ट्रकले दुई बसलाई ठक्कर दिँदा १३ घाइते

ट्रकले दुई बसलाई ठक्कर दिँदा १३ घाइते


काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई अहिले बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा आज बिहान ३ः२० बजे दुर्घटना भएको हो ।

काठमाडौँबाट प्यूठान जान आउँदै गरेको ना ४ ख ६५९१ नंको बस र काठमाडौँबाट वीरगञ्ज जान आउँदै गरेको ना ७ ख ५०२३ नंको बसलाई भैरहवाबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ५२९४ नंको ट्रकले ठक्कर दिएको हो ।

दुर्घटनामा परी प्यूठानतर्फ जान आउँदै गरेको बसका चालकसहित १२ यात्रु घाइते र ट्रकका चालकसहित १३ घाइते भएका छन् । घाइतेमध्ये दुईजनाको चितवन मेडिकल कलेज र ११ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गम्भीर घाइते हुनेमा ट्रक चालक कपिलवस्तु चिरुरीका ४१ वर्षीय कृष्ण चौधरी र बसका यात्रु प्यूठान खलंगाकी ६० वर्षीया सावीदेवी घर्तीमगर र प्यूठानकै नौगिरीटारकी २७ वर्षीया पवित्रा घर्तीमगर रहेका छन् ।