पद कि प्रतिष्ठा ?

पद कि प्रतिष्ठा ?


– बबिता बस्नेत

केही दिनअघिको भेटघाटमा नेपाल प्रहरीका एक पूर्वमहानिरीक्षकले ‘आफू आईजी हुँदा मबिना त यो प्रहरी सङ्गठन के चल्थ्यो ? मैले नै त यो सब धानिरा’छु, म छुट्टी बसेँ या कहीँ गएँ भने त बर्बाद नै हुन्छ नि जस्तो लाग्थ्यो । आखिर अहिले चलिरहेकै छ, सङ्गठनलाई मेरो खाँचो भएजस्तो लाग्दैन,’ भन्नुभएको थियो । संयोग नै भनौँ अहिले प्रहरी महानिरीक्षकको प्रतिस्पर्धामा रहेका रमेश खरेलले आफू आईजीपी हुन नपाएपछि पदबाट राजीनामा दिएका छन् । आफूले चाहेको पद प्राप्त नहुँदा राजीनामा गर्दै हिँड्ने हो भने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, निजामती कर्मचारी सबैतिर धेरै पदहरू खाली हुँदा हुन् । जुन नयाँ पुस्ता प्रवेशका लागि राम्रै कुरा हो । यद्यपि सम्बन्धित क्षेत्रले लामो समय गरेको लगानीबाट प्राप्त अनुभवको सदुपयोग भने हुन सक्दैन ।

पदलाई लिएर हामीकहाँ अनेक तिकडमबाजीहरू हुने गर्छन् । केही वर्षयता प्रहरी सङ्गठन यसबाट बढी नै प्रभावित भएको देखिन्छ । निजामती सेवामा पनि सचिव, मुख्यसचिव हुने बेलामा यसप्रकारका असन्तुष्टिहरू व्यापक देखिन्छ । तर, निजामतीमा पद पाइनँ भनेर राजीनामा दिएका उदाहरण भने कमै छन् । काम गर्दै गएपछि आफू सम्बन्धित क्षेत्रको उपल्लो पदमा पुगुँ भन्ने चाहना सबैमा हुन्छ, हुनु स्वाभाविक पनि हो । तर, यदि मानिस आफैँमा केही हुने हो भने उसका लागि पद हुनु र नहुनुले त्यति ठूलो फरक पार्दैन । उनी आफैमा केही हुन या चर्चाका पात्र बनाइएका मात्र हुन्, भविष्यमा थाहा होला । तर, प्रहरीका रूपमा रमेश खरेलको छवि फरक प्रकारको थियो । प्रहरी सङ्गठनभित्र जे–जसरी लिए पनि जनमानसमा रहेको आफ्नो प्रतिष्ठाको ख्याल नगरी उनले पदलाई मात्र हेरेर राजीनामा गरे । जब कि उनी कुन तहमा छन् भन्ने थाहै नपाई रमेश खरेलको बारेमा चर्चा गर्नेहरू पनि थिए । जुन जमातका लागि उनी सिपाही हुन् कि डीआईजी या आईजीपी केही फरक पर्नेवाला थिएन । पद र प्रतिष्ठाबीचको अन्तर थाहा नहुँदा यसप्रकारका घटना हुने गर्छन् ।

पद र प्रतिष्ठा फरक कुरा हो । तथापि, मानिसले पद र प्रतिष्ठालाई प्रायः एकै ठाउँमा राखेर हेरेको देखिन्छ । पद प्राप्त गर्ने कुरा हो, प्रतिष्ठा आर्जन हुने कुरा हो । पद हैसियतसँग सम्बन्धित हुन्छ, प्रतिष्ठा छविसँग सम्बन्धित हुन्छ । पदका लागि आफूलगायत अरूको पनि त्यत्तिकै भूमिका हुन्छ, हुन सक्छ । प्रतिष्ठामा आफ्नो भूमिका बढी हुन्छ, कतिपय अवस्थामा आफ्नो मात्रै भूमिका पनि हुन सक्छ । आफूले आर्जन गर्ने हुँदा प्रतिष्ठा रहर गरेर या खोजेर पाइँदैन । ठाउँठाउँमा आफ्ना मान्छे भए भने पद पाउन त्यति गाह्रो हुँदैन । तर, प्रतिष्ठाको सवालमा आफ्ना मान्छे जहाँ र जति शक्तिशाली भए पनि तिनको केही सीप चल्दैन ।

प्रहरीका रूपमा रमेश खरेलको छवि फरक प्रकारको थियो । प्रहरी सङ्गठनभित्र जे–जसरी लिए पनि जनमानसमा रहेको आफ्नो प्रतिष्ठाको ख्याल नगरी उनले पदलाई मात्र हेरेर राजीनामा गरे । जब कि उनी कुन तहमा छन् भन्ने थाहै नपाई रमेश खरेलको बारेमा चर्चा गर्नेहरू पनि थिए । जुन जमातका लागि उनी सिपाही हुन् कि डीआईजी या आईजीपी केही फरक पर्नेवाला थिएन ।

हाम्रोजस्तो देशमा त झन् पद प्राप्ति त्यति कठिन कुरा नै होइन । सोच्दै नसोचेका मानिसहरू के–के भए–भए । विभिन्न स्तरका पदमा पु¥याइएका व्यक्तिहरू हेर्दा ‘ओहो गज्जब भयो’ भन्नेदेखि हेर्नै अप्ठ्यारो लाग्ने दृश्यहरू धेरै देखियो । सानातिना पदको के कुरा यो मुलुकमा प्रजातन्त्रपछि मात्रै पनि सयौँको सङ्ख्यामा मन्त्री भए । पदमा हुँदा वरिपरि नेपाली सेनाका गार्ड, टाँटाँ–टुँटुँ साइरन यो मुलुकको सबैभन्दा ठूलो मान्छे मै हुँ भन्ने लागेकामध्ये दर्जनौँलाई अहिले सडकमा देख्दा जनताले चिन्दैनन् । रङ्गनाथ पौडेल नाम गरेका व्यक्ति पनि यो मुलुकमा कुनै बेला प्रधानमन्त्री थिए भन्ने धेरैलाई थाहा छैन । जब कि कुनै बेला उनले पनि पृथ्वी मैले नै घुमाइरा’छु भन्ठान्थे होलान् । त्यस्ता व्यक्तिको मात्र नाम जनमानसमा छापिएको छ, जसले आफ्नै प्रयासले केही गरे । राज्य संयन्त्रमा रहेर होस् या नरहेर विशेष काम गर्नेहरूलाई मात्रै मान्छेले सम्झने हुन् । पद पाउँदैमा ठूलो मान्छे भएँ या हुन्छु भन्ने कसैले ठान्छ भने त्यो भ्रमबाहेक केही हो भने आत्मतुष्टि मात्र हो ।

अहिले मुलुकमा राजनीतिक नियुक्तिको मौसम छ । ती नियुक्तिमा आफू पर्न पाए हुन्थ्यो भनेर मानिसहरूले गरेको दौडधुप हेर्दा यस्तो लाग्छ मानौँ उनीहरू त्यही पदका लागि जन्मिएका हुन् र पद प्राप्ति नगर्दा तिनको जीवन निरर्थक हुनेछ । ‘म नै योग्य छु’ शैलीको दौडधुपले खोजेको परिणाम नदिएमा हुने फ्रस्ट्रेसनले अन्तिममा गाली खानेचाहिँ यो मुलुकले हो । अवसर नपाएपछि त्यस्ता मानिसको प्रतिक्रिया हुनेछ, ‘कस्तो देशमा जन्मिएछ, राम्रो मान्छेको त कुनै मूल्याङ्कन नै छैन । सबै भ्रष्ट र चाकरीवाजहरूले मात्रै मौका पाउने भए ।’ यसो भनिरहँदा आफू कतिजनाको दैलो चहार्न पुगेको थिएँ भन्नेचाहिँ उनीहरूले बिर्सनेछन् ।

कहिलेकाहीँ प्रतिष्ठाका अगाडि पदहरू साना भइदिन्छन् । उहाँ केका लागि उक्त पदमा जानु’भो थाहा भएन, तर अनुराधा कोइरालाले प्राप्त गरेको प्रतिष्ठाको तुलनामा पाएको प्रदेश प्रमुखको हैसियत सङ्कुचित हो । डा. उपेन्द्र देवकोटा स्वास्थ्यमन्त्री बन्दा पनि त्यस्तै लागेको थियो । के बुझ्न जरुरी छ भने शिक्षामन्त्री भएका कारण लक्ष्मीप्रसाद देवकोटालाई मानिसहरूले सम्मान गरेका होइनन् । उनको प्रतिष्ठाको अगाडि मन्त्री पद धेरै होचो थियो । अहिले समाजसेवामा उल्लेख्य काम गरेर चर्चित बनेका धुर्मुस–सुन्तलीलाई भूकम्प प्राधिकरणको सीईओ या सदस्य बनाइयो भने के होला ? आफ्नो हिसाबले काम गरिरहेका उनीहरूलाई ब्युरोक्र्यासीभित्रको जालोमा अल्झिएर भएको प्रतिष्ठा जोगाउन धौ–धौ पर्न सक्छ । कतिपय अवस्थामा प्रतिष्ठा आर्जन गरेका मानिसहरू पदमा पुगेपछि विगतको त्यो प्रतिष्ठा स्वाट्टै झरेर पद पाएका व्यक्तिमा मात्रै सीमित हुन पनि पुग्छ ।

महात्मा गान्धीले कहिल्यै पद लिनुभएन, तर उहाँको प्रतिष्ठा भारतमा मात्र नभई विश्वव्यापी रूपमै सधैँ उच्च रह्यो । मार्टिन लुथर किङ राज्यको कुनै पद नलिई अभियानकै कारण स्मरणीय बने । कहिलेकाहीँचाहिँ मानिसहरू पदमा पुगेपछि तिनको प्रतिभाको पहिचान पनि हुन्छ । भारतमा पुलिस त कति भए कति तर किरण बेदी फरक पहिचान बनाउन सफल भइन् । अब्राहम लिङ्कन यदि राष्ट्रपति नभएका भए उनी कस्ता मान्छे थिए भन्ने कुरा यो संसारलाई नहुन पनि सक्थ्यो । दार्शनिकहरू पदका कारण महान् नभएर विचारका कारण विश्वव्यापी भएका हुन् । पदमा रहेका कतिपय मानिस सोही पदका कारण आफू प्रतिष्ठित छु भन्ने भ्रममा रहेका हुन्छन् । तर, यदि उनीहरूले चाहे भने असल काम गरेर प्रतिष्ठा आर्जन भने गर्न सक्छन् ।