‘प्रधानमन्त्री पदमा नियुक्ति पाऊँ’

‘प्रधानमन्त्री पदमा नियुक्ति पाऊँ’


pathakmanchसम्पादकज्यू
राजनीतिक दलहरूले स्वतन्त्र र सहमतीय दुवै प्रकृतिको सरकार गठन गरी निर्वाचन गराउन असफल भएको हुँदा निर्वाचन गराउनका निम्ति निष्पक्ष सरकार आवश्यक भएको र त्यस्तो निष्पक्ष सरकार निर्माण मेरो नेतृत्वमा हुन सक्ने दाबीसहित राष्ट्रपतिसमक्ष निवेदन दिएको छु र महामहिम राष्ट्रपतिसमक्ष दिइएको निवेदनमा उल्लिखित व्यहोरा सबैको जानकारीका लागि यहाँ पठाएको छु ।
विषय ः सहमतीय र बहुमतीय सरकार गठन हुन सक्ने स्थिति संविधानतः नरहेको, स्वच्छ छवि भएको, दलगत राजनीतिमा नलागेको तटस्थ एवम् स्वतन्त्र व्यक्ति आफू भएकोले प्रधानमन्त्री पदमा नियुक्त गरिपाऊँ ।
– म निवेदन नेपाली नागरिक हुँ, साथै मेरा पुर्खाहरू पनि नेपाली नै हुन् ।
– म निवेदक हिन्दू धर्मावलम्बी हुँ, साथै अन्य धर्म–सम्प्रादयप्रति पनि मेरो उत्तिकै सम्मान गर्ने नीति छ ।
– मैले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेको छु ।
– म निवेदक अहिले नेपालको कुनै पनि राजनीतिक दलसँग आबद्ध छैन । कानुनतः दर्ता भएका राजनीतिक दलहरूप्रति उचित सम्मान गर्दै आफू भने कुनै राजनीतिक दलमा आबद्ध नभई स्वतन्त्र रूपमा रहेको व्यहोरा अनुरोध गर्दछु ।
– आ–आफ्नो परम्परागत धर्म, संस्कार एवम् कर्तव्यबाट कहिले पनि विचलित हुनुहुँदैन भन्ने कुरामा म विश्वास राख्दछु ।
– राष्ट्रपतिज्यूसमक्ष प्रधानमन्त्री पदमा नियुक्ति पाउन निवेदन चढाउनुको प्रमुख कारण ः
(क) देशमा संविधानसभाको अवसानपछि संसद् वा संविधानसभाको निर्वाचन राजनीतिक दलका व्यक्तिको नेतृत्वमा सरकार गठन भई सो निर्वाचन सम्पन्न हुने स्थिति नदेखिएको ।
(ख) राजनीतिक दलका व्यक्तिहरूबाट कुर्सीमोहको खेल मात्रै भइरहेको देखिएकोले दिनप्रतिदिन राजनीतिक दलप्रति जनताको आस्था घट्दै गइरहेको अवस्था देखिएको छ ।
म निवेदक पनि एक स्वच्छ छवि भएको, कुनै राजनीतिक दलमा हालसम्म नलागेको, सामान्य नेपाली नागरिकको छोरा भएको र युवा एवम् नेपालको कन्टेस्टमा शिक्षित व्यक्ति भएको हुँदा मलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी मेरो अध्यक्षतामा सरकार गठन गर्ने अवसर प्रदान भएमा देशले सही दिशा लिन सक्ने अवस्था छ । सोका लागि मेरो निम्नबमोजिमको कार्ययोजना छ ।
(क) सर्वप्रथमतः आगामी ६ महिनाभित्र संविधानसभाको समेत काम गर्ने संसद्को निष्पक्ष रूपमा निर्वाचन सम्पन्न गराउनेछु । सो संसद्ले आवश्यक कानुन पास गर्ने र संविधान मात्र निर्माण गर्ने उद्देश्यका साथ संसद्को निर्वाचन गराउनेछु ।
(ख) देशमा हत्या, हिंसा, अपहरण, लुटपाटजस्ता आपराधिक क्रियाकलाप हुन नदिई जनतामा शान्तिसुरक्षाको अनुभूति दिलाउने व्यवस्था मिलाउनेछु । मौलाउँदो भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने खालका कदमहरू अवलम्बन गर्नेछु ।
(ग) प्राविधिक सल्लाह र सुझाव लिएर ऊर्जा सङ्कट (लोडसेडिङ) अन्त गराउने दिशामा सशक्त कदम चाल्नेछु ।
(घ) सुकुम्बासी समस्या अविलम्ब समाधान गर्ने दिशामा सशक्त कदम अवलम्बन गर्नेछु ।
(ङ) युवा बेरोजगारलाई देशमा नै स्वरोजगारको व्यवस्था गरी देशको युवाशक्तिलाई देशमा नै उपयोग गर्ने कदम अवलम्बन गर्नेछु ।
(च) देश सानो भईकन पनि हिमाल, पहाड, भित्रीमधेस र तराई क्षेत्रको भूभागमा विभाजित छ । ती भूभागमा विभिन्न धर्म, सम्प्रदाय एवम् जातजाति, भाषा एवम् भेषभूषाका नेपाली जनताको बसोबास छ । त्यसकारण ठाउँ सुहाउँदा निर्यातमूलक उद्योगहरू सञ्चालन गरी आयआर्जन गर्ने खालको उद्योगहरू सञ्चालन गर्नमा जोड दिनेछु ।
(छ) देशको राष्ट्रिय, राष्ट्रिय अखण्डतामा आँच पुग्ने कुनै काम हुन दिने छैन र आफूबाट पनि गर्ने छैन ।
(ज) बागमती, विष्णुमती, मनहरा तथा धोबीखोलासमेतलाई स्वच्छ र हराभरा बनाउन र प्रदूषणमुक्त गराउन दृढताका साथ लाग्नेछु ।
उल्लेखित कार्ययोजनालगायत देश र जनताका लागि सदैव भलो चिताएर अरू धेरै काम गर्ने प्रण गर्दै म निवेदकलाई वर्तमान परिस्थितिमा प्रधानमन्त्री पदमा नियुक्त गरी सहमतिका लागि भनी सदैव म्याद थपिरहने र दलहरूले म्याद मागिरहने परम्पराको अन्त गरी म निवेदकको अध्यक्षतामा सरकार गठन गरी देशलाई सही मार्गचित्रमा लानका लागि सम्माननीय राष्ट्रपतिज्यूसमक्ष यो सङ्कटको घडीमा एक युवकले नेपाली नागरिकले जिम्मेवारीबोधका साथ निवेदन प्रस्तुत गरेको छु । राष्ट्रपतिज्यूको जो विचार ।
निवेदक
पुण्डरीप्रसाद अधिकारी (वर्ष ४२)
बारा जिल्ला मनहरुवा गाविस–३ बडहरुवा, हाल ललितपुर

लोकतान्त्रिक दलहरूको उपादेयता सकिएकै हो ?
राजनीतिक गतिरोधको अन्त्य गर्न भन्दै राष्ट्रपतिले दलहरूलाई दिएको नवौँ म्याद पनि त्यत्तिकै समाप्त भयो । यसबीच सत्तारुढ र विपक्षी दलहरूले आ–आफ्ना अडान दोहो-याउनेबाहेक सहमतिको सार्थक प्रयास गरेको देखिएन । सहमतिको प्रयास जारी छ, सहमति हुनेमा आशा छ भन्दै आएका नेताहरू पनि अब त्यस्तो सम्भावना नरहेको प्रतिक्रिया दिन थालेका छन् ।
संवैधानिक निकायहरू रिक्तप्रायः रहेको, सरकारको हातमा असीमित शक्ति आएको र विपक्षी दलहरू निरीह देखिएको अवस्थालाई सबैले स्वीकार गरिरहेका छन् । हुन त एकल–दुकल नेताहरूले ‘कहिलेकाहीँ स्वेच्छाचारी शासन गर्न खोज्नेहरू झट्ट हेर्दा बलिया देखिन्छन्, विपक्षीहरूले जनतालाई समेटेर प्रभावकारी ढङ्गले अघि बढ्ने कार्यक्रम अगाडि नल्याएको अवस्थामा यस्तो देखिनु अस्वाभाविक पनि छैन, तर सरकारका गल्तीहरू प्रस्ट्याएर मुलुकलाई शान्ति र समृद्धितिर लैजान कसरत गर्दा जनताले आन्दोलनमा साथ नदेलान् भन्नुपर्ने अवस्था छैन’ भन्दै चित्त बुझाउने प्रयास गरेका पनि भेटिन्छन् । तर, विपक्षी दलहरूले चाहेझैँ तत्काल आन्दोलनको माहोल बन्ला भन्नेमा विश्वास गर्न सकिने अवस्था अझै छैन । एमाओवादी सहमतिमा आइहाल्छ भनी विश्वासमा परेका नेताहरूमा अझै चेत नखुल्नु अचम्मलाग्दो विषय हो । उनीहरू अझै प्रचण्डले सहमतिको सूत्र पहिल्याउलान् भनी बाटो हेरिरहेका छन् ।
देश बर्बाद भइरहँदा पनि विपक्षी दल चुप लागेर बसिरहने हो भने मुलुकप्रतिको कर्तव्य निर्वाहमा उनीहरू चुके भन्नैपर्ने हुन्छ । यस्तै हो भने त सङ्कटको यस घडीमा जनतालाई यथार्थ बोध गराएर आन्दोलनमा सरिक गराउन नसक्ने लोकतान्त्रिक दलहरूको साख नै समाप्त भइसकेको भन्नुपर्ने हुन्छ । के साँच्चै लोकतान्त्रिक खेमामा रहेका विपक्षी दलहरू आन्दोलनका लागि अक्षम सावित भएकै हुन् त ? यसले काङ्ग्रेस र एमालेजस्ता दलहरूको उपादेयता समाप्तिको दिशामा गएकै हो त ? प्रत्येक लोकतन्त्रवादीले अब सोच्नैपर्ने बेला आएको छ ।
– शान्तिकृष्ण अधिकारी, कटुन्जे, भक्तपुर