चैतसम्म लक्ष्यभन्दा करीब १३ अर्ब कम राजश्व संकलन

चैतसम्म लक्ष्यभन्दा करीब १३ अर्ब कम राजश्व संकलन


चालु आर्थिक बर्षको पहिलो ९ महिनमा ४ खर्ब ७९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । जुन लक्ष्यको तुलनामा १३ अर्ब रुपैयाँले कमी हो ।

सरकारले चालु आर्थिक वर्षको पहिलो ९ महिनाको अवधीमा मात्रै ४ खर्ब ९२ अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर यसमा सरकार असफल भएको छ ।

केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उनको सरकारमा अर्थमन्त्रीका रुपमा आएका युवराज खतिवडाले आएलगत्तै भन्सार मूल्यांकनमा कडाइ गर्दै राजस्व संकलनमा ध्यान केन्द्रीत गरेपनि राजस्व संकलनमा भने सोचे अनुरुपको सुधार आउन नसकेको अर्थमन्त्रालयका एक अधिकारीले बताए । उनका अनुसार चालु आवको चैतसम्म राजस्व असुलीको परिणाम सुखद् रहन सकेन् ।

त्यसैले सरकारले आर्थिक वर्षको अन्तिम समयमा राजश्व उठाउने लक्ष्य भेट्टाउने सम्भावना ज्यादै कमजोर बनेको छ । तर सरकार यतिबेला लक्ष्य र असुलीको खाडल भने १५ अर्बभन्दा माथि नजाओस् भन्नेमा केन्द्रित छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार राजस्व संकलनको कार्यलाई अझ बढि कडाई गरी नयाँ रणनीति शुुरु गरेको बुझिएको छ । आन्तरिक राजश्व विभागले चैतसम्म २ खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्नुपर्ने भएपनि लक्ष्यको ७ अर्ब रुपैयाँ कम राजस्व संकलन गरेको छ भने चैतसम्म २ खर्ब ३४ अर्ब रुपैयाँ संकलन गर्नुपर्ने भन्सार विभागले १५ अर्ब रुपैयाँ कम राजस्व उठाएको छ ।

अर्थमन्त्रालयले असारको अन्त्यसम्ममा लक्ष्यअनुरुपको ७ खर्ब ३० अर्ब राजश्व संकलन गर्ने महत्वकांक्षी लक्ष्य लिएको छ ।