प्रियालक्ष्मीलाई राखेपको झन्डा

प्रियालक्ष्मीलाई राखेपको झन्डा


विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने तयारीमा रहेकी खेल पत्रकार प्रियालक्ष्मी कार्कीलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो झन्डा हस्तान्तरण गर्दै सफल आरोहणको शुभकामना दिएको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हालै आयोजित नववर्ष २०७५ सालको शुभकामना आदानप्रदान कार्यक्रममा प्रियालाई सफल आरोहणको शुभकामनासहित झन्डा हस्तान्तरण गरिएको हो ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले प्रियालाई सफल आरोहणका लागि शुभकामना दिँदै झन्डा हस्तान्तरण गरेका हुन् । सो अवसरमा सांसद एवम् नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका उपाध्यक्ष एवम् एनओसी उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका सदस्यसचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटालगायतले प्रियालाई सफलताको शुभकामना दिँदै मायाको चिनो प्रदान गरेका थिए ।

प्रिया आफ्नो अभियान पूरा गर्ने सिलसिलामा सोमबार काठमाडौंबाट गन्तव्यतर्फ प्रस्थान गरेकी छिन् । शुभकामना आदानप्रदान कार्यक्रममा खेलाडीले नृत्य, गीतलगायत विभिन्न मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए ।