पेट्रोलियम पाइप लाइन बिच्छ्याउने काम तीव्र रुपमा

पेट्रोलियम पाइप लाइन बिच्छ्याउने काम तीव्र रुपमा


चैतको अन्तिम साता भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्त रुपमा शिलान्याश गर्नुभएपछि मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि अहिले जमिनमुनि पाइप बिच्छ्याउने काम धमाधम शुरु भएको छ । पछिल्ला दिनमा यो कामले थप तीव्रता पाएको बुझिएको छ ।

भारतको मोतिहारीदेखि बारा जिल्लाको अमलेखगन्जसम्मको ७० किलोमिटर पाइपलाइन निर्माणको काम दुई अर्ब ७५ करोडको लागतमा भइरहेको छ । यसमा भारत सरकारको दुई अर्ब र नेपाल सरकारको ७५ करोड लगानी रहेको मोतिहारी अमलेखगन्ज पेट्रोलियम पाइपलाइन कार्यालय सिमराले जनाएको छ ।

नेपालको ३६.२ किलोमिटर भूभागमा पाइप लाइन निर्माण हुनेछ । भारतको मोतिहारीदेखि रक्सौलसम्म जमिनमुनि पाइप पुर्ने काम सम्पन्न भइसकेको छ । नेपालतर्फ बारा जिल्लाको सिमरामा करिब ५०० मिटर जतिमा खाल्डोमुनि पाइप राख्ने काम सम्पन्न भइसकेको सो कार्यालयका मेकानिकल इन्जिनियर शरदप्रसाद पौड्यालले जानकारी दिनुभयो । पौड्याललाई उद्धृत गर्दै राससले जनाएअनुसार अबको १३ महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्य लिएर काम अघि बढाइएको छ । वर्षाले बाधा नगरे एक वर्षभित्र पाइप जमिनमुनि बिच्छ्याउने काम सम्पन्न हुने बताइन्छ ।

पाइपलाइनबाट प्रतिघण्टा दुई लाख लिटर इन्धन भित्रिने छ । पहिलो चरणमा पाइपमार्फत डिजेल ल्याउने र अमलेखगन्जस्थित आयल निगमको डिपोमा भण्डारण गर्ने योजना छ ।

बहुप्रतीक्षित मोतिहारी–रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको काम सम्पन्न भएपछि नेपाल–भारत सीमा क्षेत्रमा हुने सवारी चाप पनि हटेर जाने विश्वास लिइएको छ ।