उद्योगको सुरक्षा गर्न सरकार तयार : गृहमन्त्री थापा

उद्योगको सुरक्षा गर्न सरकार तयार : गृहमन्त्री थापा


उद्योगको सुरक्षा गर्न सरकार तयार रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । उद्योगको विकास विना देश समृद्ध बन्न नसक्ने भन्दै उनले शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि सरकारले तयारी थालिसकेको बताउँदै यस्तो बताएका हुन् ।

चितवनको कालिका नगरपालिका–६ स्थित जुटपानी प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवनको बुधबार उद्घाटन गर्दै मन्त्री थापाले शक्तिखोरमा बन्न लागेको औद्योगिक क्षेत्रको सुरक्षाका लागि इलाका स्तरको प्रहरी कार्यालय स्थापना गर्न सरकार सकारात्मक रहेको बताए । जनता स्वस्थ रहे नै देशले समृद्धि हासिल गर्ने भन्दै स्वास्थ्य केन्द्रहरुको स्तर वृद्धि समेत गर्दै लैजानुपर्नेमा मन्त्री थापाको जोड थियो ।

कार्यक्रममा बोल्दै गृहमन्त्री थापाले एक अर्को प्रसंगमा भने, ‘भ्रष्टाचारलाई निर्मूल पार्नका निम्ति हामी कठोर कदम चाल्दैछौँ, अपराध, कुनै प्रकारको एकाधिकार र सिण्डिकेटको विरुद्ध सरकार कडा रुपमा लाग्नेछ ।’

यातायात व्यवसायीको सिण्डिकेटविरुद्धको अभियान शुरु भइसकेको भन्दै उनले अरु सिण्डिकेटविरुद्ध पनि सरकार अघि बढ्ने उनको भनाइ थियो । चितवनका विभिन्न आधा दर्जन कार्यक्रममा सहभागी भएका उनले साँझ भएको उक्त शिलान्यास कार्यक्रममा बोल्दै सबैले प्रतिस्पर्धा गर्ने अवसर पाउनुपर्ने धारणा राखे । मुठ्ठिभरका मान्छेमात्र समृद्ध हुने अरु चाहीँ दरिद्र हुने अवस्थाको अन्त्य गर्न चाहेको पनि उनले बताए ।

गृहमन्त्री थापाले छुट्टै किसिमको सुरक्षा नीति बनाउन लागेको समेत जानकारी दिदै उनले शान्ति सुरक्षामा मन्त्रालयले कुनै कसर बाँकी नराख्ने समेत बताए । नेपाललाई एउटा नमुना स्वास्थ्य केन्द्रकोरुपमा विकास गरी नेपालमा स्तरीय स्वास्थ्य सेवा दिन सके उपचारका लागि विदेशी समेत आउन सक्ने भन्दै मन्त्री थापाले उच्चस्तरको स्वास्थ्य सेवामा ध्यान दिनुपर्नेमा जोड दिए ।