नेपाली अमेरिकन अर्थशास्त्री जोन बेट्स क्लार्क-२०१८ मेडलद्वारा सम्मानित

नेपाली अमेरिकन अर्थशास्त्री जोन बेट्स क्लार्क-२०१८ मेडलद्वारा सम्मानित


सिसृक्षा ढकाल, लसएन्जलस । नेपाली अमेरिकन अर्थशास्त्री पराग पाठक जोन बेट्स क्लार्क-२०१८ मेडलद्वारा सम्मानित भएका छन् । अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पुऱ्याएवापत पाठकलाई जोन बेट्स क्लार्क-२०१८ मेडल प्रदान गर्न लागिएको हो ।

अमेरिकी बजार अर्थशास्त्रको क्षेत्रमा अनुशन्धानरत ४० वर्षभन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने सो अवार्ड प्राप्त गर्ने पाठक पहिलो नेपाली अमेरिकन हुन् ।

म्यासाच्युसेटस इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापन गर्दै आएका ३७ वर्षीय पाठकको योगदानको कदर गर्दै अवार्ड प्रदान गर्न लागिएको जनाएको छ ।

इकोनोमिक एशोसिएसनले सार्वजनिक विद्यालयको शिक्षा प्रणाली सुधार गर्न अमेरिकी बजार अर्थशास्त्रको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुऱ्याएको जनाउँदै जोन बेट्स क्लार्क-२०१८ मेडलद्वारा सम्मानित गरिएको बताएको छ ।

सन् १९८० मा जन्मिएका ३७ वर्षीय पाठक बाबुआमाको साथमा अमेरिकाको न्यूयोर्क शहर पसेका र उनले यहीँ अध्ययन गरेका थिए । पाठकले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन् ।

‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा उनले व्यवसायिक अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका छन् भने सन् २००२ देखि सन् २००३ सम्म उनले अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलोका रुपमा सेवा गरेका थिए ।