‘हो… यिनले विकास गर्छन्, तर अधिनायकवादको !’

‘हो… यिनले विकास गर्छन्, तर अधिनायकवादको !’


केपी ओलीको नेतृत्व रहेको वर्तमान सरकार कम्युनिष्ट सरकार भए पनि सत्तामा रहेकाहरुले यसलाई लोकतान्त्रिक सरकार भन्ने दाबी गरिरहेका छन् । तर सरकारी दाबीको खण्डन गर्दै प्रतिपक्ष दल कांग्रेसका सभापति शेरबहादुर देउवाले ओली सरकारले अधिनायकवाद शुरु गरिसकेको र एमाले माओवादी केन्द्रको संयुक्त सरकार अधिनायकवादी भएको आरोप लगाएका छन् ।

पार्टी कामको शिलसिलामा चितवन पुगेका देउवाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मनोमानी ढंगले सरकारले काम गरिरहेको आरोप लगाए ।

‘सरकारले एकलौटी गर्न खोजेजस्तो देखिन्छ’ भन्दै अभिव्यक्ति शुरु गरेका उनले देशमा अधिनायकवाद शुरु भइसकेको र सरकारी-मनोमानी अचाक्ली बढेको बताए । सरकारले छिट्टै विकास र समृद्धि ल्याउने भनेको छ नि भन्ने सवालको जवाफमा उनले ब्यंग्यपूर्ण जवाफ दिए हो, ‘हो… अब यिनले विकास गर्छन्, तर अधिनायकवादको !’

सरकारको सय दिन हनिमुन पिरियड मानिने भएकोले आफूहरुले यसबीच सरकारको काम नियालीरहेको उल्लेख गर्दै उनले ब्यंग्य गरे, ‘शुरुकै कामबाट धड्काधड्की विकास भएको छ, कुनै किसिमको सरसल्लाह छैन, आफ्नै तरिकाले गरेका छन्, काम गर्न सकेका छैनन् ।’

कांग्रेस पार्टी कमजोर भएको छ नि भन्ने प्रश्नमा उनले दुईवटा पार्टी मिलेका कारण कांग्रेसले पराजय ब्यहोर्नुपरेको पुरानै तर्क अघि सारे । जनताको अधिकारका लागि कांग्रेस लडिरहने बताउन उनी चुकेनन् । सरकारको हनिमुन अवधि समाप्त भएलगत्तै विरोध शुरु गर्ने संकेत गरेका देउवाले कांग्रेस कसरी सशक्त भूमिकामा देखिन सक्छ भन्ने सवालको जवाफ चाहिँ प्रष्टसँग दिन सकेनन् ।