युवासंघका अध्यक्षबाट पहारीले दिए राजीनामा

युवासंघका अध्यक्षबाट पहारीले दिए राजीनामा


युवासंघ नेपालका अध्यक्ष राजीव पहारीले आफ्नो पदबाट आज राजीनामा दिएका छन् । संघको जारी केन्द्रीय कमिटीको बैठकमा उनले पदबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

गत मंसिरमा भएको प्रदेशसभा निर्वाचनमा अध्यक्ष पहारी प्रदेश नं ४ अन्तर्गत कास्की क्षेत्र नं ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि संगठनको जिम्मेवारी हस्तान्तरण गर्न राजीनामा दिएको उनले बताएका छन् । राजीनामा दिन उनलाई संगठनभित्रैबाट एक खेमाले तीव्र दबाब दिँदै आएको थियो । तर, युवा संघलाई सन्तुलित ढंगले अघि बढाउने प्रयत्नमा क्रियाशील अर्को एक खेमाले ततकाल राजीनामा नगर्न पहारीलाई आग्रह गर्दै आएको थियो । आगामी जेठ अन्तिममा हुने दशौँ अधिवेशन सम्पन्न गरेर मात्र बिदा लिन सो पक्षले आग्रह गरे पनि पहारीले अर्कोतर्फको दबाब थेग्न नसकेको अनुमान गरिएको छ ।

०७२ असोजमा संगठनको महाधिवेशन गर्ने जिम्मेवारीसहित नेतृत्वमा आएका पहारीले महाधिवेशनको समय दुई पटक तोकेर पनि प्राविधिक कारणले हुन सकेको थिएन । संगठनको केन्द्रीय कमिटीले नयाँ अध्यक्षको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्ने सम्भावना बढेको छ ।

संघका उपाध्यक्ष दीलु पन्त, सचिव नरेश शाहीलगायतले वाइसिएलसँग एकता गरी महाधिवेशनबाट नयाँ नेतृत्व निर्माण गर्नुपर्ने समयमा अध्यक्षले दिएको राजीनामाले संगठनमा लोकतान्त्रिक प्रणालीबाट नेतृत्व चयन हुन नसक्ने प्रतिक्रिया दिएका छन् । सर्वसम्मत् नेतृत्व चयन गर्ने नाममा नेतृत्वनिकट व्यक्तिलाई अध्यक्षको जिम्मेवारी दिनका लागि हतास मानसिकताबाट अध्यक्षले पद त्यागको घोषणा गरेको भन्दै सो पक्षले चिन्ता व्यक्त गरेको छ ।

एमाले र माओवादी केन्द्रबीच हुन लागेको पार्टी एकीकरणसँगै भातृसंगठनहरु पनि एक हुने परिवेशमा संगठनको नेतृत्व कसको पोल्टामा जाने भन्ने सवाल पनि यतिबेला उठ्न पुगेको छ ।