एमाले-माओवादी एकता प्रक्रिया लम्बिनुको रहस्य बेग्लै

एमाले-माओवादी एकता प्रक्रिया लम्बिनुको रहस्य बेग्लै


एक-अर्कोसँग तर्सिने र झस्किने स्थिति भएपछि नेकपा एमाले र माओवादीबीचको पार्टी एकतामा सन्देह पैदा भएको छ । अब कदाचित एकीकरण भइहालेछ भने पनि पार्टी एकताबद्ध रहिरहनेमा आशङ्का छ ।

गत निर्वाचनअघि दुई पक्षबीच जुनस्तरको भावनात्मक तथा राजनीतिक सान्निध्य महसुस गरिन्थ्यो निर्वाचनपछि क्रमशः यो केवल प्राविधिक विषय मात्र बन्न पुगेको छ । निर्वाचनमा अपेक्षा गरिएकोभन्दा धेरै राम्रो परिणाम हासिल भएपछि माओवादीले आफ्नो ‘बार्गेनिङ पावर’ बढेको ठानेको छ र, सत्तरी र तीस प्रतिशत अनुपातमा पार्टी एकीकरण गर्न सहमत भइसकेको माओवादी नेतृत्व पचास प्रतिशत अनुपातको हैसियतमा माग दाबी गर्ने अवस्थामा पुगेको छ ।

पार्टी एकीकरण गरेरभन्दा नगरीकन जाँदा आफूलाई लाभ हुने निष्कर्षमा प्रचण्डसहित ‘हार्डकोर’ माओवादी नेता तथा कार्यकर्ताहरू रहेको बुझिन्छ । चुनावअघि पार्टी एकीकरणको पक्षमा बिनासर्त ‘लबिङ’ गर्नेहरू पछिल्लो समयमा ‘सम्मानजनक एकता’को वकालत गर्न थालेका छन् । पार्टी एकीकरणमा ‘जनयुद्ध’ शब्दलाई कसरी आत्मसात् गर्ने या नगर्ने, चुनाव चिह्न सूर्यलाई ‘मोडिफाई’ गर्ने या नगर्ने र दुई सय उनान्सय जनाको केन्द्रीय समितिमा दुई पक्षबाट कुन अनुपातमा सहभागी रहने भन्नेजस्ता विषय विवादमा आएको बताइएको छ ।

माओवादीले जनयुद्धलाई आत्मसात् गर्नुपर्ने सर्त पहिले राखेको थिएन र सूर्य चुनाव चिह्नलाई केही बदलेर सूर्यभित्र हँसिया–हथौडाको चित्र घुसाउने कुरा पनि पहिले उठेको थिएन । चुनाव चिह्नका बारेमा मंगलबार (वैशाख ४ गते) सहमति बनेको बताइए पनि एकीकरणको निश्चितता अझै देखिएको छैन । त्यस्तै केन्द्रीय समितिलगायत मातहतका समितिहरूमा एमालेको सत्तरी र माओवादीको तीस प्रतिशत अनुपातमा सहभागिता रहने भनेर पनि पहिले नै सहमति भइसकेको थियो । तर, यिनै विषयलाई निहुँ बनाएर यसबीचमा एकता प्रक्रियालाई अलमल्याउने काम हुँदै आएको छ ।

देखिने कारण यसप्रकारका भए पनि दुई पार्टीबीचको एकता प्रक्रिया लम्बिँदै जानु या अन्योलमा पर्नुको कारण अरू नै भएको बुझिन्छ । ज्ञातव्य छ, माओवादी अध्यक्ष प्रचण्ड अधिक पदाशक्ति भएका व्यक्ति हुन् र पार्टीको मूल (कार्यकारी) नेताभन्दा अन्य हैसियत स्वीकार गर्ने मानसिकतामा उनी कहिल्यै पनि रहेको पाइन्न । केपी ओलीलाई प्रधानमन्त्री मिलेपछि पार्टी प्रमुखको जिम्मेवारी आफूले पाउने विश्वास प्रचण्डलाई थियो । तर, ओली अध्यक्ष पद प्रचण्डलाई सुम्पन्न तयार भएनन् । बरु उनले महाधिवेशनपछिको अध्यक्ष पद सुम्पिने विश्वास प्रचण्डलाई दिलाए ।

राष्ट्रपतिको निर्वाचन तथा सरकार गठनको चरण पूरा हुने क्रमसँगै नेता माधवकुमार नेपाल र केपी ओलीबीच निकटता बढेको पाइएको छ । केपीले आफूपछिको अध्यक्षमा सहयोग र समर्थन गर्ने विश्वास माधव नेपाललाई दिलाएपछि दुई नेताबीच यसअघि कहिल्यै नदेखिएको समझदारी देखापरेको छ । हो, केपी र माधव नेपालबीचको यस्तो समझदारी नै प्रचण्डका निम्ति आशङ्का र छटपटीको कारण बनेको छ । तत्काल सहअध्यक्षको हैसियत लिएर एकता गरिहाले पनि महाधिवेशनपछि आफूलाई ‘ढाक्रे’ बनाइन सक्ने चिन्ताले प्रचण्ड पिरोलिएका छन् ।

राष्ट्रपतिको निर्वाचन तथा सरकार गठनको चरण पूरा हुने क्रमसँगै नेता माधवकुमार नेपाल र केपी ओलीबीच निकटता बढेको पाइएको छ । केपीले आफूपछिको अध्यक्षमा सहयोग र समर्थन गर्ने विश्वास माधव नेपाललाई दिलाएपछि दुई नेताबीच यसअघि कहिल्यै नदेखिएको समझदारी देखापरेको छ । हो, केपी र माधव नेपालबीचको यस्तो समझदारी नै प्रचण्डका निम्ति आशङ्का र छटपटीको कारण बनेको छ । तत्काल सहअध्यक्षको हैसियत लिएर एकता गरिहाले पनि महाधिवेशनपछि आफूलाई ‘ढाक्रे’ बनाइन सक्ने चिन्ताले प्रचण्ड पिरोलिएका छन् । आफूलाई महाधिवेशनपछि पार्टी अध्यक्ष बन्ने कुराको ग्यारेन्टी नपाएसम्म प्रचण्ड एकतालाई टुङ्गोमा पुऱ्याउन तयार नहुने अवस्थामा रहेका छन् ।

कार्यदल तथा एकता संयोजन समितिले एकताको आधार एवम् प्रारूप तयार गरिसकेको र वैशाख ९ गते पार्टी एकीकरण घोषणा गर्न समझदारी बनिसकेको भए पनि प्रचण्ड ‘विश्वस्त’ हुन नसकेकोले एकता टाढिएको हो । वैशाख ९ गते पार्टी एकता घोषणा कुनै हालतमा नगर्ने अडान पनि प्रचण्डले लिँदै आएका हुन् । कार्यदल तथा संयोजन समितिको प्रतिवेदनका आधारमा दुई अध्यक्षहरूले पार्टी एकीकरणसम्बन्धी विषयको अन्तिम टुङ्गो लगाउनुपर्ने थियो । तर, यसबीचमा प्रचण्ड केपी ओलीसँग बैठक एवम् छलफल गर्नसमेत तयार भएनन् ।

वैशाख ९ गते पार्टी एकीकरण घोषणा हुनै सक्दैन भन्ने एकोहोरो अडान प्रचण्डले लिँदै आएका थिए । यसरी उनले अड्डी लिनुको कारण ‘ज्योतिषीको राय’ भएको अनुमान पनि एमाले नेताहरूले गरेका छन् । पछिल्लो समयमा प्रचण्ड ज्योतिषीप्रति ज्यादा भरोसा गर्न थालेको बताइन्छ । ९ गते एकता घोषणा गर्नु हितकर नहुने भनी एक ज्योतिषीले सुझाव दिएकोले प्रचण्ड उक्त दिन एकीकरणको घोषणा गर्न तयार नभएको बुझिएको छ । दुवैतर्फबाट एकता पक्षधर नेताहरूले व्यापक दबाब दिएपछि गत सोमबार (वैशाख ३ गते) प्रचण्ड र केपी ओलीबीच संवाद भएको थियो । दुई शीर्ष नेताबीचको छलफलपश्चात् चुनाव चिह्न, सङ्गठनमा सहभागिताको अनुपात र जनयुद्धसम्बन्धी विषयमाथि छलफल गरी किनारा लगाउने प्रयास पुनः आरम्भ भएको छ ।

तर, यो तहमा हुने छलफलबाट प्रचण्डले खोजेको वास्तविक कुरा प्राप्त हुने सम्भावना भने देखिँदैन । वैशाख ९ गते पार्टी एकीकरण नहुने निश्चित भएकोले अब मे ५ तारिख अर्थात् वैशाख २२ गतेका लागि घोषणा मिति तय गरिने सम्भावना छ । उक्त दिन माक्र्सको दुई सयौँ जन्मजयन्ती भएकोले सोही दिन पार्टी एकीकरण घोषणा गर्न नेताहरूबाट सुझाव प्राप्त भएको जानकारीमा आएको छ । तर, प्रचण्डले पार्टी अध्यक्ष बन्ने ग्यारेन्टी नपाएसम्म दुई पार्टीबीच एकीकरण भइहाल्ने विश्वास गर्न सकिने स्थिति भने अझै छैन ।