पढ्न पाउँदैनन् फरक क्षमता भएका बालबालिका

पढ्न पाउँदैनन् फरक क्षमता भएका बालबालिका


– किशोर बुढाथोकी/सिन्धुपाल्चोक

पाँच वर्ष अघिदेखि नेपाल सरकारले सबै बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउन हरेक शैक्षिक सत्रको सुरुआतमा भर्ना अभियान गर्ने गरेको छ । शिक्षाको उज्यालो घामबाट कुनै पनि बालबालिका वञ्चित हुन नपरोस् भन्ने मूल ध्येयका साथ कुनै पिछडिएको समुदाय सेवा क्षेत्र भएको विद्यालयबाट भर्ना अभियानको सुरुआत गरिन्छ ।

सम्भवत ः एक गाउँमा एक जना मात्रै हुन सक्ने फरक क्षमता भएका बालबालिका कुनै सरकारी कार्यालय या शैक्षिक अभियन्ताको नजरमा नपर्दा उनीहरूले विद्यालयको अनुहार देख्न पाएका छैनन् । सुस्तश्रवण, बहिरा, दृष्टिविहीनहरूले शिक्षाको उज्यालो घाम नपाएका हुन् ।

नेपाल सरकारले सबै नागरिकमा शिक्षाको पहुँच पुऱ्याउन विभिन्न अभियान सञ्चालन गरेको छ । सरकारले विभिन्न उमेरसमूहलाई लक्षित गरी ‘सबैका लागि शिक्षा’ कार्यक्रम लागू गऱ्यो । प्रौढका लागि औपचारिक/अनौपचारिक शिक्षादेखि ग्रामीण भेगका विद्यार्थीहरूमा बीचैमा पढाई छाड्ने क्रम बढेपछि भर्ना अभियानसमेत सुरु भयो ।

शैक्षिक सरोकारवालाको तल्लो निकायदेखि साविक जिल्ला शिक्षा कार्यालयसम्मको जनशक्तिले विद्यालय बाहिर रहेका र बीचैमा पढाई छाडेका बालबालिकाको तथ्याङ्क सार्वजनिक गरेर विद्यालय टिकाउने विविध जुक्तिका साथ नयाँ तथा पुनः भर्ना गराईरहेको छ । यस वर्षको भर्ना अभियानलाई प्रदेश नं. ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले औपचारिक रुपमा सुरुआत गरेका छन् ।

भर्ना अभियान सुरु भएयता बीचमा कार्यालयले अपेक्षाभन्दा बढी बालबालिकालाई विद्यालय प्रवेश गराएको पनि छ । यसलाई नेपाल सरकारको ‘सबैका लागि शिक्षा’ कार्यक्रमलाई सफल बनाउने एउटा गतिलो सुरुवात मान्न सकिन्छ । तर, सबै बालबालिकालाई विद्यालयको पहुँचमा पुऱ्याउन नसक्दा चुनौतिको अवस्था पनि डरलाग्दो नै छ ।

फरक क्षमता भएका बालबालिकाका लागि शिक्षा दिन निकै चुनौती रहेको चौतारा साँगाचोकगढी नगरपालिका ५ का वडाध्यक्ष नरमान श्रेष्ठ बताउँछन् । ‘सबै बालबालिकालाई अनिवार्य निशुल्क शिक्षा दिने अभियानमा रहे पनि फरक क्षमता भएकाहरूलाई निकै समस्या देखेका छौं,’ उनले भने, ‘सुस्तश्रवण, दृष्टिविहीन बालबालिकालाई सबै विद्यालयमा अध्यापन गराउन नसकिने र परिवारबाट विछोड गराउन पनि समस्या छ ।’ उनले जनप्रतिनिधि, स्थानीय समाजसेवी र सरोकारवाला निकाय मिलेर फरक क्षमता भएका बालबालिकाको खोजी गरी विद्यालय भर्ना गराउन पहल गरिने बताए ।

अहिले जिल्लामा ६ सय ४२ बालबालिका शिक्षाको मूलधारमा छैनन् । सुगम मानिएको चौतारा साँगाचोकगढी नगरपालिकामा एक सय भन्दा बढी विद्यालय उमेर समूहका बालबालिका विद्यालय पहुँचमा नभएको तथ्यांक सार्वजनिक छ । तथ्यांक अनुसार साविक सानोसिरुवारीमा १८, ठूलोसिरुवारीमा ३५, साँगाचोकमा ३०, पीपलडाँडामा ११ लगायतका बालबालिका शिक्षाको मूलधारमा छैनन् । अझ विशेषगरि सुस्तश्रवण, बहिरा, दृष्टिविहीन विद्यार्थीलाई विद्यालयको ढोकामा ल्याउन सकिएको छैन ।

यस्ता फरक क्षमता भएका बालबालिकाहरू नजिकै उनीहरूका लागि अनुकुल विद्यालय नहुँदा शिक्षाको मूलधारमा आउन नसकेका हुन् । उनीहरूलाई प्रदान गरिने शैक्षिक सामग्री, दक्ष शिक्षकका कारण फरक क्षमता भएकाहरूलाई विद्यालयमा ल्याउन निकै चूनौति रहेको हो । साविक जिल्ला शिक्षा अधिकारी एवं हालका जिल्ला शिक्षा विकास तथा समन्वय अधिकारी गौरीशंकर पाण्डे गाउँपायक विद्यालय नहुँदा समस्या भएको र उनीहरू शिक्षाको मूलधारबाट वञ्चित रहेको बताउँछन् । ‘त्यस्ता विद्यार्थीलाई सरकारी सहयोग पनि छ, तर पारिवारिक रुपमा टाढा लैजान समस्या छ,’ उनी भन्छन्, ‘जिल्लामा रहेका केही विद्यालयमा फरक क्षमता भएका बालबालिकालाई अध्यापन गराउने शिक्षक, शैक्षिक सामग्रीको व्यवस्था गर्नका लागि पहलकदमी गर्नु जरुरी छ ।’

जटिल समस्या फरक क्षमता भएका बालबालिकाहरूका लागि हो । सरकारले निकै ठूलो धनराशी खर्चिएर, उचित व्यवस्थापन गर्न सके मात्रै सबै फरक क्षमता भएका बालबालिका शिक्षाको मूलधारमा ल्याउन सकिन्छ । अन्यथा यो निकै चुनौतीपूर्ण कार्य हो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ शिक्षाले सबै बालबालिका समेट्नुपर्नेमा जोड दिन्छन् । ‘सबै ठाउँमा फरक क्षमता भएका बालबालिकालाई अध्यापन गराउन आर्थिक समस्याले पिरोल्छ,’ उनी भन्छन्, ‘तर, उचित व्यवस्थापन गरी सबैलाई समेट्ने गर्नका लागि आवश्यकता हेरिनेछ ।’ उनले जिल्लामा विद्यालयमा फरक क्षमता भएका बालबालिका भर्नाका लागि आएको जानकारी नभएको बताए ।

साविक जिल्ला शिक्षा कार्यालयले पछिल्लो वर्ष गरेको सर्वेक्षण अनुसार बिद्यालय बाहिर रहेका ६ सय ४६ बालबालिकालाई भित्राउने र जिल्लाभरका झण्डै ८३ हजारलाई भर्ना गराउने लक्ष्य राखेको छ । तर, यो तथ्यांक भित्र फरक क्षमताका कति बालबालिका पर्छन् भन्ने एकिन छैन । अहिले चौतारा साँगाचोकगढी नगरपालिकामा रहेको वनदेवी मावि र जनजागृति माविमा गरी फरक क्षमता भएका कुल २५ बालबालिका अध्ययनरत छन् । दृष्टिविहीनलाई अध्यापन गराउने वनदेवीमा १४ बालबालिका अध्ययनरत छन् । बाह्रविसेमा सिन्धु बहिरा आधारभूत विद्यालय सञ्चालित छ । यी संगै हालको जिल्ला शिक्षा विकास तथा समन्वय कार्यालय, नगरपालिकाले गाउँ सर्भे गरेर सबै फरक क्षमता भएका बालबालिकालाई शिक्षाको मूलधारमा ल्याउनुपर्ने जरुरी देखिन्छ ।