बामपक्षधर यातायात व्यवसायीको बेग्लै चाल

बामपक्षधर यातायात व्यवसायीको बेग्लै चाल


यातायात व्यवसायीहरूले अघोषित रूपमा अपनाउँदै आएको सिण्डिकेट प्रणालीविरुद्ध सरकारले कडा कदम उठाएपछि यातायात क्षेत्रमा दबदबा कायम गर्दै आएका व्यवसायीहरू तिल्मिलाउन पुगेका छन् । वर्षौंदेखि आमयात्रुलाई सास्ती खेपाउँदै भाडामा ‘लुट’ मच्चाउँदै आएका सिण्डिकेटवादी व्यवसायीहरूको हितमा खुलेका यातायात व्यवसायी समितिहरूले संयुक्त पत्रकार सम्मेलन गरी आन्दोलनको घोषणासमेत गरेका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी सङ्घ, नेपाल प्ट्रोलियम ढुवानी व्यवसायी महासङ्घ, ढुवानी व्यवसायी महासङ्घ नेपाल र नेपाल पेट्रोलियम डिलर राष्ट्रिय एशोसियसन नामक संस्थाहरूले संयुक्त आन्दोलनको घोषणा गरेका हुन् । व्यवसायीका आन्दोलन कार्यक्रममा सरकारलाई ज्ञापनपत्र बुझाउनेदेखि, यातायात कार्यालय घेराउ, कोणसभा र नेपालभरका सार्वजनिक सवारी साधन ग्यारेजमा थन्क्याउनेसम्म रहेका छन् ।

उनीहरूले वैशाख २७ गतेदेखि सवारी साधन ग्यारेजमा थन्क्याउने उदघोष गरेका छन् । विगतमा प्रयोग गरिँदै आएको ‘यातायात हडताल’ या ‘यातायात ठप्प’ जस्ता शब्द प्रयोग नगरी सिण्डिकेटवादी व्यवसायीले ‘सवारी साधन ग्यारेजमा थन्क्याउने’ भन्ने नरम शब्द बडो चतुर्याइँका साथ प्रयोग गरेका छन् । हडताल या ठप्प जस्ता शब्दका कारण सर्वसाधारण जनता व्यवसायीसँग झनै रुष्ट हुने बुझेर उनीहरूले यस्तो शब्द चयन गरेको सहजै अनुमान लगाउन सकिन्छ । आखिर ग्यारेजमा थन्क्याउने भने पनि त्यो यातायात हडतालकै रूप हो, जसले आमयात्रुलाई असुविधा पुग्नेछ ।

यसरी आन्दोलनको मानसिकतामा पुगेका व्यवसायीहरूबीच सरकारले तोडेको सिण्डिकेटको विषयमा भने फाटो रहेको देखिएको छ । हिजो पत्रकार सम्मेलनमा संयुक्त आन्दोलनको घोषणा गरेका यातायात व्यवसायीहरूका अधिकांश नेताहरू ४ बजेपछि गृहसचिवलाई भेट्न पुगेका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यलाई बाहेक गरी गृहसचिवकहाँ पुग्ने व्यवसायी नेताहरूमा हालै अध्यक्षमा पराजित डोलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष दीपक अधिकारी, महासचिव सरोज सिटौला, भरत तिमल्सिना, हेमेन्द्र शेरचनलगायत थिए । उनीहरूले सचिवसमक्ष आफूहरूलाई ‘संयुक्त बाम गठबन्धन’का तर्फबाट आएको प्रतिनिधिमण्डल भनेर चिनाएका बुझिन्छ ।

रोचकचाहिँ के भयो भने दिउँसो योगेन्द्र कर्माचार्यसहित उपस्थित पत्रकार सम्मेलनमा सरकारको कदमविरुद्ध आन्दोलन गर्ने भनी सहमति जनाएका तिनै व्यवसायी नेताहरूले सचिवसमक्ष ‘आफुहरू सरकारले सिण्डिकेटविरुद्ध चालेको कदमको विरोधि नरहेको, सघाउन तयार रहेको’ अभिव्यक्ति दिएका थिए । जनताको हितमा सरकारले गर्ने काममा हामी सहयोग गर्न तयार छौँ भनी उनीहरू पग्लिएका थिए । तीमध्ये यातायात व्यवसायी हेमेन्द्रले चाहिँ आफुहरू कम्पनी प्रा.लि.बाट यातायात सञ्चालन गर्न तयार रहेको तर वीमाको व्यवस्था सरकारले गरिदिनुपर्ने भनी कुरा उठाएका थिए ।

यो सन्दर्भले के खुलासा गरिदिएको छ भने आफूलाई प्रजातन्त्रवादी (नेपाली काङ्ग्रेस पक्षधर) भनी चिनाउन चाहने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यलाई उनकै कार्यसमितिका पदाधिकारीहरूले गम्भीर घात तथा असहयोग गरिरहेका छन् । दिउँसो पत्रकार सम्मेलनमा मजदूर सङ्गठनका तर्फबाट उपस्थिति नरहनु र साँझ कार्यसमितिका पदाधिकारीहरू नै सरकाररी कदमको पक्षमा समर्थन जनाउन पुग्नुले यही पुष्टि गरेको छ । यसरी आफ्नैहरूबाट असहयोग खेपिरहेका कर्माचार्य एक्लैले सरकारविरुद्ध कस्तो आन्दोलन हाँक्ने हुन्, रोचक प्रतीक्षाको विषय बनेको यातायात व्यवसायीबीच नै चर्चा छ ।