‘चुनाव चिन्हको टुंगो लागेको छैन तर वैशाखभित्रै एकता’ : प्रचण्ड

‘चुनाव चिन्हको टुंगो लागेको छैन तर वैशाखभित्रै एकता’ : प्रचण्ड


पार्टी एकता प्रक्रियामा रहेका एमाले र माओवादी केन्द्रबीच असमझदारी कायमै रहेको संकेत मिलेको छ । शीर्ष नेताबाटै विवादास्पद अभिव्यक्ति सार्वजनिक हुन थालेबाट बाहिर दाबी गरेजस्तो स्वाभाविक किसिमबाट एकता प्रक्रिया अघि नबढिरहेको छनक मिलेको हो ।

अरु विषयमा छलफल जारी भए पनि निर्वाचन चिन्ह सूर्य नै राख्नेमा प्रचण्ड सहमत भएका गत सोमबार एमाले नेताहरुले दाबी गरेका थिए । एमाले अध्यक्ष ओलीसँगको छलफलपछि प्रचण्ड पार्टीको चुनाव चिन्ह राख्न तयार भएका नेताहरुको कथन थियो । यसरी प्रचण्डले सूर्य चिन्ह मान्नुलाई ठूलै उपलब्धिको रुपमा प्रचार गरिएको थियो ।

तर, एमालेपक्षको सो दाबीलाई विवादास्पद तुल्याउँदै प्रचण्डले सूर्यमा सहमति बनिनसकेको अभिव्यक्ति दिएका छन् । प्रेस सेन्टर चितवनले आज आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले दुई पार्टी मिलेपछि चुनाव चिन्ह के हुने भन्ने विषयमा टुंगो लागिनसकेको बताएका हुन् । अन्य बुँदासहित चुनाव चिन्हका विषयमा पनि छलफल जारी नै रहेको उनको भनाई थियो । उनले भोलि दुई अध्यक्षका बीचमा बैठक हुने र त्यसपछि पार्टी एकता घोषणाको मितिसमेत तय हुने दाबी गरे ।

‘वैशाख ९ गते अल्ली भ्याइँदैन कि, कोसिस गर्दैछौँ, जे भए पनि वैशाख महिना त कट्दैन, एकीन मिति अहिल्यै बताउन पनि सकिँदैन’, उनले भने । दुईवटा कार्यदलले प्रस्तुत गरेका प्रतिवेदनमाथि हिजोबाट गम्भीर ढंगले छलफल शुरु भएको भन्दै प्रचण्डले कतिपय विषयमा कार्यदलले टुंगो लगाउने जिम्मा दुई अध्यक्षलाई दिएको जानकारी दिए ।

गृहमन्त्री रामबहादुर थापाको नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमा विधानमा जनयुद्धलाई कसरी प्रस्तुत गर्ने, जनआन्दोलनलाई के भन्ने, निर्वाचन चिन्हलाई कसरी मिलाउने, एकताको मोडालिटीमा केन्द्रीय समिति, प्रादेशिक समिति, जिल्ला समिति कसरी के आधारमा मिलाउने भन्ने कुरामाथि नै छलफल होस् भनेर लिखित दिएको बताइएएको छ । यिनै विषयमा छलफल भइरहेको प्रचण्डको भनाइ थियो ।

कोही पनि भ्रममा नरहनुस् भन्दै उनले थपे, ‘शक्ति बाँडफाँडका विषयमा कुरा नमिलेको होइन । दुई अध्यक्षले नाम लिएर जाने, राम्रा मान्छेको राम्रो समिति बनाउने । त्यसो गर्दा सकेसम्म सम्मानजनक र बराबरीको सिद्धान्तमा गर्ने भन्ने कुरामा कुनै विमति छैन । सञ्चार माध्यममा अनावश्यक हल्ला मात्रै आएको छ ।’

तस्बिर रासस