रुकुमको सेरोफेरो -बबिता बस्नेत

रुकुमको सेरोफेरो -बबिता बस्नेत


माओवादी युद्धको समयमा ६८५ जनाले ज्यान गुमाएको जिल्ला रुकुम जान लाग्दा आफन्तहरूको प्रश्न थियो- रुकुम ? जिन्दगीमा अरू केही दु:ख बाँकी छैन र रुकुम पुग्नुपर्‍यो ? भन्ने स्टाइलमा गरिएको यो प्रश्नले अलिकति झस्काएको पनि थियो । काठमाडौंबाट नेपालगञ्ज हुँदै रुकुमको सदरमुकाम खलङ्गातिर लाग्दा नेपालगञ्ज एयरपोर्टमा कुमभरि ब्यान्डेज गरिएको घाउचोटबीच भेटिइन् जोखमाया मल्ल । कमजोर शरीरकी उनी सौताले खुकुरीले हान्दा घाइते भएकाले नेपालगञ्जमा उपचार गराएर र्फकंदै रहिछिन् । उनका श्रीमान् भीमबहादुर मल्ल स्कुलमा पढाउँदा रहेछन्, उनी भने गाउँकै पारा लिगल कमिटीकी अध्यक्ष । घरेलु हिंसाको कहानी एयरपोर्टबाटै सुरु भएपछि मनमा आफन्तहरूको त्यही प्रश्न दोहोरियो, ‘रुकुम जाने र ? कति दौडिनुपर्ने ?’ नेपाल एयरलाइन्सको सानो जहाज चढेर सल्ले एयरपोर्टतर्फ लाग्दा यी पाइलटहरूलाई त मान्नैपर्छ जस्तो लाग्यो (यस्तो धेरैपटक भएको छ) काठमाडौंबाट जहाज नेपालगञ्ज झरेर यात्रुहरू ओर्लिनासाथ सल्ले एयरपोर्टतिर जाने यात्रुहरू भित्र पसे । कसैले ठूला-ठूला झोला बोकेका, कसैले दुई-तीनवटै त कसैले प्लास्टिकको झोलामा कपडा, तोरीको तेललगायतका भान्साका सामान । कसैले हातमै च्यापे, कसैले छेउमै राखे, जहाज लाग्यो पहाडतिर । अरू देशमा भए सामान छेउमा नराख, सीटमुनि या माथि सामान राख्ने ठाउँमा मात्रै राख, अनेक कुराहरू हुन्थे तर हाम्रा पाइलटलाई ती सब कुराको मतलबै थिएन भने त्यस्तो गर्न थाल्यो भने त बिचरा यी यात्रीहरूले केही सामान नै लान पाउँदैनन् ।
हुन पनि भुटुन हाल्न किनेर ल्याएको तेल बाटामै छोड्नुपर्‍यो भने मन कति खिन्न होला ? फेरि अत्यन्त थोरै सङ्ख्यामा जहाज भएको नेपाल एयरलाइन्सका पाइलटले हतारहतार जहाज उडाएनन् भने अरू गन्तव्यहरू भ्याउन कहाँ सकिन्छ र ?
रुकुमको सल्ले एयरपोर्टमा ओर्लिंदा परिवेश छुट्टै थियो । वरिपरि पहाडैपहाड, शान्त र सुन्दर हरियाली डाँडाहरू, काठमाडौंको विरक्तिलाग्दो प्रदूषणयुक्त कोलाहल, लामखुट्टे नै मर्ने नेपालगञ्जको असह्य गर्मी र रुकुमको स्वच्छ चीसो हावायुक्त शान्त वातावरणबीच कहीँ कतै तुलनै गर्न नमिल्ने भिन्नता थियो । सदरमुकाम खलङ्गा चिटिक्क परेका पहाडी कच्ची र पक्की घरहरूले भरिएको रहेछ । खलङ्गालाई हिजोआज मुसिकोट पनि भन्ने चलन छ, वरपरका जिल्लाहरू प्युठान, सल्यान र जाजरकोटका सदरमुकाम पनि खलङ्गा नै हुन् । चारवटै जिल्लाका सदरमुकामको नाम एउटै कसरी भयो ? खासमा ठूला-ठूला पहाड भएको र राजाहरूले राज गरेको (गढी, किल्ला, कोट) ठाउँलाई खलङ्गा भन्ने चलनअनुरूप यी चारवटै सदरमुकाम उस्तैउस्तै ठाउँमा भएकाले खलङ्गा भनिएको हो । कुनैबेला मोटर पनि पुग्ला भनेर नसोची विकास गरिएको मुसिकोट -खलङ्गा) बजारमा अहिले गाडी पुगेपछि भने असाध्यै साँघुरो बाटोका कारण अप्ठ्यारै छ । डाँडामै बस्ती बसेकाले खुल्ला, सम्म र फराकिला ठाउँहरूको पनि अभाव छ । राजनीतिक पार्टीका नेताहरूलाई आमसभामा मान्छे जम्मा गरेर भाषण गर्ने ठाउँ पनि त्यति छैन । गत हप्ता एमाले अध्यक्ष झलनाथ खनाल रुकुम आउँदा भाषण गर्ने ठाउँकै निहुँमा एमाले र माओवादीबीच भएको झडपको तनाव जिल्लामा अहिलेसम्म सकिएको छैन । स्थानीय स्कुलमा एमालेले आमसभाको तयारी गर्दै गर्दा माओवादीले शैक्षिक संस्थामा आमसभा गर्न पाइँदैन भनेपछि दुई पक्षबीच झडप भएको थियो । सरकारी कार्यालयहरू पनि निकै साँघुरा लाग्छन् । तीसको दशकमा बनाएका कार्यालयहरूमा अहिले कर्मचारी र सेवाग्राही दुवैको चाप बढेको छ तर भौतिक संरचानाहरू भने जस्ताको तस्तै छन् । नेपाल प्रहरी, प्रजिअको कार्यालय, जिल्ला विकास सबैको अवस्था उस्तै छ । अन्य जिल्लामा झैं सरकारी गेस्टहाउस नहुँदा बाहिरबाट आएका नेता या हाकिमहरूलाई बस्नका लागि त्यति सजिलो छैन । फराकिला घरहरू बनाउनलाई सदरमुकाममा खासै ठाउँ पनि छैन । जग्गा नभएकै कारणले होला जग्गाको भाउ काठमाडौंभन्दा बढी नै महँगो छ, मुसिकोट खलङ्गामा जमिनको दाम मिटरको तीन लाखभन्दा माथि रहेछ । अलगअलग ठाउँमा कठ्ठा, आना, हात आदिको प्रचलन भए पनि मिटरमा जग्गा नाप्ने कुरा शायद अरू जिल्लामा छैन । अन्त नसुनिएको अर्को कुरा लोग्नेमान्छेहरू ससुराली जानुलाई माइत गएको भनिँदोरहेछ । पुरुषहरूले म भर्खरै माइतबाट फर्किएको या माइत जान लागेको भन्दा अनौठो लाग्यो । केही समययता मानिसहरूको आवतजावत र चहलपहल निकै बढेको छ । यसको कारण के हुन सक्छ – यातायात या शान्ति – स्थानीयवासीको जवाफ हुन्छ-दुवै ।
समयको कुरा कसैलाई थाहा हुँदैन यो बदलिरहन्छ, समयसँगसँगै धेरै कुराहरू आफैं बदलिन्छन् । त्यसैले त महाभारतमा पटकपटक भनिएको छ, समय बलवान् छ, जे गर्छ समयले नै गर्छ । कुनै बेलाको युद्धभूमि रुकुम अहिले शान्त छ, कुनैबेला रुकुम सरुवा हुनुलाई ठूलै सजाय ठान्ने कर्मचारीहरू मधेसभन्दा त यता कति राम्रो कति भन्ने गर्छन् । मानिसहरूसँग कुरा गर्दा लाग्छ- यति सरल मानिसहरूलाई किन त्यति कठोर बन्न बाध्य पारियो – शान्तिसँगसँगै यहाँ विकास निर्माणका अनेक कार्यहरू जारी छन् । सडक पिच बन्ने क्रममा छ, सदरमुकाम बजारमा व्यापार-व्यवसाय फस्टाएको छ । टेलिभिजन केबुलका कारण कोठामा बसेर विश्वभरका च्यानल हेर्न सकिन्छ । हातहातमा मोबाइल फोन र ठाउँठाउँमा इन्टरनेटहरू छन् । सोलारका कारण गाउँगाउँसम्म उज्यालो पुगेको छ । यति हुँदाहुँदै पनि गरिबी अन्य थुप्रै जिल्लाको जस्तै यहाँको पनि प्रमुख शत्रु हो । बिहान-बेलुका हातमुख जोड्न गाउँलेले धेरै नै मिहिनेत गर्नुपर्छ र कतिको त परिश्रम गर्नलाई ठाउँ पनि छैन । झलमल्ल गाउँहरूबीच राजनीतिक चेतना असाध्यै बढेको छ, राजनीतिक चहलपहलमा भने माओवादी हाबी रहेछ । दुईवटा निर्वाचन क्षेत्र भएको रुकुम माओवादी नेता जनार्दन शर्माको जिल्ला पनि हो । समय यसकारण पनि बलवान् छ कि कुनैबेला रुकुम कुमार मोहनबहादुर शाहीको जिल्ला भनेर चिनिन्थ्यो । अधिराजकुमारी शोभालाई रुकुमकोटस्थित शाहीको घरमा भित्र्याएकै दिनदेखि रुकुमकोट गाविस शोभा गाविसमा परिणत भएको थियो । गणतन्त्रपछि शोभा गाविसलाई पुन: रुकुमकोट नामकरण गरिएको छ । संविधानसभामा दुवै क्षेत्रबाट माओवादीको विजय मात्र भएन, विजयी जनार्दन शर्मा र जुनकुमारी रोकाबाहेक कमला रोका, विमला केसी र लोकेन्द्र बिष्ट गरी अन्य तीनजनासमेत समानुपातिकबाट संविधानसभा सदस्य भए । वाईसीएल अध्यक्ष गणेशमान पुन पनि रुकुमकै हुन्, साथमा माओवादीका अन्य केही केन्द्रीय सदस्यहरू पनि यही जिल्लाका छन् । यता नेपाली काङ्ग्रेस र एमालेमा भने यो जिल्लाबाट न त सभासद् छन् न त केन्द्रीय सदस्य नै । माओवादी युद्धताका नेपाली काङ्ग्रेस सम्बद्ध भएकै कारण ६० जनाले ज्यान गुमाए, १९ जनालाई बेपत्ता पारियो तर एकजना पनि केन्द्रीय प्रतिनिधित्वबिना ‘डिमरोलाइज’ अवस्थामा काङ्ग्रेसलाई निमिट्यान्न हुनबाट बचाउन प्रयत्नरत छन् काङ्ग्रेसीहरू । एमालेको अवस्था पनि खासै फरक छैन । एमालेबाट पनि विगतमा धेरैले ज्यान गुमाए, लडे, भिडे, अझै भिड्दै छन् तर केन्द्रीय प्रतिनिधित्व भने उनीहरूको पनि छैन ।
युद्धका घाउहरू बिस्तारै-बिस्तारै भुल्ने क्रममा छ रुकुम । यद्यपि ती घाउहरूमा खाटा बसाउनका लागि मल्हमपट्टीको व्यवस्था भने कतैबाट गरिएन तर पनि समयले ती सबै खाडलहरू पुर्न मद्दत गरिरहेको छ । सुरक्षाको अवस्थामा अतुलनीय सुधार भएको छ भने राज्यका निकायप्रति जनताको विश्वास बढ्ने क्रममा देखिन्छ । हामी मुसिकोटमै हुँदा नेपालगञ्ज एयरपोर्टमा भेटिएकी घाइते जोखमायाले मुसिकोट जिल्ला प्रहरी कार्यालयमा थुनिएकी आफ्नी सौतालाई छुटाएर लगिन् । भनिन्, ‘श्रीमान्लाई धेरै गाह्रो हुने भो, उहाँले मलाई हेर्नु कि उनलाई भेट्न सदरमुकाम धाउनु, गाउँलेले पनि मिल्ने सुझाव दिए, मैले मुद्दा फिर्ता लिएँ ।’ पहिला भए यस्ता मुद्दा गाउँघरमै जनसरकारले हेथ्र्यो तर अहिले केही परे प्रहरीमै आउँछन् मानिस । अचम्म त के भने जोखमायाका पति शिक्षक भीमबहादुर मल्लले दोस्रो विवाह गर्दाको सजाय भोग्ने क्रममा माओवादी श्रम शिविरमा ६ महिना बिताएका थिए । अहिले सकेसम्म घटनालाई मिलाऊँ भनेर माओवादीकै स्थानीय नेताहरू पनि सदरमुकामसम्म आएर भीमबहादुरको साथ दिए । जयबहादुर बुढालगायतका स्थानीय माओवादी नेताले भने- के गर्ने, जे भए पनि गाउँघरको कुरा, सकेसम्म उनीहरूले दु:ख नपाऊन् भनेर हामी यहाँसम्म आएका हौँ । आफैंले सजाय दिएका व्यक्तिलाई सहयोग गर्न सदरमुकामसम्म आउनुबाट ‘जे भए पनि हामी नेपालीको मन’लाई प्रमाणित गर्छ । यी मनहरूलाई आत्मीय बनाइराख्न र एक-अर्काबीच सौहार्दता कायम गर्न निर्णायक युद्ध होइन, दिगो शान्ति र सुरक्षित वातावरणको आवश्यकता छ ।