९५ जना क्षमता भएको कारागारमा २७६ कैदीबन्दी

९५ जना क्षमता भएको कारागारमा २७६ कैदीबन्दी


कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन् ।

कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताए । कारागारभित्रका कोठामा ठाउँ नभएपछि कैदीबन्दीलाई ग्यालरी, खाली ठाउँ र एकै कोठामा धेरै जनालाई राखिएको छ ।

कैदीबन्दीले पटकपटक समस्याबारे कारागार प्रशासनलाई जनकारी गराउँदै आएका छन् । कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ । कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ, जेलर भट्टले भने, ‘समस्या समाधान भएको छैन ।’

कारागारमा कैदीबन्दी बस्नका लागि दुई ब्लक छन् । ती दुवै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन् । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनगढीले भवन निर्माण गर्ने जानकारी आएको जेलर भट्टले बताए । ‘कारागारमा भवन बन्ने कुरा आएको छ, त्यो भवन बनेपछि मात्रै समस्या समाधान हुन्छ’ उनले भने ।

कैदीबन्दीले संघर्ष समिति बनाएर कारागार सुधारका लागि आन्दोलनसमेत गर्दै आएका छन् । राससका अनुसार कारागारका जेलर भट्टले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत, पानी र शौचालयको समस्या भएको बताए । ‘विद्युत्को हकमा पुरानो छ, त्यो जुन बेला पनि सर्ट हुनसक्ने डर छ’, जेलर भट्टले भने ।