बुटवलमा खोप भण्डार केन्द्र शुरु

बुटवलमा खोप भण्डार केन्द्र शुरु


– चन्द्रकान्त खनाल

बुटवल उपमहानगरपालिकाले खोप भण्डारण केन्द्र सञ्चालन गरेको छ । खोपको सुरक्षित भण्डार गर्दै उपमहानगरपालिकामा रहेका नगर स्वास्थ केन्द्रहरुमा वितरण गरिने छ । यो केन्द्र सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा)मा राखिएको छ । यसअघि खोप लिन भैरहवा जानुपर्ने अवस्था थियो ।
केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख शिवराज सुवेदीले स्वास्थ जस्तो संवेदनशील क्षेत्रमा कुनै पनि हेल्चेक्राइँ नगर्न आग्रह गरे । प्रमुख सुवेदीले खोप भण्डारण केन्द्रको स्थापनाले नगरलाई स्वास्थ्यको क्षेत्रमा थप आत्मनिर्भर बनाएको पनि बताए ।

उपमहानगरमा रहेका ५ वटा नगर स्वास्थ केन्द्रमा रहेका स्वास्थकर्मीहरुलाई निर्देशन दिँदै प्रमुख सुवेदीले प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन जरुरी रहेकोमा जोड दिए । त्यसक्रममा अस्पतालका निर्देशक विनोद पराजुलीले सिङ्गो उपमहानगर क्षेत्रको खोप भण्डारण केन्द्र आम्दामै स्थापना गर्न पाउनु आफ्नो संस्थाको लागि समेत गर्वको कुरा भएको बताए । उनले केन्द्रका लागि आवश्यक पर्ने सहयोग र सहकार्यका लागि आफुहरु तयार रहेको जानकारी दिए ।

केन्द्रमा बुटवल उपमहानगरपालिका मातहतका स्वास्थ्यकर्मीहरु खटिन्छन् । उनीहरुले त्यहीँबाट निःशुल्क औषधिका बारेमा पनि पैरवी र सहयोगका काम गर्नेछन् । उनीहरुले सेवा प्रवाहका बारेमा नगरप्रमुख र स्वास्थ्य शाखा हेर्ने नगरका अधिकारीलाई नियमित जानकारी गराउनेछन् । उप–महानगरपालिकाले स्थापना गरेको यो खोप भण्डारण केन्द्रबाट उप–महानगरपालिका क्षेत्रमा रहेका स्वास्थ्य संस्था एवं खोप केन्द्रहरुलाई आवश्यक खोप वितरण गरिनेछ ।
विगतमा क्षेत्रीय मेडिकल स्टोर बुटवलबाट खोप जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देही भैरहवा लगि त्यहाँवाट पूनः बुटवलका स्वास्थ्य संस्थाहरुमा वितरण हुँदै आएको थियो । यसरी ढुवानी गर्दा संवेदनशिल खोपहरुमा क्षति पुग्ने जोखिम बढेको भन्दै स्वास्थ्यकर्मीहरुले गुनासो गर्दै आएका थिए ।

बुटवल उप–महानगरपालिकाको विशेष पहलमा पहिलोपटक बुटवलमा यो केन्द्र स्थापना भएको हो । योसँगै यस क्षेत्रका लागि आवश्यक खोप क्षेत्रीय मेडिकल स्टोर बुटवलबाट एकमुष्ट बुझी खोप भण्डारण केन्द्रमा सुरक्षित भण्डारण गरिने डा. केसीले जानकारी दिए । विगतको दोहोरो ढुवानीको समस्या हटेको छ भने स्वास्थ्य संस्थाहरुले नजिकैबाट खोप लिन र वढी भएको खोप फिर्ता गर्न सहज भएको छ ।

केन्द्रमा हाल दुईवटा खोप राख्ने फ्रिज जडान गरिएको छ भने अर्को थप नयाँ फ्रिज ल्याउने तयारी भइरहेको छ । बुटवलमा हाल वर्षभरीमा पाँच सय ५२ खोप सेसनहरु सञ्चालन हुँदै आएका छन् । यस क्षेत्रमा बीसीजी खोप ११ हजार ४०, डीपीटी हेप वी हिव १२ हजार तीन सय ८०, एमआर ११ हजार छ सय ७० तथा टीटी १० हजार ५० र जेई तीन हजार पाँच ११ जनाले वार्षिक रुपमा लगाउने गरेको डाक्टर केसीले जानकारी दिए ।