डेढ वर्ष पछि कास्की नेविसंघमा नयाँ नेतृत्व

डेढ वर्ष पछि कास्की नेविसंघमा नयाँ नेतृत्व


विवादका कारण लामो समयदेखि नेतृत्व रिक्त रहँदै आएको नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ कास्कीले नेतृत्व पाएको छ । करिब ९ बर्षको विवाद र डेढ वर्षको नेतृत्व रिक्तता अन्त्य गर्दै नेविसंघ केन्द्रले नयाँ सभापति नियुक्त गरेपछि नेविसंघ कास्कीको नेतृत्व–अवरोध अन्त्य भएको हो ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई कास्की नेविसंघको सभापति चयन गरेका हुन् । संगठन विस्तार गरी तीन महिनाभित्रै जिल्ला अधिवेशन गर्नुपर्ने जिम्मेवारीसहितको नियुक्ति पत्र हिजो शुक्रबार पठाइएको बुझिएको छ ।

‘बर्षौंदेखिको विवाद र रिक्तताले कास्कीको सांगठानिक गतिविधि कमजोर भैरहेको थियो’, अध्यक्ष महरले भने– ‘रिक्त पदपुर्ति गरेर संगठनलाई चुस्त बनाउन सभापति चयन गरिएको हो ।’ जिल्ला र केन्द्रिय नेताहरुको सुझावका आधारमा थापालाई सभापति बनाएको महरले बताएका छन् ।

नवनियुक्त सभापति थापा यसअघि नै कास्की नेविसंघको कार्यवाहक सभापति भएर काम गरिसकेका व्यक्ति हुन् । २०६० देखि विद्यार्थी राजनीतिमा सक्रिय थापा २०६७ सालमा नेविसंघ कास्कीको सदस्य बनेका थिए । २०६९ मा कास्की नेविसंघ कोषाध्यक्ष, २०७० क्याम्पस समन्वय समितिको सभापति, २०७१ मा कास्की नेविसंघको उपसभापति हुँदै २०७२ कार्यबाहक सभापति भएर काम गरेका छन् । उनी हाल पोखरा विश्वबिद्यालयमा एमविए अध्ययनरत छन् ।