पार्टी एकताको मुहुर्त १४ गते जुराइने

पार्टी एकताको मुहुर्त १४ गते जुराइने


दुई पार्टी बीचको एकता घोषणाको मिति आउँदो वैशाख १४ गते तय गरिने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले खुलासा गरेका छन् । प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले मे १ वा मे ५ मा पार्टी एकता घोषणा गर्ने कोशिश भइरहेको जानकारी दिए ।

दुई पार्टीका अध्यक्षले पर्याप्त समय निकाल्न नसकेका कारण एकतामा ढिलाइ भएको स्वीकार्दै उनले भने, ‘प्रधानमन्त्रीजीको व्यस्तता हुने नै भयो । म पनि व्यस्त नै छु । यसले थोरै ढिलो भएको हो । समय निकालेर छलफलमा बसेमा कुरो टुंगिने छ ।’

पार्टी एकतामा त्यस्तो जटिल केही नरहेको जानकारी दिँदै उनले दुईचार दिन ढिलो होस् तर राम्रो होस् भन्नेतर्फ आफूहरुको ध्यान गएको जनाए । हतारमा एकता गर्ने, पछि गएर यी कुरा पहिले नै सल्लाह गर्नुपर्ने भन्ने नहोस् भन्ने आफ्नो चाहना रहेको उनको तर्क छ ।

सोही अवसरमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले जुत्ताअनुसारको खुट्टा बनाउने भनी भनेको सन्दर्भलाई प्रतीकात्मक भनाई भन्दै बचाओट गरे र भने, ‘लेनिनले के गर्ने भन्ने पुस्तक लेख्दा बरु सय चोटि नाप्ने तर खुट्टा अनुसारको जुत्ता बनाउने भन्ने कुरालाई उहाँले प्रतीकात्मक रुपमा उठाउनुभएको हो । हामी त्यस्तो ठाउँमा आएका छौं । खुट्टा काटेर भए पनि जुत्ता मिलाउनुपर्ने छ भन्नुभएको हो ।’

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हुन गइरहेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे । प्रचण्डलाई उद्धृत गर्दै राससले जनाएअनुसार प्रधानमन्त्री मोदीको जनकपुर र मुक्तिनाथ जाने काम धेरै पहिलेदेखि रोकिएकोले यसपटक मोदी ती स्थानमा पुग्नेछन् । अरू छलफल पनि यसपटक हुने कार्यक्रम रहेको उनले जानकारी दिँदै उनले दुई देशबीचको सम्बन्ध सुधार भइरहेको बताए ।