मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो

मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट जोगियो


त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट मलेसियाको क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्दो एयरको जहाज ठूलो दुर्घटनाबाट बचेकोे छ । जहाज धावनमार्गबाट चिप्लिएर घाँसे मैदानमा जोतिन पुगेको हो ।

उडान नम्बर ओडी १८१ जहाज बिहीबार राति पौने १० बजे १३९ यात्रु लिएर मलेसिया जान लागेको थियो ।

विमानस्थलका एक अधिकारीले भने, ‘जहाज टु जिरो अर्थात उत्तरी भागबाट दक्षिणी भाग अर्थात् जिरो टु तर्फ जहाज गइरहेको थियो ।’ उनले भने, ‘धावनमार्गमा जहाज मोडिएर पुनः उत्तरी भागतर्फ फर्कने बेला धावनमार्ग छोडेर झण्डै १३९ फिट पर घाँसे मैदानमा गएर भासियो ।’

यसपटक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलभित्र ठूलो दुर्घटना टरेको नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले बताए । गौतमका अनुसार जहाजमा सवार गर्न लागेका सबै यात्रु र चालक दलका सदस्यहरु सुरक्षित रहेका छन् ।

यसअघि युयस बंगला एयरको जहाज पनि अवतरणको क्रममा दुर्घटना भएको थियो । जहाँ ५० जनाको मृत्यु भएको थियो ।