जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने

जेठदेखि त्रिभुवन विमानस्थल २१ घण्टा सञ्चालन हुने


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले घोषणा गरेका छन् । मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थललाई आगामी जेठको पहिलो सातादेखि नियमित २१ घण्टा सञ्चालनमा ल्याइने उनले जानकारी दिए ।

नेपाल पर्यटन पूर्वाधार विकास परिषद्ले मंगलबार मन्त्रालयमा आयोजना गरेको ‘पर्यटन नीति र पूर्वाधार विकास’ विषयक अन्तरक्रियामा मन्त्री अधिकारीले विमानस्थलको विद्यमान हवाई चाप (एयर ट्राफिक) व्यवस्थापन गर्न विमानस्थल २१ घण्टा सञ्चालन गर्न लागिएको तर्क गर्दै ‘एयर स्पेस’को उचित व्यवस्थापनमा लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालन गर्ने आफ्नो लक्ष्य रहे पनि तत्काल असम्भव रहेको र हालका लागि २१ घण्टा चलाई आन्तरिक विमानस्थलमा थप गन्तव्यमा रात्रि उडानको व्यवस्था मिलाइने जनाए ।

सो अवसरमा पूर्वपर्यटन सचिव सुरेशमान श्रेष्ठले संस्थागत स्मरणको कमजोरी तथा पर्यटकीय पूर्वाधारमा कम लगानीकै कारण अथाह सम्भावनाबीच पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको तर्क गरे भने नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले पर्वतीय पर्यटन नेपाली पर्यटनको आधार हो भन्दै नेपालमा आठ हजार मिटरभन्दा अग्ला १४ वटा (हाल आठ वटा) हिमाल रहेको कुरालाई विश्व पर्वतारोहण संघबाट अनुमोदनका लागि पहल गरिनुपर्नेमा जोड दिए ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले चीनबाट बढी पर्यटक आकर्षण गर्न प्रवद्र्धनात्मक अभियान चलाइनुपर्ने सुझाव दिए भने नेपाल पर्यटन बोर्डका सञ्चालक समिति सदस्य दीपक महतले पदयात्रा र पर्वतीय पर्यटनलाई व्यवस्थित बनाई पूर्वाधारमा लगानी गर्न राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए ।