विवाद समाधानको अन्तिम विकल्प ‘महासङ्घ’

विवाद समाधानको अन्तिम विकल्प ‘महासङ्घ’


– श्रीविक्रम भण्डारी

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले तेक्वान्दोको विवाद समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । तेक्वान्दोको विवाद चुलिँदै जाँदा त्यसले खेलकुद क्षेत्रमा पार्ने सक्ने प्रभावलाई दृष्टिगत गर्दै मन्त्री सुनारले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् । इन्डोनेसियाको राजधानी जकार्तामा आयोजना हुन गइरहेको एसियाली खेलकुद प्रतियोगितामा तेक्वान्दो खेलाडीको सहभागितासम्बन्धी विवाद उत्पन्न भएपछि मन्त्री सुनारले दुवै सङ्घसँग आवश्यक छलफल गरी दीर्घकालीन रूपमा समस्याको समाधान गर्ने बताएका हुन् । राष्ट्रिय टिम तयारी उच्चसमितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पाले तेक्वान्दो र करातेको विवाद माथिल्लो निकायबाटै हुनुपर्ने सुझाव खेलकुदमन्त्री सुनारसमक्ष राखेका थिए । त्यसपछि मन्त्री सुनारले एसियाडमा सम्भावित पदक जित्ने खेलमा विवाद आउनुहुँदैन भन्दै विवादको समाधान आफैँले गर्ने बताएका थिए ।

वर्तमान अवस्थामा राष्ट्रिय खेलकुद परिषद्मा राष्ट्रिय तेक्वान्दो सङ्घ र नेपाल तेक्वान्दो सङ्घ दर्ता छन् । दुवै सङ्घले तेक्वान्दो खेलको विकास र विस्तारका लागि उत्तिकै भूमिका निभाएका छन् । पछिल्लो समय परिषद्ले पनि दुवै सङ्घलाई समान हैसियतमा राख्दै सेवा सुविधा प्रदान गर्दै आएको छ । परिणाम यतिबेला दुवै तेक्वान्दो सङ्घका खेलाडीहरूलाई परिषद्ले आगामी एसियाडको तयारीका लागि बन्द प्रशिक्षणमा राखेको छ । तर, बन्द प्रशिक्षणमा रहेका दुवै तेक्वान्दो सङ्घका खेलाडीको अन्तिम छनोट भने परिषद्ले गरेको छैन । अन्य खेलका सम्पूर्ण खेलाडीको टुङ्गो लागिसक्दा तेक्वान्दो खेलाडीहरूको मात्र छनोट नहुनुले तेक्वान्दोको विवाद चुइगमझैँ तानिँदै गएको छ ।

तेक्वान्दो खेलाडीको अन्तिम छनोट नहुनुमा परिषद्कै सदस्यहरू कारकतत्व बनेका छन् । कोही सदस्य नेपाल तेक्वान्दो सङ्घका खेलाडीलाई आगामी एसियाडमा सहभागी गराउनुपर्छ भन्ने अडानमा छन् भने कोही खुला प्रतियोगिता गराएर तेक्वान्दो खेलाडीको छनोट गर्नुपर्छ भन्ने पक्षमा छन् । परिषद्का सदस्य वीरेन्द्र श्रेष्ठ राष्ट्रिय तेक्वान्दो सङ्घको विरुद्धमा कडारूपमा प्रस्तुत भएका छन् भने बद्री अधिकारी र उपेन्द्र पौडेल पक्षमा देखिएका छन् । अधिकारी र पौडेलले दुवै तेक्वान्दो सङ्घका खेलाडी तेक्वान्दो खेलाडी भएकाले खुला प्रतियोगिताबाट छनोट हुनुपर्ने मत राखेका छन् ।

राखेपका सदस्यको यस्तो धारणा आइराख्दा सदस्यसचिव केशवकुमार विष्टको धारणा भने प्रस्ट छ । विष्टले दुवै तेक्वान्दो सङ्घका खेलाडीलाई समान सहभागिता गराउने प्रतिबद्धता जाहेर गरेका छन् । विष्टले आफ्नो धारणा र प्रतिबद्धताबारे विश्लेषण गर्दै एसियाडमा तेक्वान्दो सङ्घले खेल्ने होइन, खेलाडीले खेल्ने हो । तसर्थ प्रतिभाबीच प्रतिभाको प्रतिस्पर्धा भएपछि मात्रै तेक्वान्दो खेलाडीको छनोट हुने बताएका छन् ।

विष्टको यो निर्णयप्रति राष्ट्रिय तेक्वान्दो सङ्घका अध्यक्ष शिव कोइरालाले समर्थन गरे पनि नेपाल तेक्वान्दो सङ्घले मेरो गोरुको बाह्रै टक्का जसरी प्रस्तुत भएको छ । परिणामतः, तेक्वान्दो विवादमा प्रत्येक दिन गाँठो पर्दै गएको छ, जसको समाधान तत्कालै हुने कुनै सङ्केत देखिएको छैन । अर्काको अस्तित्वलाई स्वीकार नगर्ने नेपाल तेक्वान्दो सङ्घको विकृत सोचका कारण तेक्वान्दोमा विवाद खडा भएको हो । अब स्वयम् खेलकुदमन्त्री सुनारले तेक्वान्दोको विवाद समाधानका लागि अग्रसरता देखाएकाले केही हुन्छ कि भन्ने आशा पलाएको छ ।

डब्लूटीएफको मान्यता अन्य अस्तित्वमा रहेका तेक्वान्दो सङ्घहरूको साझा सदस्यता हो । यो कुरा राखेपका सदस्यसचिव विष्टले राम्रोसँग बुझे पनि अन्य पदाधिकारीले बुझपचाउँदा तेक्वान्दोको विवाद चुलिँदै गएको हो । तसर्थ एकलौटी भएको बेलाको इतिहास आफ्नो ठाउँमा होला, त्यसलाई अन्यथा मान्न पनि सकिँदैन, तर यतिबेला इतिहास बनाउन खोज्नेहरूलाई शक्तिको आडमा रोक्न खोजे त्यो तेक्वान्दो खेलका लागि नै पीडादायक बन्ने प्रायः निश्चित छ ।

नेपाल तेक्वान्दो सङ्घको दम्भ भनेको वल्र्ड तेक्वान्दो फेडेरेसन (डब्लूटीएफ) को मान्यता नै हो । जुन मान्यता अहिलेसम्म राष्ट्रिय तेक्वान्दो सङ्घले प्राप्त गर्न सकेको छैन, तर प्रयासरत छ । तर, यहाँ बुझ्नुपर्ने कुरा के हो भने डब्लूटीएफले आफ्नो सदस्यता नेपाल भन्ने राष्ट्रलाई दिएको हो । कुनै व्यक्तिविशेषको सङ्घलाई दिएको होइन । तत्कालीन समयमा नेपालमा एउटा मात्र तेक्वान्दो सङ्घ अस्तित्वमा थियो, त्यसैले नेपाल तेक्वान्दो सङ्घले उक्त मान्यता प्राप्त गरेको हो । अहिले बागमतीमा धेरै पानी बगिसकेको छ, हाल राखेपमा तेक्वान्दो नामका दुईवटा राष्ट्रिय सङ्घ दर्ता भइसकेका छन् ।

त्यसैले डब्लूटीएफको मान्यता अन्य अस्तित्वमा रहेका तेक्वान्दो सङ्घहरूको साझा सदस्यता हो । यो कुरा राखेपका सदस्यसचिव विष्टले राम्रोसँग बुझे पनि अन्य पदाधिकारीले बुझपचाउँदा तेक्वान्दोको विवाद चुलिँदै गएको हो । तसर्थ एकलौटी भएको बेलाको इतिहास आफ्नो ठाउँमा होला, त्यसलाई अन्यथा मान्न पनि सकिँदैन, तर यतिबेला इतिहास बनाउन खोज्नेहरूलाई शक्तिको आडमा रोक्न खोजे त्यो तेक्वान्दो खेलका लागि नै पीडादायक बन्ने प्रायः निश्चित छ ।

यदि डब्लूटीएफको विधानलाई आत्मसात् गर्ने हो भने कुनै राष्ट्रमा तेक्वान्दो विभाजित छ भने त्यो देशको ओलम्पिक कमिटीको सिफारिसमा त्यहाँका खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउँछन् । यदि नेपालमा यस्तै विवादको स्थितिको सिर्जना भइरहे भोलि राष्ट्रिय तेक्वान्दो सङ्घका खेलाडीले पनि यही नियमको पालना गरी सहभागिता जनाउन सक्ने सम्भावना उत्तिकै बढेको छ । यसर्थमा कि सत्यता कसैबाट लुकेको छैन, खेलाडी उत्पादन तथा राष्ट्रिय टिम राखेपले तयार गर्ने हो, सङ्घले केवल राखेपको निर्देशनको पालना मात्रै गर्ने हो ।

तर, विडम्बना, सरकारको बजेटबाट चल्ने सङ्घहरू नै माउ संस्था परिषद्लाई चुनौती दिँदै आएका छन् । जसमा नेपाल तेक्वान्दो सङ्घ अग्रपङ्क्तिमा देखिएको छ, जसले दुई–चारवटा अन्तर्राष्ट्रिय पदक जितेकै भरमा आफूलाई राखेपभन्दा ठूलो ठानेको छ । तर, वर्तमान अवस्थामा घरमुनिबाटै गइरहेको र जाँदै गरेको पहिरोलाई आत्मसात् गरेको छैन । जसले कति क्षति पुऱ्याएको छ त्यसलाई अनदेखी र अनसुनी गर्दै आएको छ । यस्तै अवस्था रहे भविष्यमा नेपाल तेक्वान्दो सङ्घको बोर्ड मात्रै बाँकी नरहला भन्न सकिँदैन ।

बजेट सरकारले दिने, खेलाडीहरू राखेपले तयार गर्ने, राखेपले तयार पारेका खेलाडीलाई ओलम्पिकले सहभागिता गराउने खेलकुदमा यो कुरा ध्रुवसत्य हो । तर, तेक्वान्दो सङ्घको नाम भाँजेर खान पल्केकाहरूले यो कुरालाई गौण ठानेका छन् । उल्टै खेलकुदमा आफ्नो प्रभुत्वलाई गाँज्ने नकारात्मक संस्कारको विकास गरिरहेका छन् । उनीहरूले राखेपमा अन्य दुईवटा तेक्वान्दो सङ्घ दर्ता भएको कुरालाई बिर्सिएका छन् ।

यदि नेपाल तेक्वान्दो सङ्घका पदाधिकारीले यस्तै हर्कत देखाए अर्थात् आफूलाई सुपेरियर देखाउँदै अगाडि बढे त्यसको परिणाम नकारात्मक हुने देखिन्छ । त्यसपछि त्यसको विकल्प खुद राखेपले खोज्ने छ, अर्थात् खेलकुदमन्त्रीको निर्देशनमै ‘नेपाल तेक्वान्दो महासङ्घ’ गठन हुने सम्भावना उत्तिकै देखिएको छ । भोलि तेक्वान्दोको समाधानको विकल्पको रूपमा मन्त्री सुनारले विकल्पको रूपमा नेपाल तेक्वान्दो सङ्घलाई रोजे भने अन्यथा मानिनेछैन ।