यस्तो ट्राफिक जाम – आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु

यस्तो ट्राफिक जाम – आकाशमै घुम्छन् जहाज, आत्तिन्छन् यात्रु


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल भवन २८ वर्ष पुरानो भयो । २० वर्षसम्म नेपालको हवाई यातायातको चाप थेग्न सक्ने प्रक्षेपण गरिएको थियो । तर, ०४७ मा भवन बनेपछि त्यसपछिका सरकार न यसको विकल्प खोज्नतिर लागे, न विमानस्थलको विस्तारमा गम्भीर भए । त्यसैले एउटा मात्रै धावनमार्गको भरमा दैनिक चार सयभन्दा बढी उडानरअवतरण गर्दा विमानस्थल साँघुरो भएको छ ।

काठमाडौंको विकल्प काभ्रेको ठूलीचौर
काठमाडौंको हवाई ट्राफिक चाप घटाउने उपाय खोजी गर्दै जाँदा काभ्रेको ठूलीचौरमा पटक–पटक सम्भाव्यता अध्ययन गरिएको छ । प्राधिकरणका पूर्वमहानिर्देशक रतीशचन्द्रलाल सुमनका अनुसार ठूलीचौरमा एटिआर ७२ क्षमतासम्मका जहाज अट्ने गरी आन्तरिक विमानस्थल बनाउन सक्ने सम्भावना अध्ययनले देखाएको थियो । तर, तत्कालीन सरकारहरूले यसमा चासो देखाएनन् । अहिले पनि विमानस्थलबाट आन्तरिक उडान सार्न सक्ने विकल्पका रूपमा ठूलीचौरलाई लिइएको छ । तर, अब विमानस्थल बनाउन थाल्ने हो भने पनि कम्तीमा दुई वर्ष लाग्छ । यो विषयमा अहिलेको सरकार पनि अस्पष्ट छ ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीले देखेका ३ विकल्प

रवीन्द्र अधिकारी
१ तीन वर्षभित्र पोखरामा र लगत्तै निजगढमा अन्तराष्ट्रिय विमानस्थल

हामीसँग एक मात्रै अन्तर्रा्ष्ट्रिय विमानस्थल छ । त्यो पनि एउटै ‘रन वे’ भएको । डोमेस्टिक र अन्तराष्ट्रिय दुवै उडानका लागि सोही ‘रन वे’ प्रयोग गर्नुपर्छ । यसको विकल्प पहिल्यै सोच्नुपथ्र्यो । तर, हामीले ढिला गर्‍यौँ । परिणाम हामी भोग्दै छौँ । रन वेमै हुने दुर्घटनादेखि घन्टौँसम्म हुने एयर ट्राफिक जाम यसैका परिणाम हुन् । अब प्रभावकारी विकल्प तत्काल खोज्न आवश्यक छ । यसका लागि हामीले पोखरास्थित निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलको निर्माणकार्य छिटो सक्न निर्देशन दिएका छौँ । अबको तीन वर्षभित्र त्यो विमानस्थल निर्माण भइसक्नेछ । त्यस्तै, भैरहवास्थित निर्माणाधीन अन्तराष्ट्रिय विमानस्थलको काम पनि छिटो सक्न निर्देशन दिएका छौँ । अबको डेढ वर्ष्भित्र निर्माण भइसक्नेछ । त्यसबाहेक बाराको निजगढस्थित अन्तराष्ट्रिय विमानस्थल निर्माण चाँडो सुरु गर्ने हाम्रो योजना छ ।

२ त्रिभुवन विमानस्थलमा अन्तराष्ट्रिय उडान मात्र, आन्तरिकका लागि नयाँ विकल्प
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अब अन्तर्रा्ष्ट्रिय उडान मात्रै गरिनुपर्छ । डोमेस्टिकतर्फको उडानका लागि विकल्प खोजिनुपर्छ । यसका लागि हामीले काभ्रेको धुलिखेल रोजेका छौँ । यस विषयमा छलफल अघि बढिसकेको छ । अबको सात दिनभित्र यसको टुंगो लाग्नेछ । त्यसो हुन सके त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उडानको चाप स्वतः घट्नेछ ।

३ प्रदेशस्तरीय स्टेसन केन्द्र, पूर्व र पश्चिमका उडान उतैबाट
मुलुकभर उडान भर्ने डोमेस्टिकतर्पmको केन्द्र पनि काठमाडौंमै छ । अब डोमेस्टिकतर्फका जहाज प्रदेशस्तरीय स्टेसन केन्द्रबाट पनि उड्ने व्यवस्था हुनेछ । जस्तो, पूर्वतर्फ उडान भर्ने जहाजका लागि विराटनगरमा स्टेसन केन्द्र राखिनेछ । पूर्वी नेपाल र आसपासका क्षेत्रमा उडान भर्ने जहाज त्यहीँबाट सञ्चालन हुनेछन् । पश्चिमतर्फ उडान भर्ने जहाजका लागि पोखरामा स्टेसन केन्द्र राखिनेछ । पश्चिम नेपाल र आसपासका क्षेत्रमा उडान भर्ने जहाज त्यहीँबाट सञ्चालन हुनेछन् । यसले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको अहिलेको चापलाई तत्काल नियन्त्रण गर्नेछ । यो काम सुरु भइसकेको छ । यो अन्तिम विकल्प होइन, तर तत्कालका लागि यसले पनि फरक ल्याउनेछ । केही दिनभित्रै जनताले यसको अनुभूति गर्न सक्नेछन् । (नयाँ पत्रिका दैनिक)