मुखियाका हत्यारा मामा-भाञ्जा सार्वजनिक

मुखियाका हत्यारा मामा-भाञ्जा सार्वजनिक


– रेजिना गौतम, झापा

विर्तामोडस्थित देवा ज्वेलर्सका सञ्चालक साजन मुखियाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले थप दुईजनालाई पक्राऊ गरी आज सार्वजनिक गरेको छ ।

इलाका प्रहरी कार्यालय विर्तामोडमा आयोजित पत्रकार भेटघाटमा हत्यामा संलग्न विर्तामोड–३ पुण्डरीचोक निवासी २२ वर्षीय राहुल भनिने राज शाह र विर्तामोड–५ निवासी मामा–भान्जा भनिने २१ वर्षीय सुजन चौधरीलाई पक्राऊ गरी सार्वजनिक गरिएको हो । यी दुईलाई पक्राऊ गरेसँगै साजन हत्याकाण्डमा संलग्न सबैलाई पक्राऊ गरिसकिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिनुभयो ।

प्रहरीले शाहलाई सुनसरी प्रहरीको सहयोगमा सुनसरीकै भण्टाबारीबाट र चौधरीलाई विर्तामोडबाटै पक्राऊ गरिएको जनाएको छ। उनीहरुलाई जिल्ला अदालत झापाबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

साजनको हत्यामा संलग्न रहेको आरोपमा यसअघि विर्तामोड निवासी २९ बर्षीय पारसकुमार देव, विर्तामोड–८ निवासी १९ बर्षीय दिपेश पौडेल र विर्तामोड–३ निवासी २३ बर्षीय चिरञ्जीवी ओलीलाई पक्राऊ गरेको थियो । उनीहरुलाई मानव अपहरण, शरीर बन्धक, खुनडाका र संगठित अपराध अन्तरगत मुद्दा चलाइएको डि।एस।पी। कोइरालाले जानकारी दिनुभयो ।

साजनको हत्या ब्यवसायिक रिसइवीका कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ। २०७४ साल फागुन २० गते रिद्धिसिद्ध ज्वेलर्समा पुगेर आउँछु भनेर हिडेका साजन एकाएक बेपत्ता भएका थिए । त्यसको ९ दिनपछि उनको शव बोरामा बाँधेर फालिएको अवस्थामा इलामको लसुने अर्यालचोक सडकखण्डको जमुनेडाँडाबाट २० फिट तल भेटिएको थियो।