नेकपाका नेताहरु गिरफ्तार

नेकपाका नेताहरु गिरफ्तार


पछिल्ला केही सातायता नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि विशेष निगरानी र गिरफ्तार गर्दै आएको केपी ओली नेतृत्वको सरकारले आज धनुषाबाट नेकपाका केही नेता कार्यकर्तालाई पक्राउ गरेको छ । धनुषा प्रहरीले सो पार्टीका केन्द्रीय नेताहरुलाई नै नियन्त्रणमा लिएको बताइएको छ । नेकपा सुत्रका अनुसार आज बिहान पूर्वसभासद तथा नेकपाका केन्द्रीय सल्लाहकार रामलखनको महतोको घर रहेको महेन्द्रनगर बजारबाट उनीहरुलाई गिरफ्तार गरिएको हो ।

बताइएअनुसार विप्लव नेतृत्वको सो पार्टीका केन्द्रीय सदस्य तथा मधेशी मुक्ति मोर्चा नेपालका अध्यक्ष देवनारायण शाह, केन्द्रीय सल्लाहकार समितिका सदस्य रामलखन महतो, धनुषा जिल्ला इन्चार्ज राजु कार्की र सहिद तथा बेपत्ता परिवारका धनुषा जिल्ला अध्यक्ष यादव कवारीलाई धनुषा प्रहरीले गिरफ्तार गरेको हो।

गिरफ्तारीमा परेका नेताहरु पार्टी संगठनको विशेष कामले जम्मा भएका थिए । आफ्नो पार्टीका नेताहरुलाई बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै नेकपा पूर्वी कमान्ड इन्चार्ज विरहीले एक विज्ञप्ति जारी गर्दै बिना सर्त रिहा गर्न माग गरेका छन् । अविलम्ब नेताहरुलाई रिहा नगरे पार्टीले संघर्षको कार्यक्रम घोषणा गर्ने विरहीले बताएका छन ।

मूल्यवृद्धिको विरोध

यसै क्रममा पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेकामा विभिन्न जनवर्गीय संगठनहरुले संयुक्त प्रेस विज्ञप्तिमार्फत विरोध जनाएका छन् । बनमपन्थी भनिएको ओली नेतृत्वको सरकारले जनताको ढा सेक्ने गरी गरेको मूल्यवृद्धिले जनजीवनमा प्रत्यक्ष नकारात्मक असर परेको भन्दै विज्ञप्ति जारी गर्नेहरुमा अखिल नेपाल महिला संघ क्रान्तिकारीका अध्यक्ष बन्धु चन्द, अखिल नेपाल किसान संघ (क्रान्तिकारी)का अध्यक्ष सविता सिंह, योंग रेड फोर्सका अध्यक्ष बाबुराम राई, अखिल (क्रान्तिकारी)का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यालय सदस्य गोकुल दाहाल र अखिल नेपाल जनसांस्कृतिक महासंघका महासचिव खेम थपलिया रहेका छन् । संयुक्त विज्ञप्तिमार्फत उनीहरुले सरकारका जनविरोधि क्रियाकलापविरुद्ध उत्रन आमजनतालाई आग्रह गरेका छन् ।