षण गर्न स्थानीय तहका प्रतिनिधिलाई बढी जिम्मेवार बनाउनुपर्ने धारणा राख्नुभयो ।

आफू राष्ट्रपतिमा भएका बेला चुरे संरक्षण कार्यक्रम ल्याएको भन्दै दुईवटा संविधानसभामा चुरे संरक्षणको कुरा उठाउँदा कोही सांसद पनि नबोलेको उहाँको भनाइ थियो । ‘संविधानसभामा कहिल्यै चुरे संरक्षणको कुरा छलफलमा आएन’, उहाँले दुःखेसो पोख्दै भन्नुभयो, ‘मधेशका नेताको मुखबाट त झन चुरेको बारेमा कहिल्यै नै कुरा सुनेन् ।’

उहाँले चुरे संरक्षणका लागि गठन गरिएको समितिबाट मात्र चुरे संरक्षण हुन नसक्ने भन्दै कानून बनाएर संरक्षणमा जोड दिनुपर्ने बताउनुभयो । चुरेलाई बचाउन सकेमात्र मुलुकको विकास हुने धारणा उहाँको थियो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओलीले चुरे दोहन रोक्नका लागि सरकार लागिपरेको बताउँदै अवैध वन कटानी र मापदण्डविपरीतका क्रसरलाई रोक्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समितिका अध्यक्ष वीरेन्द्र यादवले समितिले मात्र चुरेको दोहन रोक्न कठिनाइ भइरहेको भन्दै सरकार अग्रसर हुनुपर्ने धारणा राख्नुभयो । राससका अनुसार कार्यक्रममा समितिका पूर्व अध्यक्ष रामेश्वर खनालले केन्द्र, प्रदेश र स्थानीय सरकार मिलेर चुरेको संरक्षण गर्नुपर्ने बताउनुभयो ।

‘बारबरा’ पुरस्कार पौडेल र भट्टराईलाई

यसैगरी ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’–२०१७ को पुरस्कार पत्रकार दिलीप पौडेल र कल्पना भट्टराईलाई प्रदान गरिएको छ ।

पूर्वराष्ट्रपति यादवले पौडेललाई ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ र भट्टराईलाई बारबरा एडम्स खोजी पत्रकारिता प्रोत्साहन सम्मान’ प्रदान गर्नुभएको थियो ।

पुरस्कारको राशि पौडेललाई एक लाख एक रुपैयाँ र भट्टराईलाई १० हजार एक रुपैयाँ प्रदान गरिएको थियो । दुवै जनालाई नेपालमा खोजी पत्रकारितामा अभिवृद्धि गर्ने पु¥याएबापत प्रदान गरिएको फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइतले जानकारी दिनुभयो ।