निषेधाज्ञाको निर्णय फिर्ता नलिए वैशाख १६ देखि नेवि संघ आन्दोलनमा उत्रिने

निषेधाज्ञाको निर्णय फिर्ता नलिए वैशाख १६ देखि नेवि संघ आन्दोलनमा उत्रिने


जिल्ला प्रशासन कार्यालय काठमाडौंले राजधानीका विभिन्न स्थानमा विरोध प्रदर्शन गर्न निषेधाज्ञा जारी गरेको छ । टुँडिखेलस्थित खुल्लामञ्च, तीनकुनेको खाली चौर, भगवानपाउको भुइँखेल चौर, पेप्सीकोला खेलमैदान, सानो गौचरनको फुटबल मैदान, लैनचौरस्थित खुला चौर र सिफल चौरलाई मात्र जिल्ला प्रशासन कार्यालयले प्रदर्शनस्थल तोकेको छ ।

यसरी स्थानविशेष तोकेर माइतीघरको मण्डलालगायत कतिपय स्थानमाथि प्रदर्शनमा प्रतिबन्ध लगाइएको विरोधमा नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ ।

यस सरकारी निर्देशनको विरोध गर्दै संघले काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको ध्यानाकर्षण गराएको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले प्रजिअलाई भेटेर संविधानमा व्यवस्था गरिएको अभिव्यक्तिको स्वतन्त्रता तथा बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रतासम्बन्धी अधिकारविरुद्ध निषेधाज्ञाको आदेश भएको भन्दै सो निर्णय फिर्ता लिन माग गरेको छ ।

यस विषयमा नेविसंघका उपाध्यक्ष रामप्रसाद अधिकारीले लोकतन्त्रमा सरकारले अधिनायकवाद लाद्न खोजेको आरोप लगाउँदै आफ्नो हक, अधिकार प्राप्त गर्नका लागि जुनसुकै स्थानमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउनुपर्ने बताए भने संघका केन्द्रीय सदस्य सुशील भट्टले जिल्ला प्रशासन कार्यालयले उक्त निर्णय फिर्ता नलिए वैशाख १६ गतेदेखि सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

संघको ज्ञापनपत्र बुझ्दै प्रजिअ शर्माले चाहिँ गृह प्रशासनको ८२ बुँदे कार्ययोजनाअन्तर्गत उक्त बुँदा समावेश भएको बताउँदै यसका लागि सम्बन्धित निकायसँग कुरा गर्ने आश्वासन दिए । जथाभावी ठाउँमा आन्दोलन गर्दा आम नागरिकलाई आवतजावतदेखि अन्य कुरामा अफ्ठयारो पर्ने भएकाले निश्चित स्थान तोकिएको उनको तर्क थियो ।