सूर्य चिन्हमा सहमति भएपनि एकतामा ब्यवधान कायमै

सूर्य चिन्हमा सहमति भएपनि एकतामा ब्यवधान कायमै


पार्टी एकताको तयारीमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच निर्वाचन चिह्न ‘सूर्य’ रहने समझदारी भएको सन्दर्भले राजनीतिक वृत्तमा विशेष महत्व र चर्चा पाएको छ । चुनाव चिन्हकै कारण एकता रोकिने भयो भनी चिन्ता गर्ने एमाले कार्यकर्ताहरुलाई यसले राहत दिएको छ । तर, यसकै आधारमा एकता हुन्छ भनी किटान गर्न समिने परिवेश भने छैन ।

एमालेले सूर्य र माओवादी केन्द्रले ‘सूर्यभित्र हँसिया हथौडा’ चिह्न राख्नुपर्ने अडान राखेको कुरा बाहिर आए पनि चिह्नको विवाद हल भइसकेको एमालेका नेताहरुले पुष्टि गरेका छन् । एमाले महासचिव पोखरेलका अनुसार दुई पार्टीबीच एकताका लागि ठूलो विवाद छैन, निर्वाचन चिह्न त विवादको विषय नभएकोले मिलिसक्यो । अन्य केही केही विषयलाई फाइनल टच दिने काम दुई अध्यक्षले गर्ने र अर्को संयोजन समितिको बैठकले त्यसको निर्णय लिने पनि उनले जानकारी दिए ।

दुई दलबीचका वैचारिक र अन्तरिम विधान मस्यौदा कार्यदलले एकता घोषणाको मिति, निर्वाचन चिह्न, सांगठनिक अनुपात, जनयुद्धको विश्लेषणजस्ता विषयमा निर्णय गर्न बाँकी राखेर संयोजन समितिलाई गत चैत तेस्रो साता प्रतिवेदनहरु बुझाएको थियो । प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीको गत चैत २३–२५ को भारत भ्रमणका कारण प्रतिवेदनमाथिको छलफलमा ढिलाइ भएकामा आज मंगलबार बसेको बैठकमा गम्भीर छलफल भएको बताइन्छ ।

ज्ञातव्य छ, दुवै दलका कार्यदलले नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिन वैशाख ९ मा एकता गर्नु उपयुक्त हुने सुझाव दिएका थिए । गत फागुन ७ मा पार्टीको नाम ‘नेकपा कम्युनिष्ट पार्टी’ र निर्देशक सिद्धान्त ‘माक्र्सवाद लेनिनवाद’ राख्नेलगायत एकताका सातबुँदे प्रारम्भिक आधारमा दुई दलले कार्यदलमार्फत एकता प्रक्रिया थालेका थिए । तर, दुई दलबीच केन्द्रीय समितिमा रहने अनुपात ५०-५० हुनुपर्ने माग माओवादी केन्द्रबाट अघिसारिएपछि एकता प्रक्रियामा अवरोध पैदा भएको थियो । ‘जनयुद्ध’लाई हेर्ने विषयमा पनि विवाद कायम छ । यसलाई माओवादी केन्द्रले प्रतिष्ठा र स्वाभिमानकै सवाल बनाइरहेका छन् । जसले गर्दा ९ गतेको मिति फेल हुन पुगेको छ । अब एकताको तयारीका लागि एमालेले पर्सी ६ गते विहीबार पोलिटब्यूरो र ७ गते केन्द्रीय कमिटीको बैठक बोलाएको छ । उता माओवादी केन्द्रभित्र चाहिँ एकतापछि आफ्नो अस्तित्व धरापमा पर्ने सोच राख्ने नेताहरुका कारण एकतामा अवरोध ल्याउने प्रयत्न जारी नै रहेको बुझिन्छ ।