प्रविधिले नसकेपछि परम्परागत शैलीको प्रयोग : यसरी फेला परे मनाङ्गे

प्रविधिले नसकेपछि परम्परागत शैलीको प्रयोग : यसरी फेला परे मनाङ्गे


कुख्यात गुण्डा नाइके ‘दीपक मनाङ्गे’ भनिने राजीव गुरुङलाई पक्राउ गर्न नेपाल प्रहरीले आधुनिक प्रविधीको प्रयोग नगरी परम्परागत सूचना शैलीको प्रयोग गरेको जानकारी प्राप्त भएको छ ।

टेलिफोन, ईमेल, इन्टरनेट लगायत आधुनिक सूचनाका प्रविधिलाई छलेर बस्ने गरेका हुँदा मनाङ्गेलाई परम्परागत शैली अपनाएर पक्राउ गरेको बताइन्छ । काठमाडौं प्रहरी परिसर प्रमुखको जिम्मेवारी एसएसपी विश्वराज पोखरेललाई मिलेपछि उनले विशेष कार्ययोजना बनाएर मनाङ्गेलाई पक्राउ गर्ने सफलता प्राप्त गरेको प्रहरी सूत्रको भनाई छ ।

‘दीपक मनाङ्गेलाई पक्राउ गर्न ‘रेड कर्नर नोटिस’ नै जारी गरेपछि उसलाई पक्राउ गर्नु र अदालतसमक्ष उपस्थित गराउनु प्रहरीको निम्ति चुनौतिको विषय बनेको थियो ।’ यस सन्दर्भमा जिज्ञासा प्रकट गर्दा एसएसपी विश्वराज पोखरेलले भने, ‘कैद तोकिएको ब्यक्ति फरार रहेकोले उसलाई कसरी पक्राउ गर्ने भन्ने योजना मैले बनाएँ । सोही अनुरुप मनाङ्गेलाई पक्राउ गर्न हामी सफल भयौं ।’

एसएसपी पोखरेलका अनुसार फरार अभियुक्त मनाङ्गेलाई पक्राउ गर्नका लागि २ महिनादेखि योजना बनाएको र विगत १५ दिनदेखि चौविसै घण्टा खोजी कार्य जारी राखिएको थियो । सारा प्रविधिको प्रयोगबाट मनाङेलाई समात्न असफल भएको स्पष्ट गर्दै पोखरेलले भने, ‘हामी परम्परागत सूचना प्रणालीलाई अबलम्बन गरेर फरार अभियुक्तलाई समात्न सफल भयौं ।’

संरक्षण मिल्न सक्ने विभिन्न ठाउँ र व्यक्तिहरुको सूचना विश्लेषण गर्दा मनाङ्गे स्वयम्भू आसपास हुन सक्ने संकेत पाइएपछि प्रहरीले एक व्यक्तिको घरमा लुकीछिपी बसेको अवस्थामा निजलाई पक्राउ गरेको हो ।

चक्रे मिलन भनिने मिलन गुरुङलाई दीपक मनाङ्गेले धारिलो हतियार प्रहार गरी बायाँ हात छिनाली दिएको घटनामा पुनरावेदन अदालत, पाटनबाट पाँच वर्ष कैद सजाय हुने गरी फैसला भएको थियो । उक्त फैसलालाई सदर गर्ने गरी सर्वोच्च अदालतसमेतबाट निर्णय भई उक्त मुद्दा अन्तिम किनारा लागिसकेको छ ।

मनाङ्गेको खोजीका लागि प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गर्न पत्राचारसमेत गरेको थियो । गत मंसिर १० गते भएको प्रदेशसभा सदस्य निर्वाचनमा मनाङबाट निर्वाचित मनाङ्गे सर्वाेच्चको निर्णयपछि फरार भएका थिए ।