काठमाडौं ओपन बुद्धिचालको उपाधि भाराथाकोटीलाई

काठमाडौं ओपन बुद्धिचालको उपाधि भाराथाकोटीलाई


काठमाडौं ओपन अन्तर्राष्ट्रिय जीएम बुद्धिचाल प्रतियोगिताको उपाधि २४२४ रेटेड भारतीय इन्टरनेशनल मास्टर हर्ष भाराथाकोटीले जितेका छन् । उनले अन्तिम तथा नवौं चरणको खेलमा अजरबैजानका २५०४ रेटेड ग्राण्ड मास्टर अजर मिर्जोभसँग बराबरी खेलेसँगै ७.५ अंकका साथ उपाधि जितेका हुन् ।

हर्षाले ६ खेलमा जित निकालेका थिए भने तीन खेलमा बराबरी खेलेका थिए । विजयसंगै हर्षले नगद दुई लाख पुरस्कार प्राप्त गरे । अपराजित रहेका अजर मिर्जोभ पाँच खेलमा सफलता र चार खेलमा बराबरी खेलेर ७ अंक सहित उपविजेता भए । उनले १ लाख २० हजार प्राप्त गरे ।

सेतो गोटी लिएर हर्षाले क्वीन्स ईन्डिएन प्रणालीमा खेल सुरु गरेका थिए । बराबरी मात्र गरेर उपाधि हात पार्ने अभियानमा रहेका हर्षाले आक्रमक देखेका अजरको हरेक चाल बिफल बनाउँदै खेलको४३ औं चालमा अजरलाई बराबरीमा रोकेका थिए ।

समान ७ अंक भए पनि मिर्जोभसँग टाइब्रेकको आधारमा पछि पर्दै युक्रेनका २५४९ रेटेड ग्राण्डमास्टर तार्लेभ कन्स्टेन्टिन तेस्रो भए । उनले ८० हजार रुपैयाँ पुरस्कार पाए । उनले पनि अन्तिम खेलमा भारतका २४१३ रेटेड इन्टरनेशनल मास्टर हिमाल गोसाईंसँग बराबरी खेलेका थिए । भारतका २२८५ रेटेड इन्टरनेशनल मास्टर पी श्यामनिखिल चौथो र इजरायलका २४९० रेटेड ग्राण्डमास्टर ग्रिनफिल्ड अलोन पाँचौं स्थानमा रहे । उनीहरुले क्रमसः ५० र ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

भारतका इन्टरनेशनल मास्टर हिमाल गोसाईं छैटौं, रुसका ग्राण्डमास्टर भोल्कोभ सर्गेइ सातौं, स्पेनका इन्टरनेशनल मास्टर भेगा मार्कोस आठौं, रुसका ग्राण्डमास्टर अलेक्जेन्डर फोमिनी नवौं र भारतका ग्राण्डमास्टर सन्दिपन चन्दा दशौं स्थानमा रहे । त्यस्तै एघारौंदेखि १५ औं स्थानसम्म क्रमशः भारतका ग्राण्डमास्टर दीपसेन गुप्ता, इन्टरनेशनल मास्टर प्रिन्स बजाज, निलेस शाह, ग्राण्डमास्टर श्रीराम झा, अंकित गज्वा रहे ।

नेपाली खेलाडी शीर्ष २० भित्र परेनन् । नेपाली खेलाडीहरुको लागि यो प्रतियोगिता मिश्रित रह्यो । नेपाली खेलाडीहरु २० औं स्थानसम्म भएको मुख्य पुरस्कार हात पार्न असफल भए । नेपाली खेलाडीहरुमा नेपाल चेस संघको छात्रबृत्तिमा रुसमा अध्ययनरत रुपेश जयसवाल पहिलो भए । उनले १५ हजार रुपैयाँ पुरस्कार पाए । रुपेशले बेलारुसका ग्राण्ड मास्टर कास्भारोभ सर्गेइलाई बरबरीमा रोकेर ६ अंक प्राप्त गरेका थिए ।

त्यस्तै नेपालका उच्च वरियताका २२६३ रेटेड खेलाडी विवेक थिङ दोस्रो स्थानमा रहे । विवेक स्पेनका अन्तर्रा्ष्ट्रिय मास्टर भेगा मार्कोससँग पराजित भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । पूर्व नेपाल च्याम्पियन केशव श्रेष्ठ तेस्रो स्थानमा रहे । नेपालका बद्रीलाल नेपाली पचास वर्ष माथि उमेर समूहमा पनि तेस्रो स्थानमा रहे । अन्तिम चरणमा बद्री भारतका श्रीजीत पाउलसँग पराजित भएका थिए । उक्त समुहमा भारतका इन्टरनेशनल मास्टर अनुप देशमुख पहिलो र केभी शान्ताराम दोस्रो भए ।

१८०० मुनि रेटेडमा मनिराज डाँगी तेस्रो भए भने बेस्ट अनरेटेडतर्फ नेपालका प्रणित अमात्य तेस्रोमा रहन सफल भए । १८ बर्ष मुनि महिलातर्फ तेजश्वीनी तामाङ तेस्रो, १४ बर्ष मुनि महिलातर्फ मार्सल तामाङ पहिलो भइन् । नेपाली महिलातर्फ कृपा अधिकारी, शान्ति धिमाल र खुश्बु थापा प्रथम, दोस्रो र तेस्रो भए । उनीहरुले क्रमश पन्ध्र हजार, दस हजार र पाँच हजार प्राप्त गरे ।

केएनपी जापानको मूख्य प्रायोजन तथा होमल्याण्ड स्पोर्टस क्लवको आयोजनामा पार्क भिलेज रिसोर्ट बुढानिलकण्ठमा पाँच दिनसम्म चलेको प्रतियोगिताका विजेता खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार बिष्टले पुरस्कृत गरेका थिए । चैत २९ देखि संचालन भएको प्रतियोगितामा १९ राष्ट्रका १८० खेलाडीको सहभागिता थियो ।