फुटको शिकार बन्यो राजपा नेपाल

फुटको शिकार बन्यो राजपा नेपाल


आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सव मनाइरहेकै बेला राष्ट्रिय जनता पार्टी (नेपाल) विभाजित भएको छ । राजपाका उपाध्यक्ष अशोककुमार यादवले पार्टीका केही पदाधिकारी तथा केन्द्रीय सदस्यलाई अलग्याएर आफ्नो नेतृत्वमा राष्ट्रिय जनता पार्टी (लोकतान्त्रिक) गठन गरेका छन् । नयाँ पार्टीको महाधिवेशन नहुन्जेल यादवकै संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति गठन भएको घोषणा गरिएको छ ।

राजपा (लोकतान्त्रिक) कार्यसमितिको सहसंयोजकमा रीतेशकुमार सिंह, कोषाध्यक्षमा मधुमाया यादव, महासचिवमा सुवासचन्द्र बिराजी, महासचिवमा जीवन साह तथा सचिवमा साधना यादव र लक्की शर्मा, प्रवक्तामा दीपेन्द्र यादव एवं सदस्यमा धर्मराज गुप्ता, विपना आचार्य र शम्भु पण्डित रहेका छन् ।

संयोजक यादवले मधेश आन्दोलनमा ६३ मधेशीले ज्यान गुमाए पनि यसको फाइदा र उपलब्धि भनेको अहिलेको राजपा नेपालका अध्यक्षमण्डलका ६ जना र उनीहरुका परिवारले मात्रै पाएको आरोप लगाउँदै ‘राजपाले मधेशी जनताको मूल कार्यसूची छाडेर सत्तामा जाने गृहकार्य गरिरहेकाले’ आफूहरुले नयाँ पार्टी गठन गरेको बताए ।

सहसंयोजक सिंहले पार्टीमा आफू केन्द्रीय सचिव भए पनि अलोकतान्त्रिक प्रणालीबाट अध्यक्षमण्डलले जथाभावी निर्णय गर्ने गरेको आरोप लगाउँदै जुन राजनीतिक विषयका लागि आन्दोलन भएको थियो, त्यसमा पार्टी नेतृत्वले कार्य गर्न सकेन भन्नुभयो । राजपाबाट ३३ केन्द्रीय सदस्य अलग्गिएर निर्माण भएको नयाँ पार्टीले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई वैचारिक दृष्टिकोणमा समावेश गर्ने छ ।

राजपाको चियापान

यसैक्रममा राष्ट्रिय जनता पार्टी नेपालले आफ्नो स्थापनाको पहिलो वार्षिकोत्सवको अवसरमा शुक्रबार राजधानीमा शुभकामना तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेल, संघीय समाजवादी फोरम नेपालका नेता डा. शिवजी यादव तथा प्रधानसेनापति राजेन्द्र क्षेत्री, नेपालका लागि भारतीय राजदूत डा मन्जिभसिंह पुरी, नेपालका लागि संयुक्त राष्ट्रसंघका प्रतिनिधि भ्यालेरी जुलियाण्ड, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, उद्योगी, व्यवसायी तथा समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति सहभागी थिए ।

मुलुकको चौथो ठूलो राजनीतिक दल राजपाको ६ सदस्यीय अध्यक्षमण्डलमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव छन् । तराई–मधेश केन्द्रित राजनीतिक दलबीच २०७४ साल वैशाख ७ गते एकीकरण भएसँगै राजपा गठन भएको हो । राजपाका प्रतिनिधिसभामा १७ र राष्ट्रियसभामा दुई सांसदको प्रतिनिधित्व छ ।

प्रदेशसभातर्फ राजपाका प्रदेश नं २ मा २५, प्रदेश नं ५ मा एक तथा प्रदेश नं ७ मा दुई सदस्यले प्रतिनिधित्व गर्दै आउनुभएको छ । स्थानीय तहमा २५ प्रमुख एवम् अध्यक्ष तथा ३१ उपप्रमुख एवम् उपाध्यक्ष निर्वाचित भएको राजपाको हाल झण्डै डेढ लाख क्रियाशील सदस्य रहेको महासचिव केशव झाले जानकारी दिनुभयो । मुलुकका ३० जिल्लामा संगठन रहेको राजपाका ८१३ केन्द्रीय सदस्य र १३३ पदाधिकारी रहेको बताइएको छ ।

तस्बिर रासस